
धनगढी – कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको एउटा घटना सेलाउन नपाउदै फेरि सोही प्रकृतिको अर्काे हत्याको घटना दोहोरीएको छ ।
यसअघि भासुको भिरबाट खसालेर श्रीमानको हत्या गरेको घटना सेलाउन नपाउदै भजनी नगरपालिका–९ भुरुवाकी एक महिलाले पनि प्रेमीसँग मिलेर पतिको हत्या गरकी हुन् ।
पत्नी निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानले यस्तो देखाएकाेले पत्नी निर्मला र प्रेमी दिलिपलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । मृतक राजी साउन ४ गते हराएका थिए ।
उनको शव घर नजिकैको जंगलमा खाल्डोभित्र फेला परेको हो । शव डोरीले खुट्टा बाँधेर बोरामा राखेको अवस्थामा खाल्डोभित्र भेटिएको प्रहरी नायव उपरीक्षक वलीले बताए ।
अहिले नन्दुको शव पोष्टमाटमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ । मृतकका सात र तीन बर्षका दुई छोरा छन् । उनीहरुका आफन्त अरु कोही नहुँदा अहिले दुई बालकको बिचल्ली भएको छ ।