
काठमाडौं- तेस्रो संस्करणको आइसिटी अवार्ड २०१८ मा विभिन्न चरणको छनोट प्रक्रियाबाट प्रडक्ट र स्टार्टअप विधामा उत्कृट पाँच कम्पनी छानिएका छन्। साउन ८ गते अवार्डको छनोट समितिले दुई विधामा उत्कृष्ट ५ को नाम सार्वजनिक गरेको हो।
आयोजकका अनुसार स्टार्टअप कम्पनी अवार्डमा सेलएप इनोभेसन, एकघन्टी सर्भिसेस, नेपाली पैसा मिडिया प्रालि, पिपल डेभलपमेन्ट ल्याब प्रालि र सारथी प्रालि उत्कृष्ट ५ कम्पनीको सूचीमा पर्न सफल भएका छन् । यसैगरी आइसोलुसन लाइफ, सारथी, स्मार्टपालिका, थर्डविल नेपाल र उद्यमी नेपाल उत्कृष्ट ५ प्रडक्टमा पर्न सफल भएको जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए।
असार १ देखि १९ गतेसम्म खुला गरिएको अनलाइन नोमिनेसनमा विभिन्न ७ विधामा एक सयभन्दा बढीको आवेदन आएको थियो । स्टार्टअप कम्पनी अवार्डमा २७ र प्रडक्ट अवार्डमा २५ को नोमिनेसन दर्ता भएको र विभिन्न तीन चरणको छनोटबाट उत्कृष्ट पाँच सार्वजनिक गरिएको अवार्ड संयोजक तुषार न्यौपानेले जानकारी दिए।
यस्तै तेस्रो चरणको छनोटका रूपमा साउन ५ गते प्रतिस्पर्धीहरुको प्रिजेन्टेसन तथा स्पिड डेटिङ सम्पन्न भएको थियो । उक्त प्रिजेन्टेसन तथा स्पिड डेटिङबाट १० जनाको जुरी समूहले तेस्रो चरणको छनोटमा १२ बाट उत्कृष्ट पाँच छनोट गरिएको हो।
उत्कृष्ट ५ मा पर्नसफल कम्पनी तथा प्रडक्टहरुका लागि बुधवारदेखि १० दिनका लागि अनलाइन तथा एसएमएस भोटिङ सञ्चालन हुनेछ। १० दिनसम्मको भोटिङ र जुरीको मूल्यांकनका आधारमा सर्वोत्कृष्टलाई विशेष अवार्ड प्रदान गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए। भदौ १ गते होटल र्याडिसनमा हुने विशेष कार्यक्रममा विभिन्न ७ विधाका सर्वोत्कृष्टलाइ अवार्ड प्रदान गरिनेछ।
उत्कृष्ट हुने स्टार्टअप तथा प्रडक्टलाई अवार्डसँगै थप लगानीको अवसर जुटाउन सहकार्य गरिने जुरी सदस्य तथा सुस्मित इन्भेस्टमेन्टका सिइयो सुशील पोखरेलले जानकारी दिए । यो अववार्ड कार्यक्रम प्रविधिको क्षेत्रमा काम गरिरहेका स्टार्टअप तथा उद्यमीहरुका लागि राम्रो प्लेटफर्म रहेको पोखरेलले बताए । अवार्डका सल्लाहकार तथा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रको बृहत्तर विकास र प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताए ।
कसरी गर्ने अनलाइन र एसएमएस भोटिङ ?
उत्कृष्ट ५ मा परेका स्टार्टअप कम्पनी तथा प्रडक्टहरुका लागि जोकोहीले अनलाइन तथा एसएमएसमार्फत भोट गर्न सक्नेछन् । अनलाइनबाट भोटिङ गर्नका लागि वेबसाइट धधध।ष्अतबधबचम।यचनरखयतभ मा गएर मन परेको कम्पनी वा प्रडक्टलाई भोट गर्न सकिनेछ।
यसैगरी एसएमएस भोटिङका लागि मोवाइलमा क्ष्ऋत् टाइप गरि कम्पनी तथा प्रडक्टको कोड राखेर ३३००१ मा एसएमएस पठाएर भोट गर्न सकिनेछ । भोटिङ साउन १८ अर्थात ३ अगस्टसम्म खुला रहनेछ । भोटिङको विस्तृत जानकारी वेबसाइट तथा फेसबुक पेजमा उपलब्ध छ ।
अन्य पाँच विधाको छनोट प्रक्रिया जारी
आइसिटी अवार्ड २०१८ को संस्करणमा जम्मा ७ विधामा अवार्ड हुनेछ। स्टार्टअप र प्रडक्ट अवार्डबाहेक अन्य विधामा सर्वोत्कृष्ट छनोटको काम भइरहेको आयोजकले जनाएको छ। पायोनियर, डायस्पोरा, आन्टरप्रेनर्स, डिजिटल गर्भनेन्स र मिडिया अवार्डमा जुरी समुहले प्राप्त नोमिनेशनहरुको बारेमा अध्ययनको काम भइरहेको जुरी समुहले जानकारी दिएको छ ।
अवार्डको अन्य ५ विधामा ६० भन्दा बढीको नोमिनेसन प्राप्त भएको छ। यसैगरी यी अवार्डहरुमा जुरी तथा सल्लाहकारले थप नोमिनेसन दिन पाउनेछन् ।
सबै विधाका सर्वोत्कृष्टलाई भदौ १ गते र्याडिसन होटमा हुने भव्य कार्यक्रमबीच सम्मान गरिने आयोजकले जानकारी दिएको छ। उक्त कार्यक्रम राष्ट्रिय टेलिभिजन, विभिन्न एप तथा अनलाइनहरुमा प्रत्यक्ष प्रसारण पनि हुने आयोजकले जानकारी दिएको छ।