काठमाडौँ- देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा हरेक दिन खाल्डो परे पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्यन प्राधिकरणले चरम लापरवाही गरिरहेका छन्।
दिनदिनै विमानस्थलको रनवे उप्किनु निकै गम्भीर विषय भएको विमानस्थलका अधिकारी बताउँछन्।
सन् २०११ मै रनवेको आयु सक्किएको भए पनि हालसम्म सुधारको काम सुरु नहुनु चरम लापरवाही भएको एक एयरलाइन्स कम्पनीका अधिकारीले बताए। स्रोतहरु भन्छन्, ‘रनवे उप्किले समस्याले ठुलो दुर्घटना निम्त्याउने सम्भावना छ।’
शुक्रवार कतार एयरलाइन्सका क्याप्टेनको होसियारीले ठुलो दुर्घटना टरेको छ। कतार एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्तलमा अवतरण हुनै लाग्दा रनवेमा ठुलो खाल्डो देखिएपछि ल्याण्ड हुन नसकेपछि ओभर सुट गर्नु गरेको स्रोतको दाबी छ। तर विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जहाज ओभर सुट नभएर मिस एप्रोच गरेको दाबी गरेका छन्।
ओभर सुट भनेको जहाज रनवेमा ल्याण्ड गरिसकेपछि अगाडि कुनै खाल्डो देखिए फेरि उड्नु हो। मिस एप्रोच भन्नाले जहाज ल्याण्ड गर्दा रनवे भन्दा केही माथिबाट रनवेमा खराबी देखिए ल्याण्ड नभई माथि उड्नु हो।
विमानस्थलका एक अधिकारीका अनुसार आज रनवेमा १.५ मिटर लामो, ३० सेन्टिमिटर गहिरो र ८० सेन्टिमिटर चौडा खाडल परेको थियो।
जहाज ल्याण्ड हुन नसकी उडेपछि विमानस्थलका अधिकारी रनवे सामान्य मर्मत गरी आकासमा होल्ड भएका जहाज अवतरण गराएका थिए। तर रनवेको उक्त खाडल राम्ररी टाल्न अधिकारीहरुलाई अढाई घण्टा भन्दा बढि समय लागेको थियो। अढाई घण्टा विमानस्थल बन्द गरि कोल्ड मिक्स प्रयोग गरेर रनवे टालिएको एक अधिकारीले जानकारी दिए।
यस्तै गत बुधबार पनि रनवे खराव भएर करिब १ घण्टा विमानस्थल बन्द भएको थियो। गत साता शान्ति सेनामा जानेहरुलाई लैजान युएनको जहाज आएपछि रनवे अझै बिग्रन थालेको स्रोतहरुले बताएका छन्।
स्रोतले भन्यो, ‘युएनको जहाज ठुलो र नेपालको रनवे अवस्था नाजुक रहेकाले उक्त जाहज ल्याउने अनुमति नदिन प्राविधिकले सुझाव दिएका थिए। तर नेपालमा नियमित उडान/अवतरण गर्ने जहाज भन्दा निकै बढी तौल भएको विमान आएपछि विग्रेको रनवेमा झनै समस्या आएको छ।’
मनसुन सुरु भएयता दिनहुँ राति रनवेका १५-२० खाल्डो पुरिने गरेको छ। विमानस्थलका इन्जिनियर सहितको टिमले हरेक दिन बेलुका ६ बजे रनवे परीक्षण गर्न गर्छन्। परीक्षणका क्रममा रनवे खराबी पहिल्याउँदै टाल्नु पर्ने ठाउँ देखाउने गरिन्छ। विमानस्थलका एक अधिकारीले भने, ‘बर्खा सुरु भए हरेक दिन रनवेमा १५ देखि २० ठाउँमा साना ठुला खाल्डो परेका देखिन्छन्।’
मनसुनमा जमिनमुनीको पानीको तह माथि आउने भएकाले पनि पानी परे लगत्तै रनवेमा समस्या आउने गरेको प्राविधिकले बताए।
एक इन्जिनियरले भने, ‘पानी परेर (रनवे) पेभमेन्टको सेल फुकेको हुन्छ, लगत्तै घाम लाग्दा चर्किन्छ। यसको दिर्घकालीन समाधान भनेको सव-सर्फेस ड्रेनेज हो।’
सव सर्फेस ड्रेनेज भनेको अहिले रनवे भएको ठाउँलाई १-२ मिटर खन्ने र ग्रावेल गर्ने अनि त्यहाँ जमिनको पानी माथी रनवेमा नआओस भनेर पाईप राख्नु हो। जसले गर्दा जमिन मुनीको पानिको तहले रनवेलाई असर गर्दैन। तर त्यसकालागि पनि रनवे रिह्याभ गर्नु पर्ने ईन्जिनियर बताउँछन्।
त्रिभुवन विमानस्थलले नियमित रनवे मर्मतका लागि ३ पटक टेण्डर आह्वान गर्दा पनि अहिले सम्म कसैले टेण्डर हालेका छैनन्। गएको साता पनि विमानस्थलले नियमित मर्मतको टेण्डर आह्वान गरेको छ।
रातिको सीमित समयमा गर्नु पर्ने काम महंगो खर्च लगाएतले कसैले टेण्डरमा चासो नदेखाएको विमानस्थलका अधिकारीको भनाइ छ।
अब सामान्य मर्मतले रनवे सुधार हुन नसक्ने भएकाले रिह्याभ नै गर्नु पर्ने इन्जिनियरहरुले बताए।
विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे ४-५ वर्षमा ओभर ले गर्ने गरिएको भए पनि हाल सम्म रिह्याभ नभएको प्राधिकरणका इन्जिनियरले बताए। सन् २०११ मा प्राविधिकले रनवेको आयु सक्किएकाले रनवे रिह्याभ गर्न सिफारिस गरेका थिए।
ढलान गरिएको रनवको आयु ३५-४० वर्ष भए पनि त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको रनवे एस्फाल्ट गरिएको भएकाले यसको आयु २० वर्ष भन्दा बढि नहुने प्राविधिकहरु बताउँछन्।
पर्यटनमन्त्री रबिन्द्र अधिकारीले २१ घण्टा विमानस्थल चलाउने निर्णय गरेकाले पनि विमानस्थल सुदृढीकरण प्रभावित भएको नागरिक उड्डयन प्राधिकरण स्रोतको भनाइ छ। नेपालको एक मात्र विमानस्थलको रनवे राम्ररी मर्मत नभएको पनि १० वर्ष भएको छ।
रनवे रिह्याभ गर्नु भनेको रनवेलाई पूर्ण हटाएर नयाँ बनाउनु हो। एस्फ्याल्ट कंक्रिटले बनाइएको नेपालको रनवे रिह्याभ नगरी चलाउन नसकिने अवस्थामा पुगेको छ। रौँजस्तो चिरा परे पनि मर्मत गर्नु पर्ने रनवेमा ठूलाठूला चिरा देखिन थालेका हुन्।
रिह्याभ गर्दा रनवेलाई जमिनमुनिबाट उप्काइने र नयाँ लेयर राख्ने गरिन्छ। राति ६-७ घण्टा काम गर्न पाए २०-३० मिटर रनवेलाई परिवर्तन गर्न सकिने प्राविधिकहरुको भनाई छ। रातभरी रनवे बनाउने र बिहान जहाज उडान गर्न मिल्ने बनाउने चुनौती हुन्छ। राति रिह्याव गर्दा बिहानसम्म काम गर्न सकिनेमात्र खनिने गरिन्छ।
नियमित काम गर्दा रनवेको पेभमेन्ट र सर्फेसमा ठुलो समस्या नदेखिए ६ महिनामा पुरा रनवे रिह्याभ गर्न सकिने विमानस्थल प्रमुख क्षेत्री बताउँछन्। क्षेत्रीले तत्काल रनवे मर्मत गरिने भए पनि ९ महिना भित्रमा रनवे रिह्याभको प्रक्रिया सुरु गरिने बताए।
तत्कालको लागि २१ घण्टा विमानस्थल सञ्चालन गरिने भएकाले पनि रिह्याभ गर्न समय नहुँदा काम अगाडि बढ्न नसकेको सरकारी अधिकारीले बताए। एक इन्जिजियरले भने, ‘अब आशा भनेको भैरहवा विमानस्थलमा हो। त्यो समयमै बन्न सके यो रनवे रिह्याभ होला नत्र भने नेपालको हवाई यातायात जोखिम मै रहनेछ।’
सरकारले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एक वर्ष भित्रमा सञ्चालन गर्ने घोषणा गरेको छ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































