
‘अत्रि ऋषिले ढुङ्गाले निर्मित तुरीय (सिद्धान्त ज्योतिषमा ग्रहहरूको अंश नाप्ने काममा प्रयोग गरिने) यन्त्रलाई बलियो किल्लामा स्थापित गरेपछि ग्रहणबाट सम्बन्धित तत्व ग्रहादिको वास्तविक स्थिति जानेर तुरीय यन्त्रलाई किल्लामा घुमाए। त्यस पछि सूर्य मण्डलमा दृष्टि राख्दै सूर्यलाई स्वर्भानो(राहु)को मायाबाट मुक्त गरे, अर्थात् ग्रहण समाप्तिको सही समय निकाले।” II ऋग्वेद,५,४०,८।।
नेपाली पञ्चाङ्ग अनुसार आज, २०७५ साउन ११ गते आषाढ शुक्ल गुरू पूर्णिमा, उत्तराषाढाको अंतिम एवं श्रवण नक्षत्रको पहिलो चरण, मकर राशिमा नेपाली समय शुक्रबारको राति १२ बजेर ९ मिनेटदेखि प्रारम्भ भएर राति २ बजेर ८ मिनेटमा मध्य भर्इ बिहान ४ बजेर ६ मिनेटमा समाप्त हुने गरी खग्रास (पूर्ण)चन्द्र ग्रहण लाग्ने छ। नेपाली पात्रो अनुसार यो ग्रहणको पूरा अवधि ३ घन्टा ५७ मिनेट हुनेछ। तर नाशाको वेबसाइटमा भने २ मिनेट कम जनाइएको छ।
नाशाले आफ्नो वेबसाइटमा सन् १९०१ देखि सन् २१०० सम्मको ग्रहण तालिका राखेको छ। जसमा २०० वर्षको खग्रास चन्द्र ग्रहणहरूलार्इ हेर्दा थाहा हुन्छ कि आजको ग्रहण यो अवधिको सबै भन्दा लामो समयको यानि सबै भन्दा ठुलो हो। दुर्इ शताब्दीभित्र हेर्दा यो भन्दा १ मिनेट कम सानो चन्द्र ग्रहण सन् १९६४ मा लागेको थियो भन्ने देखिन्छ। यो ग्रहण एसिया,युरोप,दक्षिण अमेरिका,अफ्रिका र अस्ट्रेलियामा देखिने छ।
हाम्रो पृथ्वीमा जब रात पर्छ, त्यो अन्धकारको बेला हामीलाई सदियौंदेखि विश्वासको उज्यालो भएर साथ दिने आकाशीय पिण्डहरु मध्ये हामीसँग सबैभन्दा नजिक हो– हाम्रो आफ्नै चन्द्रमा। वैज्ञानिकहरुका अनुसार चन्द्रमाले हाम्रो साझाघर पृथ्वीलाई आफ्नो अक्षमा एकाग्र भएर चल्न मद्दत गर्दछ र सन्तुलित जलवायुको सिर्जनामा सहयोग गर्छ । पृथ्वीमा प्राणी र वनस्पति जीवन सम्भव हुनुमा सूर्य सँग-सँगै चन्द्रमा र यी तिनबीचको एकात्मक दूरी र सम्बन्ध एक प्रमुख कारण हो।
गुरुपुर्णिमाको दिन परेको आजको ग्रहण सूर्य, पृथ्वी र चन्द्रमाको हाम्रो जीवनसँगको अन्तरंग सम्बन्ध बोध गर्ने र यो सत्यलाई अनुभूत गर्न सहयोग गर्ने हाम्रो पूर्वज गुरुहरुलाई स्मरण गर्ने अवसर पनि हो।
हाम्रो पूर्वीय शास्त्रअनुसार वैदिक कालमा अत्रि ऋषि र उनका शिष्यहरू ग्रहणको शोध र अनुसन्धानमा सर्वश्रेष्ठ थिए । यो कुरा ऋग्वेदको अनेक स्थानमा उल्लेख गरिएको छ । यसमा उनीहरुको ध्येय सूर्य– हाम्रो पृथ्वी रहेको सौर्यमण्डलको प्रमुख प्रकाश-स्रोत– र यसका जीवनदायी पवित्र किरणहरुलाई ग्रहणको बेला आइपर्ने क्षणिक “राहुरुपी बाधा र दुखको प्रभावबाट ” छुटकारा दिलाउनु थियो भनेर बिम्बात्मक रुपमा ऋग्वेदमा भनिएको छ।
