
काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले विराटनगरमा विरोध प्रदर्शन गरेको छ।
सोही क्रममा मंगलबार मोरङ कांग्रेसले विरोध प्रदर्शन र सभा आयोजना गरेको छ।
स्थानीय वीरेन्द्र सभागृहबाट निकालिएको विरोध जुलुस जिल्ला प्रशासन कार्यालय, गोल्छाचोक, जलजला चोक, ट्राफिक चोक हुदै जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै कांग्रेस नेता डा. मीनेन्द्र रिजालले सरकार ढाल्न नभई सरकारलाई सही बाटोमा हिडाउन कांग्रेसको आन्दोलन गर्नुपरेको बताए।
संघीय संसदका सदस्य डा. रिजालले वर्तमान सरकारबाट संविधानसमेत खतरामा परेको आरोप लगाए। उनले भने, हाल दुइतिहाइ मतका साथ सरकार हाकिरहेको कम्युनिष्ट सरकारले जनतालाई सपनामात्रै बाडेको आरोप लगाए।
पछिल्ला क्रियाकलापले सरकारका अधिनायकवादतर्फ उन्मुख भएको भन्दै उनले नेपाली जनतालाई अधिनायकवाद र निरंकुशता स्वीकार्य नहुने प्रस्ट पारे।
त्यसैगरी, केन्द्रीय सदस्य अमृत अर्यालले जनताको भावनाअनुसार सरकार नचलेका कारण कांग्रेसले सडक आन्दोलन गर्नुपरेको बताए । सञ्चारमाध्यम र प्राज्ञिक क्षेत्रमाथि सरकारले हस्तक्षेप गरेर अधिनायकवादको सुरुवात गरेको अर्यालले दाबी गरे।
सभामा आमन्त्रित केन्द्रित सदस्य सहन अन्सारी, कांग्रेस नेता अशोक कोइराला, तरुण दल मोरङका अध्यक्ष प्रभाकर थापा सञ्जय, टे«ड युनियन कांग्रेसका अध्यक्ष सुशील कोइरालालगायतले राणा, पञ्चायत र राजातन्त्र अन्त्य गरेको कांग्रेसलाई कम्युनिष्ट सत्ता अन्त्य गर्न कुनै गाह्रो नपर्ने चेतावनी दिए ।