
रोल्पा – आइतबारराति खसेको पहिराेमा परी सुनिल स्मृति गाउँपालिका– ८ अरेशका तीन जना पुरिएका छन् ।
पहिराेमा परी पुरिनेमा सुनिल स्मृति गाउँपालिका– ८ अरेशका १८ वर्षीया चमेली पुन, १८ वर्षकै होमे घर्ती र १२ वर्षीय ओवी घर्ती भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।
गोठमा रहेको एउटा गाईसमेत पुरिएको बताइएको छ । बेलुका खाना खाएर गोठमा सुत्न गएका उनीहरु बिहान अबेरसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा पहिरामा पुरिएको अवस्थामा भेटिएका हुन् ।
उद्धारका लागि इलाका प्रहरी कार्यालय सुलिचौरको टोली घटनास्थलतर्फ लागेको बताइएको छ ।
सूचना पाउनेबित्तिकै प्रहरी घटनास्थलतर्फ लागे पनि पैदलयात्रा गरी जानुपर्ने भएकाले केही ढिलाइ भएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताए ।