
काठमाडौँ – छिन्नलता गीत पुरस्कार–२०७४ सोमबार वितरण हुँदैछ । यो वर्ष नेपाली चलचित्रकी पहिलो महिला संगीतकार एवम् गायिका शान्ती ठटाल र गीतकार शिवशंकर थापालाई प्रदान गरिँदैछ।
छिन्नलता गीत पुरस्कार गुठीको जुरीले नेपाली संगीतमा लामो समयदेखि र्पुयाएको योगदानका लागि संगीतकार ठटाल र गीतकार थापालाई छिन्नलता विशेष सम्मान प्रदान गर्ने निर्णय गरेको हो । यो सम्मानको राशी ५१ हजार रुपैयाँ छ ।
यस्तै छिन्नलता गीत पुरस्कार यस वर्ष गायनमा संगीता राना प्रधान, संगीतमा बसन्त क्षेत्र तथा गीत रचनामा ज्ञानेन्द्र गदाललाई प्रदान गरिने गरिँदैछ ।
तीनवटै विधाको राशी ५१ हजार रुपैयाँ नै रहेको छ । यस्तै छिन्नलता गीत पुरस्कार भने यो वर्ष निकै चर्चामा रहेको गीत, कुटुमा कुटुका लागि गायिका मेलिना राई तथा संगीतकार राजनराज शिवाकोटीलाई प्रदान गर्ने निर्णय भएको गुठीले जनाएको छ । यो पुस्कार ३५ हजार रुपैयाँ रहेको छ । पुरस्कार सोमबार विशेष कार्यक्रम गरी प्रदान गरिने छ ।
पुरस्कार कलाको सम्मान रहेको र त्यसमा पनि नेपालबाट गरिने सम्मानले आफूलाई जहिले भावुक बनाउने गरेको अहिले दार्जिलिङबाट आएकी संगीतकार शान्ती ठटालले बताइन् ।
उनले देश सञ्चारसँग भनिन्, ‘यो सम्मान मेरा लागि सम्मान भन्दा पनि माया र आफ्नोपन हो जस्तो लाग्छ । यो कलाकार भन्ने जात निकै भावुक होइँदो रैछ । कुरा त सम्मानको हो नि तर मनभरिएर आउँछ ।’