
काठमाडौँ – देशभरको मौसम सोमबार दिनभर तथा राति सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशकार अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविदले बताएका छन् ।
दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । यस्तै राति पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । विगत केही दिनदेखि यस्तै रहेको मौसम अझै केही दिन सामान्यदेखि पूर्ण बदली हुने र देशभर पानी पर्ने सम्भावना छ ।
काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रको मौसम पनि दिनभर बदली हुनेछ । बदली तथा पानी परे पनि बाढी आउने सम्भावना भने त्यति नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबको तीन दिन देशका प्रमुख नदीहरुमा ठूलो बाढीको जोखिम नदेखिएको महाशाखाले उल्लेख गरेको छ ।
चुरे क्षेत्र र पहाडका स–सना नदीमा पानी परेका बेला केहीबेर पानीको बहाव बढ्न सक्ने भएकाले सतर्क हुनु पर्ने तर ठूलो बाढीको सम्भावना भने नरहेको उल्लेख गरिएको छ । तर पहिरोको जोखिम रहेका क्षेत्रमा भने उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ ।