
एउटा लेखकका लागि सबैभन्दा खुशीको क्षण के हुन्छ ? अरुहरुको त जान्दिनँ, तर मलाई भने आत्मसन्तुष्टिको परमसुख त्यस बेला अनुभव हुन्छ जब कुनै पाठकले भेटेर लेखमाथि थप चर्चा परिचर्चा एवं जिज्ञासा प्रकट गर्दछ।
तारा रेग्मीसँगको भेटमा यस्तै वार्तालाप भयो। साइन्स विषयक मेरा केही लेख उहाँले पढ्नुभएको रहेछ।
प्रथम चन्द्रयात्री दलका सदस्यत्रयमध्ये एल्ड्रिन बज नेपाल भ्रमणमा रहँदा अन्नपूर्ण दैनिकमा मेरो एउटा लेख छापिएको थियो।
चन्द्र धरातलमा ओर्लन नपाएका अर्का सदस्य माइकल कोलिन्सबारे चर्चा गर्दा उनलाई मानवताको इतिहासको सबैभन्दा सौभाग्यशाली व्यक्ति चित्रित गरिएको प्रसङ्गबारे ताराजीसँग थुप्रै प्रश्न पो रहेछन्।
मलाई प्रश्न मन पर्छ । तपाईँ आफ्नो चारैतिर विज्ञान र प्रविधि प्रगतिको जुन विकास हेर्नुहुन्छ, उपयोग गर्नुहुन्छ, त्यसमा साँच्चै नै लाखौंलाख व्यक्तिहरुको योगदान छ। प्रसिद्ध वैज्ञानिक रिचर्ड फाइन म्यानले कतै भनेका थिए, ‘यदि सम्पूर्ण पृथ्वी नष्ट हुने चरणमा प्रवेश गर्छ र हामीसँग मात्र एउटा वाक्य सुरक्षित ढंगले राख्ने प्रबन्ध छ भने हामीले त्यहाँ ‘एटम थ्योरी’ लेखिनुपर्छ।
कथंकदाचित यो अवसर मैले पाएँ भने त्यो वाक्य हुनेछ, ‘शंका, सन्देह गर, प्रश्न गर।’
मानवताको इतिहासमा लाखौंलाख व्यक्तिले शंका नगरेको भए, प्रश्न नउठाएको भए के कुनै पनि प्रगति सम्भव थियो?
ताराजीले गरेका प्रश्नले एकपटक पुनः पृथ्वीको एक मात्र प्राकृतिक उपग्रह चन्द्रमाबारे चर्चा भयो।
हामी पृथ्वीवासीले चन्द्रमाको ५९ प्रतिशत भाग मात्र देख्ने गर्छौं। बाँकी ४१ प्रतिशत भाग चन्द्र अभियानमा सहभागी २५/३० जना अन्तरिक्षयात्रीले मात्र देखेका छन्। अन्य पृथ्वीवासीले त्यो अवसर पाउनै सक्दैनन् । भनाइको अर्थ पृथ्वीको झण्डै एक तिहाई ३४७५ किमी डायमिटर भएको चन्द्रमाको ४१ प्रतिशत भाग पृथ्वीबाट देख्न सम्भव छैन। यसो हुनुका पछाडि कुनै अलौकिक वा रहस्यमयी कारण छैन। हामी सबैलाई थाहा भएकै कुरा हो, अविरल ब्रहमाण्डमा रहेका समस्त पिण्ड गतिमान छन्। स्थिरता मानव मस्तिष्कको भाषिक शब्दावली मात्र हो। ब्रहमाण्डमा कहीँ पनि, केही पनि स्थिर छैन, स्थिर हुन पनि सक्दैन।
