
धनगढी- गरिब घर परिचय पत्र वितरण गरिँदैछ भनेर वडा कार्यालय पुगेका धनगढी उपमहानगरपालिका-६ बिजुलियाका बुद्धिराम चौधरीले अति गरिब परिचय पत्र पाए ।
शुक्रबार जब उनको हातमा वडा कार्यालयका कर्मचारीले अति गरिब घर परिचय पत्र दिए, तब उनी अच्चममा परे । धनगढीमा पक्की घरसहित डेढ बिघा भन्दा बढी जग्गा, एक ईट्टा उद्योग र ट्रयाक्टर छन् बुद्धिरामसँग । तर, सरकारले भने उनलाई अति गरिब घर परिचय पत्र दियो । उनले भने, ‘सरकारले अति गरिब परिचय पत्र दियो । दिए पछि नलिने कुरै भएन, लिएँ ।’
धनगढी-६ कै रामप्रसाद चौधरीसँग पनि उपमहानगरपालिकाभित्रै १५ कट्ठा जग्गा छ । दुई छोरा जागिरे रहेका चौधरी अवकाश प्राप्त कर्मचारी पनि हुन् । तर उनै रामप्रसादलाई पनि सरकारले गरिब घर परिचय पत्र दिएको छ । उनले मध्यम गरिब परिचय पत्र पाएका छन् ।
यी त केही उदाहरण मात्रै हुन्, असार ४ गतेदेखि धनगढी उपमहानगरपालिकामा सुरु गरिएको गरिब घर परिवार परिचय पत्र वितरण कार्यक्रम मार्फत ५ हजार ८ सय ८५ घरधुरीलाई गरिब परिचयपत्र वितरण गरिँदैछ ।

गरिबघर परिचयपत्र लिन वडा कार्यालयमा पुगेका स्थानीय बासिन्दाहरु । तस्बिर : दिनेश ठकुल्ला /देश सञ्चार ।
धनगढीमा २ हजार ८ सय ५८ परिवारलाई अति गरिब, १ हजार ८ सय ३७ जनालाई मध्यम र १ हजार २ सय ९० जनालाई सामान्य गरिबको श्रेणीको परिचय पत्र वितरण गरिँदैछ । तर, सामान्यदेखि अति गरिबको सूचिमा भने सरकारी जागिरेदेखि जमिनदारको नाम समावेश छ ।
अर्का स्थानीय जयराम चौधरी आफू सरकारी जागिरे हुन् । उनको धनगढीमै पक्की घरसहित बहुमूल्य जग्गा पनि छ । तर, बिहीबार उनले धनगढी उपमहानगरपालिकाले वितरण गरेको गरिब घर परिचयपत्र अन्तर्गत अतिगरिबघरको परिचयपत्र पाए ।
धनगढीकी देवसरा ऐरले भनिन्, ‘मेरा श्रीमान् घर गुजारा चलाउनका लागि रातदिन भारतमा भाडा माझ्दैछन । बस्ने घरबास छैन । तर, हामीलाई सामान्य गरिबको परिचय पत्र दिइयो ।’
‘जसका नम्बरी जग्गा छन् । जो सरकारी जागिरे छन् । गाडी मोटर छन् उनले अति गरिबको परिचय पत्र पाए ।’ धनगढी २ सन्तोषीटोलका हरिलाल विष्टले गुनासो गरे, ‘गरिबलाई सामान्य गरिबको परिचय पत्र दिए, धनीलाई अति गरिबको ।’
जनप्रतिनिधि र कर्मचारी पनि असन्तुष्ट
गरिब घर परिचय पत्र वितरण गरिरहेका धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी पनि वितरण गरिरहेको परिचय पत्रप्रति सन्तुष्ट छैनन् । ‘परिचयपत्र वितरणको कार्य ठीक उल्टो भइरहेको छ ।
‘परिचय पत्र पाउनेले पाएनन् नपाउनुपर्ने पाए’ धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले भने, ‘२०७० सालमा गरिएको सर्वेक्षणका आधारमा अहिले परिचय पत्र वितरण गरिदा समस्या भएको हो ।’ उनले आउँदो दिनमा कसरी वितरण गर्ने बारेमा भने सरकारले विचार गर्नुपर्ने बताए ।
धनगढी उपमहानगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र सिंह कार्कीले लगत संकलनको क्रममा लगत संकलक र विवरण दिने व्यक्तिले सही जानकारी नदिँदा अहिले आएर समस्या भएको बताए ।
परिचयपत्र पाएकाहरूले परिचयपत्रका आधारमा राज्यद्वारा प्रदान गरिने सेवा सुविधा पाउने छन् । अति गरिबले निःशुल्क स्वास्थ्य सुविधासहित स्वास्थ्य सुविधा पाउने छन् भने कर छुट, सामाजिक सुरक्षा भत्ता लगायतमा पनि छुट पाउनेछन् ।
त्यस्तै, अन्य परिचयपत्रधारीले पनि क्रमशः सहुलियतमा सेवा सुविधा पाउने जनाइएको छ । तर, कहिलेदेखि पाउने भन्नेबारे अझै खुलाइएको छैन । तथ्याङक संकलनमा स्थानीय स्वयमसेविका र सामाजिक परिचालिका सहभागी भएका थिए ।