
धनगढी- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका-२ कि १३ वर्षीय निर्मला पन्त घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली महेन्द्रनगर पुगेको छ।
कञ्चनपुर प्रहरीले अनुसन्धानमा वेवास्था गरेको स्थानीयको आरोपपछि (सिआइबी) को टोली महेन्द्रनगर पुगेका हो। घटनाको अनुसन्धानका लागि प्रहरी नायव उपरीक्षक अंगुर जिसी नेतृत्वको तीन सदस्यीय टोली कञ्चनपुर आएर अनुसन्धान गर्न थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेठीले बताए।
शुक्रबार भीमदत्त नगरपालिका-२ की १३ वर्षीय निर्मला पन्त भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा मृत फेला परेकी थिइन्। स्थानीय सरस्वती उच्च माविमा कक्षा ९ मा अध्ययनरत निर्मला बिहीबार ११ बजे भीनपा १८ मा रहेको साथीको घरमा होमवर्क गर्न जाने भन्दै गएकी थिइन्।
प्रहरीले गम्भीरतापूर्वक घटनाको अनुसन्धान नगरेको भन्दै महेन्द्रनगरमा स्थानीयले दैनिक प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनमा क्रममा शुक्रबार र शनिबार प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो।
विभिन्न विद्यार्थी संगठनले समेत आइतबार प्रदर्शन गरेका थिए।सेठीले घटनाको अनुसन्धान भइरहेको बताए पनि हालसम्म प्रहरीले हत्यारालाई पक्राउ गर्न नसकेको जानकारी दिए।