अब पृथ्वीलाई नै लिऊँ। ९३ अर्ब प्रकाश वर्षसम्म फैलिएको हाम्रो दृश्य ब्रहमाण्डमा वैज्ञानिकहरुका अनुसार झण्डै सय अर्ब ‘ग्यालेक्सी’ छन्। यस दृश्य ब्रहमाण्डलाई विभिन्न ‘सुपरक्लस्टर’ मा विभाजित गरिएको छ। त्यो मध्ये ‘ल्यानिकिया सुपर क्लस्टर’ जसको विस्तार ५२ करोड प्रकाश वर्ष रहेको छ र यस ‘सुपरक्लस्टरमा’ एक लाख ‘ग्यालेक्सी’ रहेको अनुमान गरिन्छ।
यस ‘सुपर क्लस्टर’ लाई विभिन्न ‘क्लस्टरमा’ विभाजित गरिएको छ। ‘विग्रो क्लस्टर’ ती अनेकौं ‘क्लस्टर’ मध्ये एक हो। ११ करोड प्रकाश वर्ष ‘डायमिटर’ रहेको ‘विग्रो क्लस्टर’ अन्तर्गत २ हजार ‘ग्यालेक्सी’ रहेका छन्।
‘विग्रो क्लस्टर’ मा रहेका २ हजार ‘ग्यालेक्सी’ लाई ‘ग्यालेक्टिकल ग्रुप’ मा विभाजन गरिएको छ । हाम्रो ‘ग्यालेक्सी मिल्की वे’ लगायतका ‘एण्ड्रोमेडा,’ ‘एनजीसी १८५,’ ‘लियो’ आदि ५४ ‘ग्यालेक्सी’ लाई ‘लोकल ग्यालेक्टीकल ग्रुपमा’ राखिएको छ। यस ‘लोकल ग्योलेक्टीकल ग्रुप’ को विस्तार एक करोड प्रकाश वर्ष रहेको छ।
हाम्रो पृथ्वी ‘मिल्की वे ग्यालेक्सी’ को सदस्य हो। ‘मिल्की वे’मा पृथ्वीजस्ता २ सय अर्बभन्दा बढी ग्रह, तारा लगायत आदि पिण्ड रहेका छन्। ‘मिल्की वे’ आकाशगंगा एक लाख प्रकाश वर्षसम्म फैलिएको छ। ‘मिल्की वे’ को केन्द्रबाट ‘ओरियन आर्म’ मा २७ हजार प्रकाश वर्ष टाढा रहेको एउटा मझौलो खाले ताराको (सुर्य) सौर्य परिवारकौ एक सदस्य हो, पृथ्वी।
सौर्य परिवारका सबै सदस्यले निरन्तर सूर्य (मातृतारा) को परिक्रमा गरिरहन्छन्।
पृथ्वीले २९.७८ किलोमिटर/सेकेण्ड वा १०७२०० किलोमिटर/घण्टाको वेगले ३६५.२५ दिनमा (८७६६ घण्टा) सूर्यको एक परिक्रमा पूरा गर्छ।
तपाईँ पृथ्वीलाई स्थिर मानेर बस्नुहुन्छ, पृथ्वी भने कहिल्यै नथाकी तपाईँले जन्मदिन मनाउन पाउनुस् भनेर झण्डै ९४ करोड किलोमिटर (एक वर्षमा) यात्रा गर्छ।
यसै यात्राको क्रममा पृथ्वी आफ्नो अक्षमा ४६५ मिटर/सेकेण्ड वा १६७४ किलोमिटर/घण्टाको वेगले फन्को लगाउँछ। यसरी एक फन्को पूरा गर्न समय लाग्छ, २३ घण्टा ५६ मिनेट ४ सेकेण्ड । यो नै पृथ्वीमा एक दिन र रातको अवधि हो।
पृथ्वीरुपी गोलाको ‘इक्वेटोरियल डायमिटर’ जुन १२७५६ किलोमिटर रहेको छ। आफ्नो अक्षमा घुमिरहेको कुनै पनि वस्तु पूर्णरुपेण गोलो हुन सक्दैन। वस्तु अक्षमा धुमिरहँदा एक प्रकारको बल ‘सेन्ट्रीङ्खयुगल फोर्स’ उत्पन्न हुन्छ। पृथ्वीको अक्षमा घुम्ने कारणले यो पुरै गोलो छैन। ‘सेन्ट्रीङ्खयुगल फोर्स’ का कारण पृथ्वीको ‘पोलार डायमिटर’ १२७१४ किलोमिटर छ र मध्यको डायमिटर १२७४२ किलोमिटर रहेको छ।
