
काठमाडौँ – साउन महिनाको पहिलो सोमबार काडमाडौँको पशुपति क्षेत्रसहित देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिनाको सोमबारलाई शिव भगवानको व्रत बस्नका लागि सर्वोत्तम दिन मानिन्छ ।
सूर्य मिथुन राशीबाट कर्कट राशीमा प्रवेश गरेर दक्षिणायन सुरु भएको महिना साउन भगवान शिवको प्रिय महिना मानिन्छ । भगवान शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ ।
चन्द्रशेखर भगवान शिवका हजार नाममध्ये एक हो । भगवान शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ ।
यहि विश्वास र परम्परा अनुसार काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शन गर्न जानेको घुइँचो छ । दर्शनका लागि पूर्व युवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्त्र तथा छोरी कृतिका पनि सोमबार बिहानै पशुपति गएका थिए ।
उनीहरुले मन्दिरमा पूजाआज गरे । पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको सहजताका लागि लाइन व्यवस्थित गरिएको बताएको छ ।