
काठमाडौँ– प्रहरीले फरार भनेर खोजिरहेका जिएसजी सञ्चालक गोविन्द थपलिया प्रधानमन्त्री केपी शर्मा अाेलीका स्वकीय सचिवसँगै एक कार्यक्रममा देखिएका छन् । प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यसँग दुई दिन पहिले भेट भएको तस्बिर सार्वजनिक भएको हो ।
नेपालस्थित कतारका दूत युसुफ बिन मोहम्मद अहमेद अल हली उपस्थित कार्यक्रममा भएको पाइएको छ।
मलेसिया जाने नेपाली कामदार ठगेको आरोपमा प्रहरीले अरुलाई पक्रे पनि थपलिया भने फरार रहेको बताउँदै आएको थियो। तर केही म्यानपावर व्यवसायीले भने सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै आएका थिए। यो घटनाले थपलिया सरकारकै संरक्षणमा रहेको थप पुष्टि गरेको छ।
अघिल्लोपटक केपी ओली प्रधानमन्त्री हुँदा चाइना भ्रमणका क्रममा भ्रमण टोलीमा समेत सामेल थिए। मलेसिया जाने कामदारसँग मलेसियामा आइएसजी र नेपालमा जिएसजीको नाममा नेपाली कामदार ठगिँदै आएपछि श्रममन्त्री गोकर्ण विष्टले गत जेठ २ गते यो संस्था पनि खारेज गर्ने निर्णय गरेका थिए। यो संस्थाले मलेसिया जाने कामदार ब्ल्याक लिस्टमा छन् कि छैनन् भनेर जाँच्ने काम गर्दै आएको थियो।
भिएलएनका सञ्चालक रामश्रेष्ठलाई पक्राउ गरेर मुद्दा चलाइएपनि थपलिया भने सरकारकै उच्च तहको संरक्षणमा रहेको खुलेको हो । प्रहरी अपराध महाशाखाले अहिले पनि उनलाई खोजिरहेको बताए पनि प्रधानमन्त्रीका स्वकीय सचिवले भने फोन उठाएनन् ।
थपलिया म्यानपावर सञ्चालक समेत हुन् । थपलियाको कोसी इन्टरनेशनल म्यानपावर कम्पनीले गत आर्थिक वर्षमा ५ हजार ४ सय ७२ जनालाई वैदेशिक रोजगारीमा पठाएको थियो ।