यसको एक अर्थ जीवनको उर्जा-स्रोत प्रकाशलाई पनि समय-समयमा दुखरुपी ग्रहणबाट गुजर्दै र परिष्कृत हुँदै चल्नु पर्छ र त्यो यात्रामा गुरुको साथ चाहिन्छ र त्यो नियम हामी– त्यहि प्रकाशको कण– मा पनि लागू हुन्छ भन्ने हो।
गुरुको रुपमा अत्रि ऋषिले जीवनको स्रोत प्रकाशलाई ग्रहणको दुखबाट बाहिर ल्याएको भन्दै, ऋग्वेदमा भनिएको छ: ” यस्तो शक्ति उनीबाहेक अरु कसैसँग थिएन।”
अत्रि ऋषिपछि आएका अरु ऋषि गुरुहरुले ग्रहणको अझै बस्तुनिष्ठ अध्ययन र गणितीय र ज्योतिषीय ब्याख्यालाई अगाडि बढाए । ती सबैमा प्राकृतिक आकाशीय प्रक्रियाको रुपमा रहेको ग्रहणलाई प्रतिक मानेर मानव जीवनमा बेला बेलामा आइपर्ने दुख र त्यसबाट धैर्यताका साथ अघि बढेर जीवनलाई पलपल नयाँ भएर बाँच्नु पर्छ भन्ने भाव पनि अभिव्यक्त छ ।
ग्रहणको वैदिक शोधलाई अगाडि बढाउँदै पाँचौं सताब्दीमा आएका आर्यभट्टले भनेका छन्: चन्द्रमा र ग्रहहरू सूर्यको परावर्तित प्रकाशले चम्किन्छन्। सूर्य ग्रहणमा चन्द्रमा सूर्यको बिम्बलाई पूर्ण अथवा आंशिक रूपमा छेकिदिन्छ, जब कि चन्द्र ग्रहणमा चन्द्रमा स्वयं पृथ्वीको छायामा प्रवेश गर्दछ।
यी उनै आर्यभट्ट हुन् जसले कोपर्निकस भन्दा हजार वर्ष अघि खगोल विज्ञानमा पहिलो पल्ट उदाहरण सहित पृथ्वी आफ्नो अक्षमा घुम्छ भनेर सिद्ध गरेका थिए।
आर्यभट्टले जस्तै उनका समकालीन तर २३ वर्ष कान्छा गणितज्ञ तथा खगोलविद वराह मिहिरले ग्रहणको विषयमा पौराणिक मतलार्इ अस्वीकार गर्दै ग्रहणको शोधलाई अगाडि बढाए । वराहले गर्ग, पराशर, वशिष्ठलगायत आफुभन्दा पहिलेका ऋषीहरूको अवैज्ञानिक मतको खण्डन गरेका छन्। राहु ग्रहणको कारण नभएर ग्रहण योग्य औंशी वा पूर्णिमालाई चिन्ने उपकरण हो भनेर यस विषयमा विशुद्ध वैज्ञानिक दृष्टिकोणको नै समर्थन गरेका छन्। उनी भन्छन्: “ग्रहहरूको पौराणिक कथा तथा उपकथाहरूलार्इ मैले आफ्नो संहितामा स्थान दिएको छैन।”
पूर्वीय ऋषि तथा गुरुहरुले ग्रहण — सूर्य तथा चन्द्र ग्रहण दुवै– को खगोलीय अध्ययनलाई मानव जीवन र यसको अनुभवसँग जोड्नको लागि ग्रहणको बेला के गर्ने के नगर्ने भनेर धेरै कुरा सुझाएका छन्। ती धेरै मध्येको एक सुझाव हो: चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर (९ घण्टा) अघिदेखि ग्रहण सूतक लाग्छ। यो समयमा खानपान लगायत धेरै मानवीय क्रियाकलाप गर्न हुँदैन।
पूर्वीय शास्त्रअनुसार सूतक जन्म वा मृत्युको बेलामा मनाईन्छ । जन्म र मृत्यको सहि अर्थ एकै साथ चिन्तन र मनन गर्ने अवसर ग्रहण भन्दा अरु के हुनसक्छ जुनबेला जीवनरुपी प्रकाशको किरण स्वयम् ग्रहणको छायाँमा विलीन भई फेरी नित्य-सत्य भई जन्म लिन्छ ?