
चितवन – पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
सडकखण्डको घुमाउने भन्ने ठाउँमा शिनबार राति साढे १० बजेतिर ठूलो पहिरो गएकाले बाटो अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सिनियर डिभिजनल इन्जिनियर गोविन्द खनालले जानकारी दिएका छन् ।
आइतबार बिहानैदेखि पहिरो हटाउने काम सुरु भएको छ । पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको उनले बताए । पहिरो हटाउन झण्डै चार घण्टाजति लाग्ने प्रहरीले जानकारी दिएको छ ।
शनिबार दिनभरजसो पहिरोका कारण बाटो अवरुद्ध भएको थियो । शनिबार दिउँसो केहीबेर खुलेको बाटो राति फेरि पहिरो खसेका कारण अवरुद्ध भएको हो ।
निर्माणाधीन यो सडकखण्डमा पानी परेपछि प्राय पहिरो जाने गरेको छ । ट्राफिक प्रहरीले पहिरोका कारण बाटो अवरुद्ध भएकाले तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह पनि गरेको छ ।