आफ्नो अक्षमा फन्को मार्दा पृथ्वीले ४००७५.१४ किलोमिटर (२३ घण्टा ५६ मिनेट ४ सेकेण्ड अथवा एक दिन) यात्रा गर्छ। यो नै पृ्थ्वीको ‘सरकमफ्रेन्स’ हो।
पृृथ्वीबाट चन्द्रमाको समस्त भाग किन देखिँदैन भन्ने तथ्य यही अक्षीय गतिमा लुकेको छ। पृथ्वीले सूर्यको परिक्रमा २९.७८ किलोमिटर/सेकेण्ड र अक्षको परिक्रमा ४६५ मि/सेकेण्डको गतिले गर्छ।
चन्द्रमा अथवा अन्य कुनै ग्रहबाट शक्तिशाली दूरविनले हेर्ने हो भने पृथ्वीको सम्पूर्ण भाग देख्न सकिन्छ। तर, पृथ्वीबाट चन्द्रमाको सम्पूर्ण भाग देखिदैंन। कारण चन्द्रमाको अक्षीय गति एवं पृथ्वी परिभ्रमण गतिमा लुकेको छ।
चन्द्रमाले १.०२२ किमि/सेकेण्डको गतिले २७ दिन ७ घण्टा, ४३ मिनेट र ११ सेकेण्डमा पृथ्वीको एक परिक्रमा पूरा गर्छ। चन्द्रमाको पृथ्वीलाई परिक्रमा गर्ने पथ भने एकदमै ‘जिगजैग’ छ। पृथ्वी र चन्द्रमाको सरदर दूरी ३८४४०० किलोमिटर छ। तर परिक्रमा गर्दा कहिले यो ३५६४०० मा झर्छ र कहिले बढेर ४०६७०० किलोमिटरसम्म पुग्छ । यसैले गर्दा ‘सुपरफुलमुन’ घटित हुने गर्छ।
चन्द्रमाले पृथ्वीको एक चक्कर पूूरा गर्न झण्डै २४ लाख १५ हजार किलोमिटर हिँड्नुपर्छ।
चिया पिउँदै विज्ञान विषयी चर्चा होस्, र मनगढन्ते (हाइपोथेटिकल) प्रश्न नउठून् कसरी हुनसक्छ? मित्रले पनि अनेकन यस्ता प्रश्न गर्नुभयो, पृथ्वीको गति रोकिए के हुन्छ? सूर्यलाई कसैले ‘किडन्याप’ गरेर कतै लुकाइदिए के हुन्छ? चन्द्रमा नभए के हुन्छ? पृथ्वीबाट अक्सिजन हरायो भने के हुन्छ ? चन्द्रमा पृथ्वीमा खस्यो भने के हुन्छ ?
चन्द्रमाले आफ्नो अक्षमा परिक्रमा गर्न ४.६२७ मिटर/सेकेण्डको गतिले २७ दिन ७ घण्टा, ४३ मिनेट र ११ सेकेण्डकै समय लगाउँछ। पृथ्वीको परिक्रमा गर्ने र अक्षमा परिक्रमा गर्न लाग्ने समय बराबरी भएकाले हामी पृथ्वीवासीले सधैं चन्द्रमाको निश्चित भाग मात्र (५९ प्रतिशत) देख्न पाउँछौं। बाँकीको ४१ प्रतिशत भाग सधैं अदृश्य रहन्छ।
चिया पिउँदै विज्ञान विषयी चर्चा होस्, र मनगढन्ते (हाइपोथेटिकल) प्रश्न नउठून् कसरी हुनसक्छ? मित्रले पनि अनेकन यस्ता प्रश्न गर्नुभयो, पृथ्वीको गति रोकिए के हुन्छ? सूर्यलाई कसैले ‘किडन्याप’ गरेर कतै लुकाइदिए के हुन्छ? चन्द्रमा नभए के हुन्छ? पृथ्वीबाट अक्सिजन हरायो भने के हुन्छ ? चन्द्रमा पृथ्वीमा खस्यो भने के हुन्छ ? आदि आदि।
