
धनगढी – प्रदेश ७ को मन्त्रीपरिषद बैठकले डोटीको बोगटान गाउपालिकाको नाम हेरफेर गरि “बोगटान फुडसिल” गाउँपालिका कायम गर्न नेपाल सरकार समक्ष सिफारिस गरि पठाउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रीपरिषद बैठकले स्थानिय जनताको माग र गाउँ सभा बैठकले गरेको निर्णय र सिफारिस बमोजिम यस्तो निर्णय गरेको हो।
यस्तै कैलालीको कैलारी गाउँपालिकाको वडा नं. ४ को नवलपुर गाउँलाई वडा नं. १ मा समावेश गर्न, डोटीको आर्दश गाउँपालिकाको वडा नं. ४ को पातलगाउँलाई वडा नं. ५ मा समावेश गर्न तथा भागेश्वर गाउँपालिका डडेल्धुराको वडा नं. ४ को गुवाडी टप्वामा केन्द्र सार्न नेपाल सरकार समक्ष सिफारिस गरि पठाउने निर्णय गरिएको छ ।
सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले स्थानिय तहको माग र सिफारिश बमोजिम नै नाम र केन्द्र हेरफर गरी कायम गर्न सिफारिस गरिएको जानकारी दिए ।
बैठकले विपद् व्यवस्थापन तथा राहत कोष विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, प्रदेशको कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै, मुख्यमन्त्री र मन्त्रिहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने, सुशासन सम्बन्धमा व्यवस्था गर्न विधेयकको मस्यौदा तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता शाहले जानकारी दिए ।
आइतबारको मन्त्रीपरिषद बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टबाट ठाडो प्रस्तावको रुपमा प्रस्तुत मातहत सवै मन्त्रालय/सचिवालय/कार्यालयले आ–आफ्नो निकायको संगठन संरचना र कर्मचारी दरवन्दी यकिन गरि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने सम्बन्धमा मातहत सबै निकायलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ ।