
चितवन – पहिरोका कारण नारायणगढ– मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
सडकखण्डको घुमाउने भन्ने ठाउँमा शिनबार बिहान साढे ६ बजेतिर ठूलो पहिरो गएकाले बाटो अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सिनियर डिभिजनल इन्जिनियर गोविन्द खनालले जानकारी दिएका छन् ।
लगातार पानी परेको तथा पहिरो झर्ने क्रम नरोकिएकाले बाटो खुलाउने प्रयासमा समस्या भएको मुग्लिन प्रहरीले जनाएको छ । पहिरो हटाएर बाटो खुलाउन समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
निर्माणाधीन यो सडकखण्डमा पानी परेपछि प्राय पहिरो जाने गरेको छ । ट्राफिक प्रहरीले पहिरोका कारण बाटो अवरुद्ध भएकाले तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह पनि गरेको छ ।