
धनगढी- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश ७ को संसद् अवरुद्ध गरेको छ । शुक्रबार ३ बजेका लागि बोलाइएको बैठक सुरु हुने बित्तिकै काँग्रेसका सांसदले टेबुल ठोक्दै उठेर विरोध जनाएका थिए ।
कांग्रेसको विरोधपछि सभामुख अर्जुन बहादुर थापाले कार्यव्यवस्था परामर्श समितिमा जानकारी विनै संसद् अवरुद्ध गरेको भन्दै तीन पटक आ–आफ्नो स्थानमा बस्न प्रतिपक्षका सांसदलाई आग्रह गरेका थिए ।
पटक पटक आग्रह गर्दा पनि प्रतिपक्षका सांसदले नमानेपछि सभामुख थापाले साउन ७ गते दिउसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
शुक्रवारको बैठकमा केही सांसदले शून्य समयमा बोल्ने र गाउँ तथा नगर सभा सञ्चालन गर्न बनेको विधेयकमाथि दफावार छलफल पश्चात् तयार पारिएको प्रतिवेदन पेस गर्ने कार्य सूची थियो ।
बैठक स्थगितपछि कांग्रेसका सांसद भरत बहादुर खड्काले सबै पार्टीको निर्णय अनुसार संसद अवरुद्ध गरेको बताए । ‘सबै कुरा कार्य व्यवस्था परामर्श समितिमा राख्नैपर्छ भन्ने के छ ?’ खड्काले प्रश्न गर्दै भने, ‘शुक्रबार ससद अवरुद्ध गर्ने कुरा हाम्रो पार्टीको निर्णय हो । त्यसैले जानकारी बिनै अवरुद्ध गरेका हौ ।’
कांग्रेसका प्रमुख सचेतक गोविन्दराज बोहराले सरकारले अराजक शैलीको अन्त्य नगरेसम्म ससद अवरुद्ध पार्ने चेतावनी दिए ।