
काठमाडौँ– अपहरणमा परेका ११ वर्षका बालक निशान खड्काको खोजीका लागि खटिएको प्रहरी टोली र अपहरणकारीबीच गोली हानाहान भएको छ ।
प्रहरीको गोली लागेर दुई जना अपहरणकारीको ज्यान गएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुरको डोलेश्वरमा अपरहणकर्तामाथि गोली चलाएको हो । अपहरणमा संलग्न गोपाल तामाङ र अजय तामाङको गोली लागेर ज्यान गएको हो ।
घटनास्थलबाट एउटा पेस्तोल, दुई राउण्ड गोली र फिरौती माग्न प्रयोग भएको सिम बरामद भएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले देश सञ्चारलाई जानकारी दिए ।
बालकको उनीहरुले हत्या गरेका छन् ।
बालकको शव भेट्टिएपछि प्रहरी टोली अपहरणकारीलाई खोज्दै गएको थियो । निशानको शव भक्तपुरको बोडेमा भेटिएको हो ।

अपहरणपछि हत्या भएका बालक निशानको स्कुलको परिचय पत्र ।
सिन्धुपल्चोक घर भइ हाल काडाँघारीमा बस्ने निशान खड्का आइतबार राति अपहरणमा परेका थिए । बालकको परिवारसँग अपहरणकारीले लाखौँ रकम फिरौती मागेका थिए ।
बालकलाई अपहरण गरेको भन्दै परिवारबाट पचास लाख रुपैयाँ फिरौती रकम मागेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

अपहरणपछि हत्या भएका बालक निशान ।
निशान काठमाडौँ–३२ पुरानो सिनामंगलमा रहेको हाइल्याण्ड इंग्लिस स्कुलमा अध्ययनरत थिए । कक्षा ६ मा अध्ययनरत निशानका बुवा गणेश खड्का वैदेशिक रोजगारीमा छन् ।