कमजोर भूधरातलका कारण देशभर पहिरोको जोखिम

कमजोर भूधरातलका कारण देशभर पहिरोको जोखिम
+
-

काठमाडौँ- रसुवाको टिमुरेमा बिहीबार गएको पहिरोमा परी नौ जनाको मृत्यु भयो । कमजोर भूधरातलका कारण पहिरोमा परी जनधनको क्षति भएको प्रारम्भिक अनुमान छ ।

हिमाली तथा महाभारत पर्वत शृङ्खलालाई कमजोर भूधारतल भएको क्षेत्रका रुपमा लिइन्छ । भूकम्पले त्यस क्षेत्रमा दबाबसमेत बढेको छ । भूकम्पले हल्लाएको क्षेत्रमा पानीको कारण टिमुरेमा पहिरो गएको हुनसक्ने जानकारहरुको भनाइ छ ।

नेपाल पहिरोको उच्च जोखिममा रहेको देश हो । पहाडी तथा हिमाली क्षेत्रमा एकपछि अर्को गर्दै पहिरोको जोखिम बढिरहेको छ । गृहमन्त्रालयका अनुसार यस वर्ष मात्रै हालसम्म ५८ वटा पहिरो गए । यसले नेपाल पहिरोको जोखिममा रहेको पुष्टि हुन्छ ।

गत वर्ष देशभर १६० वटा पहिरो गए । त्यसमा ५० पुरुष र २६ महिला सहित ७६ जनाको ज्यान गयो । यस्तै १४ बेपत्ता भए भने ५४ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै रु छ करोड १७ लाख ९३ हजार बराबरको क्षति भयो ।

हरेक वर्ष मारिनेको संख्या बढ्दै गएको छ । ‘गोरखा भूकम्प’का कारण हल्लिएको जमीनको संरचनामा आएको बदलावका कारण पहिरोको जोखिम बढ्दै गएको छ । भूकम्पका कारण बस्ती सार्नुपर्ने भनेर सिफारिस भएका पाँच सय बढी बस्ती हालसम्म सारिएको छैन । मनसुनको कारण पछिल्ला दिनमा वर्षाको मात्रा समेत बढिरहेको छ ।

ठाडो भीरालो जमीनमा रहेको बस्तीका कारण थप जटिलता देखिएको छ । गत वैशाखदेखि पहिरोमा परी २२ पुरुष र २० महिला सहित ४२ जनाको ज्यान गयो । हालसम्म दुई बेपत्ता र ५२ जना घाइते भएका छन् ।

यस्तै ३४१ परिवार विस्थापित भए भने रु चार करोड १२ लाख सात हजार ५०० को क्षति भएको गृह मन्त्रालयको विवरणमा उल्लेख छ ।

नेपालको जीवनरेखाको रुपमा परिचित मुग्लिन–नारायणगढ सडकखण्डमा हरेक दिनजसो पहिरो खसेको छ । पहिरोका कारण सवारी साधन रोकिने र नागरिकले दुःख र हैरानी व्यहोर्नु परेको छ ।

यस्तै बुटवल–पाल्पा सडकखण्डको शिद्धबाबामा दिनहुँजसो पहिरो जाने गर्छ । पहिरोका कारण आवतजावत रोकिने र नागरिकले समस्या भोग्नु परेको छ । केही समय पहिले पृथ्वी राजमार्गको कृष्णभीरमा त्यस्तै खालको समस्या आउने गरेको थियो ।

नेपाली प्राविधिकले जापानी प्रविधिको प्रयोग गरेर कृष्णभीरको पहिरो पछिल्लो एक दशकदेखि रोकिएको छ । सोही राजमार्गको जोगिमारा खण्डमा कहिलेकाही पहिरो जाने गरेको छ ।

अन्य राजमार्गमा पनि फाट्टफट्ट पहिरो जाने गरेको छ । पछिल्लो एक दशकमा पहिरोको मात्रा बढ्दै गएको छ । वन फँडानी तथा प्राकृतिक रुपमा देखिने परिवर्तनका कारण पहिरोको मात्रा बढ्दै गएको जानकारको भनाइ छ ।

किन जान्छ मुग्लिन सडक खण्डमा पहिरो ?

