
चितवन – चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरास्थित खोरमा राखिएको दुर्लभ पाटेबाघ मरेको छ ।
दाहिने खुट्टाको पञ्जामा लागेको चोटका कारण इन्फेक्सन भएर मंगलबार पाटेबाघ मरेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेले जानकारी दिए ।
करिब १०–११ वर्षको उक्त बाघलाई तीन महिनाअघि पूर्वी चितवनको खगेन्द्रमल्ली रेञ्जपोष्टअन्तर्गत पर्ने राप्ती एकता मध्यवर्ती सामुदायिक वनबाट उद्धार गरी खोरमा ल्याएर राखिएको थियो ।
“हिजोसम्म राम्ररी मासु खाँदै थियो”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले भने, “आज मासु हाल्न जाँदा मरेको भेटियो ।” आठ–दश दिनदेखि बिरामी परेको बाघलाई पशुचिकित्सक डा. कमल गैरेको नेतृत्वको टोलीले उपचार गरिरहेको भए पनि सफल हुन नसकेको ढकालको भनाई छ ।
उक्त बाघले सो क्षेत्रमा करिब २० वटा जति पशुवस्तु खाएको थियो भने एकजना मानिसलाई समेत आक्रमण गरी घाइते बनाएपछि निकुञ्जले नियन्त्रणमा ल्याएर खोरमा राखेको थियो ।