नेपालगञ्ज – मनसुन सक्रिय भएसँगै बाँकेका स्थानीय निकायहरु ‘सतर्क’ भएका छन् । बाढीबाट वर्षेनी ठूलो जनधनको क्षति हुने भएकाले यसपाली स्थानीय निकायले सचेतनासँगै पूर्वतयारीहरु गरिसकेका छन् ।
विपत पूर्वतयारी तथा प्रतिकार्यका लागि ‘उल्लेख्य’ बजेट छुट्याएका स्थानीय निकायले नदी तटीय क्षेत्रका बासिन्दालाई बाढी पूर्वतयारीलगायत सचेतनाबारे गोष्ठी, प्रशिक्षण दिनुका साथै तयारी खाजाको व्यवस्था गरिसकेका छन् ।
सबै स्थानीय निकायमा विपत व्यवस्थापन कोष स्थापना गरिसकिएको छ । राप्ती नदीमा भारतले बनाएको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध तथा सडकजस्तो बाँधले गर्दा ठूलो क्षति व्यहोर्दै आएको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाले विपत पूर्वतयारी तथा प्रतिकार्यका लागि राम्रै बजेट छुट्याएका छन् ।
२०७१ पछिका बाढीमा सबैभन्दा बढी क्षति व्यहोरेको राप्तीसोनारी गाउँपालिकाले विपत पूर्वतयारी तथा प्रतिकार्यका लागि दुई करोड रुपैयाँ छुट्याएको छ ।
त्यस्तै, सधैं राप्ती नदीको मार पर्ने डुडुवा गाउँपालिकाले ३७ लाख र नरैनापुर गाउँपालिकाले ३५ लाख रुपैयाँ छुट्याएका छन् । विपत पूर्वतयारी तथा प्रतिकार्यमा कोहलपुर नगरपालिकाले २९ लाख, जानकी गाउँपालिकाले २५ लाख, बैजनाथ गाउँपालिकाले ३० लाख, नेपालगञ्ज उपमहानगरपालिकाले १० लाख र खजुरा गाउँपालिकाले पाँच लाख रुपैयाँ छुट्याएका छन् ।
बाढी आउदा उद्धार गर्न सधैं समस्या पर्ने राप्तीपारी यसपाली बेलैमै उद्धार टोलीको साथै तयारी खाज तयारी अवस्थामा राखिएको छ । चाउचाउ, विस्कुट, दालमोठहरु किनेर स्टक राखिएको छ । गाउँपालिकाले आफ्नै हिसावले यस्तो व्यवस्था गरेका छन् ।
राप्तीपारीको गंगापुरमा रहेको शसस्त्र बेसक्याम्पमा एउटा रबर बोट, २५ वटा लाइफज्याकेट, डोरी, स्टेचर, फस्टएड किट तयारी अवस्थामा राखिएको छ । सशस्त्र प्रहरीको बागेश्वरी गण राप्तीपारी र गंगापुर बेस क्याम्पलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको छ ।
जिल्ला विपत समितिले स्थानीय निकाय तथा तटीय क्षेत्रका बासिन्दालाई बाढी पूर्व तयारी तथा प्रतिकार्यका लागि सचेत गराइरहेको छ । राप्ती नदीमा पानीको बहाव ५.४ मिटर हुने बित्तिकै साइरन बज्ने गर्दछन् ।
साइरन बजेपछि स्थानीयलाई सुरक्षित ठाउँमा जान सुझाव दिने गरिन्छ । तटीय क्षेत्रका बासिन्दालाई साइरनका बारेमा ओरिन्टेसन दिइसकिएको छ । रेडक्रसका गौरी बुढाथोकीले सबै ठाउँमा तालिम, गोष्ठी, स्थानीय विपत समिति गठन, कोष स्थापना, तयारी खाजा स्टक, सुरक्षाकर्मी तयारी अवस्थामा रहेको बताए ।
मौसम पूर्वानुमान महाशाखाले केही दिन लगातार वर्ष हुने अनुमान गरेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । राप्ती नदीमा आउने बाढीले जिल्लाको फत्तेपुर, बैजापुर, विनौना, होलिया, बेतहनी, कम्दी, वनकट्टी, गंगापुर, नरैनापुर डुवानमा पर्ने गर्दछन् ।

भर्खरै
लोकप्रिय






































































































































































