एक जना प्रसिद्ध वैज्ञानिकले भनेका थिए, ‘कुनै पनि प्रश्न बकम्फुसे हुँदैनन्।’ प्रश्न अज्ञातको ढोका ढक्ढक्याउनु जस्तै हो, प्रत्येक ढोका ढकढक्याउँदा प्रकृतिको अनन्त ढोकामध्ये कुनै न कुनै ढोका खुल्न पुग्छ।
निश्चय पनि पृथ्वीको गति कहिल्यै पनि रोकिँदैन। तपाईँ हामीलाई पृथ्वी स्वतन्त्र ग्रह लाग्न सक्छ। स्वतन्त्रता पनि मानिसले रचेको शब्द हो। महाप्रकृति वा अकिल ब्रहमाण्डामा यस शब्दको कुनै अस्तित्व छैन। पृथ्वी सूर्यसँग ‘टाइअप’, सूर्य आकाशगंगा ‘मिल्की वे’ को ‘ग्यालेक्टिकल सेन्टर’ सँग ‘टाइअप’, ‘मिल्की वे’ आकाशगंगा ल्यानिकिया सुपर क्लस्टरसँग ‘टाइअप’।

ज्ञान मित्र
‘मिल्की वे’आकाशगंगा हाम्रो सौर्यमण्डल जस्ता अनेकौ सौर्यमण्डल तारालगायतका खर्बौ पिण्डलाई लिएर ६३० किलोमिटर/सेकेण्डको गतिले ‘ल्यानिकिया सुपर क्लस्टर’ को परिक्रमा गरिरहेको छ। ब्रहमाण्डमा कुनै वस्तु नहुन त सक्छ, भएको वस्त लोप हुन पनि सक्छ। तर, गतिहीन वस्तु हुन सक्दैन। गति नै ब्रहमाण्डको प्राणऊर्जा हो।
विज्ञान भन्छ– मानिसको शरीरमा ३७ खर्ब कोशिका छन्। भनौं, ३७ खर्ब कोशिकाले मानिसको शरीर बनेको हुन्छ। फराकिलो आँखाले हेर्ने हो भने आकाशगंगा पनि मानिस शरीर जस्तै हो। हाम्रो पृथ्वी आकाशगंगा रुपी शरीरको एउटा कोशिका मात्रै हो।
पृथ्वी भविष्यमा नष्ट हुन सक्छ, अस्तित्वविहीन हुन सक्छ, तर गतिहीन भएर स्थिर भने हुन सक्दैन। समस्त सौर्यमण्डलको उत्पत्ति सूर्यबाट भएको हो। सूर्य आफ्नो जीवनकालको मध्यभागमा छ, आफ्नो जीवनको अन्तिमकालमा सूर्यले सौर्यमण्डलका प्रत्येक पिण्डलाई आफूभित्र तानेर नष्ट गर्छ र त्यस उपरान्त आफू पनि नष्ट हुन्छ। र, सूर्य नष्ट हुँदा बाँकी रहेको अवशेषले अर्को कुनै तारा बन्न सहयोग पुग्छ।
वैज्ञानिकहरुको अनुमान अनुसार दृश्य ब्रहमाण्डमा १ का पछाडि २२ वटा शून्य राखेर जुन संख्या बन्छ, त्यति नै तारा छन् ब्रहमाण्डमा। र, प्रत्येक सेकेण्ड ४८०० नयाँ तारा बन्ने क्रम चलिरहेको छ। यसैगरी प्रतिसेकेण्ड ४००० पुराना तारा नष्ट हुने अनुमान रहेको छ।
तपाईँहरुलाई थाहा छ? प्रतिसेकेण्ड ताराहरु बन्ने र नष्ट हुने संख्या पृथ्वीमा मानिस जन्मिने र मर्नेभन्दा बढी छ। पृथ्वीमा प्रतिसेकेण्ड ४ जना मानिसले जन्म लिन्छन् भने झण्डै २ जना मर्ने गर्छन्। यसको सही अनुमात प्रतिमिनेट जन्म २५० र मृत्यु १०५ रहेको छ।