
भक्तपुर – घरायसी विवादमा बुवाले छोराको हत्या गरेका छन् । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकनथली, रमाइलो चोकमा बस्दै आएका ४० वर्षका डिल्लीराम चापागाईँले १७ वर्षका छोरा सागरको हत्या गरेका हुन् ।
घरायसी विवादको क्रममा मंगलबार राति ११ बजेर ५५ मिनेट जाँदा डिल्लीरामले छोरा सागरलाई मासु काट्न प्रयोग गरिने दाउले प्रहार गरेका हुन् ।
सागरको घाँटी आधा काटिएको र उनको घटनास्थलमै ज्यान गएको भक्तपुरका डिएसपी रेवतीरमण पोखरेलले देश सञ्चारलाई जानकारी दिए । घटना लगत्तै सागरकी आमाले प्रहरीलाई फोन गरेकी थिइन् । त्यसपछि प्रहरी टोली त्यहाँ पुगेको र हत्यामा संलग्न बुवा डिल्लीरामलाई पक्राउ गरिएको डिएसपी पोखरेलले जानकारी दिए ।
सागरको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी पोखरेलले जानकारी दिएका छन् ।
मोरङ्गको सोनवर्षा नगरपालिका–१ मा स्थायी बसोबास रहेको चापागाईँ परिवार लोकन्थलीमा बस्दै आएको थियो ।