
धनगढी- निर्माणाधीन मोहनापुल-अत्तरीया ६ लेन सडक निर्माणमा सरकारी कार्यालय नै बाधक देखिएका छन्।
यसअघि जग्गाको मुआब्जा पाउनुपर्ने माग गर्दै केही घरधनीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि निर्माण कार्य करिव चार महिना धकेलिएको थियो।
त्यसपछि आयोजनाको पक्षमा अदालतले फैसला गरेपछि निर्माण कार्य सुरु भएको थियो।
आयोजना प्रमुख मनिष कुमार शाहका अनुसार सडक सिमा भित्र पर्ने व्यक्तिगत संरचना अधिकाश भत्काई सकिएको छ। तर, सरकारी कार्यालयका सरचना भने अझै भत्काउन बाँकी छ।
‘करिव ९५ प्रतिशत सडक सिमा खाली भईसकेको छ। एक दुई स्थानमा मात्रै नीजि सरचना भत्काउन बाकी छ ।’ आयोजना प्रमुख शाहले भने, ‘अहिले आएर सरकारी कार्यालय नै सडक निर्माणमा बाधक देखिएका छन्।’
सरकारी कार्यालयले नै सडक क्षेत्रमा परेका सरचना नभत्काउदा सडक निर्माणमा ढिलाई हुन थालेको छ। आयोजनाका अनुसार करिव आधा दर्जन सरकारी कार्यालयले ६ लेन सडकमा पर्ने सरचना भत्काएका छैनन्।
भन्सार कार्यालय, हुलाक कार्यालय, अत्तरीया नगरपालिका लगायतका कार्यालयले अझैसम्म सडक सिमामा पर्ने सरचना भत्काएका छैनन्।
सरचना भत्काउनुको साटो भन्सार कार्यालयले सडक सिमामा नयाँ भवन निर्माण गर्न लागेको आयोजना प्रमुख शाहले जानकारी दिए।
चार महिनादेखि सरचना भत्काउन आग्रह गरेको भएपनि भन्सार कार्यालयले सरचना भत्काउनुको साटो सीमा क्षेत्रमा नयाँ सरचना निर्माण गर्न लागेको शाहले बताए। अत्तरीया क्षेत्रमा घर टहरा भत्काउन भूमिका खेलेको गोदावरी नगरपालिकाले पनि सडक सिमामा पर्ने आफनै भवन भत्काउन अटेरी गरेको शाहले गुनासो गरे। त्यस्तै, अत्तरीयामा रहेको हुलाक कार्यालयको भवन पनि भत्काईएको छैन्।
विद्युत कार्यालयका कारण पनि सडक निर्माणमा ढिलाई भईरहेको आयोजना प्रमुख शाहले बताए । उनले विद्युत कार्यालयले विद्युत लाईन सार्न ढिलाई गरिरहेको जनाए। उनका अनुसार विद्युत तार र पोल मात्रै हैन, अत्तरीयामा रहेको ए सय ३५ केभीएको विद्युत ट्रान्समिटर पनि अझै विद्युत कार्यालयले हटाएको छैन।
उक्त ट्रान्समिटर सडक सिमा भित्र परेको भन्दै चार महिनादेखि छ लेन सडक आयोजनाले हटाउन आग्रह गरेपनि विद्यतु कार्यालयले अटेरी गरिरहेको हो।
पटक पटक छ लेन सडक सिमामा पर्ने सरकारी सरचना भत्काउन आग्रह गरिएको भएपनि सरकारी कार्यालय नै सरचना भत्काउन अटेरी गरिरहेको आयोजनाले जनाएको छ।
आयोजना प्रमुख शाहले सडक निर्माणमा सरकारी कार्यालय नै बाधक बनेका कारण प्रमुख जिल्ला अधिकारीसग यस विषयमा छलफल गर्ने बताएका छन्।
सडक निर्माणमा विविध समस्या हुदा निर्माणाधिन मोहनापुल–अत्तरीया छ लेन सडकको निर्माण कार्य सुस्त देखिएको छ। दुई वर्षमा सक्नुपर्ने सडक निर्माणको कार्य एक वर्ष भन्दा बढी समय हुदा पनि २५ प्रतिशत मात्रै सम्पन्न भएको आयोजनाले जनाएको छ।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरि गत वर्षको जेठदेखि निर्माण कार्य सुरु भएको मोहनापुल–अत्तरीया छ लेन सडकको निर्माण अवधि सकिन अव एक वर्ष पनि बाकी छैन। तर, मोहनापुलदेखि वोराडारी, वोराडाडीदेखि गेटा माछा पालन र माछापालनदेखि अत्तरीयासम्म गरि तिन भागमा निर्माण भईरहेको सडकको निर्माण भने निकै सुस्त गतिमा भईरहेको छ।
आयोजना प्रमुख मनिष शाहका अनुसार सडकको निर्माण कार्य हालसम्ममा २५ प्रतिशत मात्रै भएको छ।निर्माण कार्यमा ढिलाई हुदा जिल्लामा चालु आर्थिक वर्षको सबैभन्दा बढी अत्तरिया–मोहना ६ लेन सडक आयोजनाको २४ करोड फ्रिज भएको छ।
१ अर्व ६८ करोड लागतमा निर्माण भईरहेको प्रदेश ७ को आर्थिक विकाश र सम्बृदिसग जोडिएको छ लेन सडक हालसम्ममा करिव ४० प्रतिशत भन्दा निर्माण हुनुपर्ने हो। तर, हालसम्ममा २५ प्रतिशत मात्रै निर्माण कार्य सम्पन्न हुनुले छ लेन सडक समयमै सम्पन्न हुनेमा आशका उब्जाएको छ।