काठमाडौँ- नेपाल वायु सेवा निगमले गत असार १४ गते ल्याएको एयरबस ३३० उडान नभएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सर्वसाधारणले आलोचना गरिरहेका छन्।
सञ्चय कोषबाट २४ अर्ब ऋण रुपैयाँ लिएर किनेको जहाज नउडाएको भन्दै सार्वजनिक आलोचना भईरहँदा नेपाल वायू सेवा निगमले नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट जहाज उडानको अनुमति नमिलेकाले जहाज उडाउन नसकेको जनाएको छ।
निगममा महाप्रबन्धक सुगतरत्न कंशाकारले भने, ‘नयाँ जहाज उडाउनु भन्दा पहिला नियामक निकाय क्यानबाट अनुमति लिनु पर्छ। त्यो संसारकै नियम हो। क्यानले अनुमति दिए लगत्तै जहाज उडाउन हामी तयारी अवस्थामा छौं।’ क्यानका अधिकारी उड्डयन क्षेत्रको जानकारी अभावले जहाज उडेन भनेर हल्का टिप्पणी आएको बताउँछन्।
नाम उल्लेख नगर्ने सर्तमा नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘भर्खरै हामी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को सुरक्षा चासोबाट बाहिरिएका छौँ। अझै युरोपियन युनियन (ईयु) को सुरक्षा चासोबाट बाहिरिएका छैनौँ। कागज पत्र नहेरी सरकारी कम्पनी भएकाले छिटो उडान अनुमति दिएकै कारण फेरी सुरक्षा चासोमा पर्यो भने जिम्मेवारी कसले लिन्छ।’
उनले अगाडि भने, ‘एयरबस ३३० नेपालको लागि नयाँ जहाज हो। हामीसँग उक्त जहाज परिक्षण गर्न प्राविधिक पनि थिएन। त्यसैले श्रीलंकाबाट प्राविधिक ल्याएर अध्ययन गरिरहेका छौं। परिक्षण उडान पछि केहि बिषयमा सुधार गर्न निर्देशन पनि दिएका छौं र अब उनिहरुको काम हेरेर उडान अनुमति दिईने छ।’ निगतले गत मंगलबार नयाँ दिल्ली परिक्षण उडान गरेको थियो।
उड्डयन क्षेत्रमा सेफ्टिको विषयमा सम्झौता गर्न नसकिने भएकाले पनि केही समय लागेको उनको भनाई छ।
‘नेपाल एयरलाईन्सको एओसी (एयरलाईन्स अपरेसन सर्टिफिकेट) मा ३३० मोडेलको जहाज उडाउने अनुमति भएको भए धेरै समय लाग्ने थिएन।’, उनले भने, ‘कम्पनी पुरानो भएर पनि नयाँ मोडेलको जहाज भएकाले नयाँ कम्पनीले एओसी लिए बराबरकै समय लागेको हो।’
उनको तर्कको सत्यता बारे नेपालमा उडान गर्ने विदेशी कम्पनीका प्रतिनिधि सँग बुझ्दा उनिहरुले पनि नियामक निकायबाट नयाँ मोडेलको जहाजको अनुमति लिन समय लाग्ने बताए।
एक वायुसेवा कम्पनीका नेपाल प्रमुखले भने, ‘पहिल्लै धेरै जहाज हुने हो कम्पनीको एओसीमा जहाज उडाउने अनुमति हुनुको साथै पाईलट, ईन्जीनियर र अन्य कर्मचारी पनि पर्याप्त हुन्छन्। जसले गर्दा १-२ सातामै उडान गर्न सकिन्छ तर कम्पनीले नयाँ मोडेलको जहाज ल्याएको हो भने आईकाओको प्रावधान अनुसार नै अनुमति लिन समय लाग्ने गर्छ।’
नेपालको हकमा ढिलो हुनुको प्रमुख कारण प्रकृयागत जटिलता र ढिलासुस्ती भएको उनको भनाई छ। क्यान व्यवसायिक संस्था भए पनि अरु देशको नियामक निकाय जस्तो सक्षम नभएको उनि आरोप लगाउँछन्। क्यानकै अधिकारी पनि राजनीतिक प्रभावका कारण क्यान कानुनी रुपमा स्वतन्त्र भए पनि काममा स्वतन्त्रता नभएको स्विकार गर्छन्।
गत असार १४ गते आएको अन्नपूर्ण नाम गरेको जहाजले एक दुई दिन र अर्को आज आएको मकालु नामको जाहाजले २ साता भित्रमै उड्डयन अनुमति पाउने क्यानमा अधिकारीको भनाई छ। ३३० मोडेल नेपाल वायु सेवाको एओसीमा थपिएपछि नयाँ जहाजलाई अनुमति दिन धेरै समय नलाग्ने एक अधिकारी बताए।
यता नेपाल वायु सेवा निगमले नेपालको नियामकको अनुमति पाए लगत्तै उडान गर्ने देशमा अनुमति माग गर्दै निवेदन दिने जनाएको छ।कंशाकारले नेपालको अनुमतिपछि उडान गर्ने मुलुकबाट अनुमति लिन धेरै समय नलाग्ने बताए।
तत्काललाई अहिले उडान गरिरहेका रुटमा उडान गर्ने योजना बनाए पनि निकट भबिष्यमा जापाल कोरिया र साउदी अरिबिया उडान गर्ने योजना रहेको उनले जानकारी दिए। पाईलटको समस्या समाधानमा क्रममा रहेको बताउँदै कंशाकारले भने, ‘पाइलट नभएकाले जहाज उडेन भन्ने खबर तपाई सुन्नु पर्ने छैन।’

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































