
रसुवा– रसुवाको टिमुरेमा पहिरो जाँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाले दिएको जानकारी अनुसार ज्यान गुमाउनेमा चारजना सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका हुन् । यस्तै एकजना रसुवाको गोसाईँकुण्ड गाउँपालिकाका छन् ।
पहिरोमा परि ज्यान गुमाउनेमा भोटेकोशी–५ का अन्दाजी ४२ वर्षका श्याम श्रेष्ठ, अन्दाजी ४५ वर्षका मंगल तामाङ र अन्दाजी २७ वर्षका बिक्रम श्रेष्ठ तथा भोटेकोशी–४ का अन्दाजी ३७ वर्षका रेशम खड्का रहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै गोसाईँकुण्ड गाउँपालिका–१ का ४६ वर्षका निङ्मार गुम्बु तामाङको पनि ज्यान गएको छ । बुधबार राति लगातारको वर्षासँगै माथिबाट खसेको पहिरोले घर बगाउँदा पाँचजनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
पहिरोका कारण प्रहरीको चेकपोष्टसहित दुई घर बगाएको रसुवाका डिएसपी सन्तोष तामाङले जानकारी दिए । पहिरोमा अरु पाँचजना बेपत्ता भएको हुन सक्ने आशंकामा खोजी तथा उद्धार कार्य जारी रहेको डिएसपी तामाङले जानकारी दिए ।
१२ जनाको उद्धार गरिएको छ । ९ जना उपचारपछि घर फर्किएका छन् । राति १२ बजेर ४० मिनेट जाँदा पहिरो गएको हो ।