मुग्लिन–नारायणगढ सडक खण्डको पहिरो व्यवस्थापनबारे विद्यावारिधि गर्नुभएका विपद् जोखिम व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटा मुग्लिङ–नारायणगढ र वुटवल–पाल्पाको सडक भौगोलिक रुपमा कमजोर भएको बताउछन् ।

कमजोर जमीन भएको ठाँउमा सडक विस्तार गर्दा पर्याप्त मात्रामा विपद् जोखिम न्यूनीकरणको काम नभएले पटक÷पटक पहिरो जाने गरेको उन्को भनाइ छ ।

“भिरालो जमिन पनि पहिरोको अर्को कारण हो । विशेषगरी २७ देखि ३७ डिग्रीको प्राकृतिक भीरमा बढी पहिरो जान्छ । यस्ता भीर नेपालमा धेरै छन् । त्यस्ता भीर भएका क्षेत्रमा बसोवास तथा आवतजावत गर्दा समेत विशेष सावधानी अपनाउनुपर्दछ, ” उनले भने ।

जमीनको अवस्थितिका कारण तल्लो तहले थेग्ने शक्ति कमजोर बन्न पुगेको छ । भूकम्पका कारण जोखिममा परेका क्षेत्रमा वर्षाको पानी पर्दा माथिल्लो तहले धकेल्ने शक्ति बढ्दै गएको देखिन्छ । डा देवकोटा नेपालमा पछिल्लो समयमा पहिरोको मात्रा बढ्नुको पछाडि त्यस्तै कारण रहेको टिप्पणी गर्छन् ।

भिरालो जमीनमा सडक तथा अन्य भौतिक निर्माण गर्दा ठूलो सावधानी अपनाउनुपर्ने आवश्यकता भए पनि मनलाग्दी तवरले सडक निर्माण भइरहेका छन् । सडक निर्माणमा प्राविधिक अध्ययन तथा अनुसन्धान गर्न छाडिएको छ ।

विशेष गरी ‘डोजर इञ्जिनियरिङ’ का आधारमा निर्माण हुने सडक समेत पहिरोका अर्को मानक बन्दै गएको छ । मुग्लिन– नारायणगढ सडकखण्डमा समेत अनियन्त्रित रुपमा सडक निर्माण गरिदा यात्रुले दुःख व्योहोर्नु परेको छ ।

बुटवल– पाल्पा सडक खण्डको पहिरोको कारण पनि मुग्लिन– नारायणगढ सडकखण्डको जस्तै रहेको छ । कमजोर भूधरातलमा बिना अध्ययन सडक बनाइदा समस्या थपिएको देखिन्छ ।

कुन कुन स्थानमा पहिरो जोखिम ?

डा देवकोटाले विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा अति प्रभावित र प्रभावित जिल्ला पहिरोको उच्च जोखिममा रहेको बताए ।

“नेपालका प्राय सबै पहाडी र केही हिमाली जिल्ला पहिरोको हिसाबले उच्च जोखिममा छन् । स्थान विशेष भन्दा पनि नेपालको अधिकाशं भू–भाग नै पहिरोको जोखिममा छन् । त्यसबाट कसरी सुरक्षित हुने भन्ने विषय नै महत्वपूर्ण रहन्छ ”–उनले भने ।
चुरे पर्वत र महाभारत पर्वत शृङ्खला जहाँ ठूलाठूला दरार छन् त्यहाँ धेरै पहिरो जाने सम्भावना रहन्छ ।

यसरी गर्न सकिन्छ पहिरो नियन्त्रण

सडक निर्माणका क्रममा गतिलो अध्ययन गर्नु नै पहिरो नियन्त्रणको उत्तम उपाय हो । वृक्षरोपण तथा प्राकृतिक उपाय पनि अवलम्बन गर्न सकिन्छ । सडक निर्माण गर्दा जथाभावी डोजर प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्दै गहन रुपमा इञ्जिनियरिङ अध्ययन आवश्यक रहेको जानकारहरुको भनाइ छ ।

भौगर्भिक अध्ययनको आधारमा उचित इञ्जिनियरिङ गर्न सकिए सडकखण्डमा पहिरो रोकथाम गर्न सकिन्छ । गृह मन्त्रालयका उपसचिव शंकरहरि आचार्य सरकारले पहिरोका जोखिम रहेका क्षेत्रमा आपतकालीन उद्धार तथा राहतका लागि जिल्ला प्रशासन कार्यालयलाई तयारी हालतमा राखिएको बताउछन् ।

उहाँले विपद् जोखिम न्यूनीकरणका लागि पोखरा, हेटौँडालगायतका स्थानमा हेलिकप्टरसमेत तम्तयारी अवस्थामा राखिएको जानकारी दिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’