
काठमाडौँ- सूर्यबिनायक, गणेशस्थाननजिकै सोमबार दिउँसो एक बजे लगातार पानी परिरहेको थियो। नजिकैको सन्तकृष्ण स्कुलका सहयोगी (पिउन) राजाराम ट्वाटीले स्कुलको साइनबोर्डमा बालबालिकाले ठोकेजस्तो डुङडुङ आवाज सुने। पानी परिरहेकाले उनले धेरै त्यता ध्यान दिन पाएनन्।
काँडाघारीका ११ वर्षीय निशान खड्काको अपहरणमा संलग्न गोपाल तामाङ र अजय तामाङ प्रहरी इन्काउन्टरमा मारिएको घटनास्थलको २० मिटर दूरीमा रहेको स्कुलमा त्यस्तो आवाज आएको राजाराम बताउँछन्।
अपहरणपछि बालक खड्काको हत्या गरिएको ठिमी ७ को घटनास्थलबाट पूर्व दक्षिण दिशामा गोपाल र अजय सोमबार दिउँसो १ बजेर २० मिनेटमा प्रहरी इन्काउन्टरमा मारिएका थिए। ठिमी ७ स्थित निर्माणाधीन घरमा निशानको हत्या गरिएको थियो।
यस क्षेत्रका पूर्व वडाध्यक्ष कृष्ण ट्वाटीका अनुसार उनले दिउँसो १ बजेर २० मिनेटमा फाइरिङ खोलेजस्तो आवाज सुनेका थिए। प्रहरीका अनुसार अपहरणकारीलाई पिछा गर्ने क्रममा सूर्यबिनायक पुगेपछि जवाफी फाइरिङमा उनीहरुको मृत्यु भएको हो। सूर्यबिनायक मन्दिरनजिकै डाँडामा अपहरणकारीहरु मारिएका हुन्।
पेन्टिङको काम गर्ने गोपाल र अजय अपहरित बालक निशानकी आमा चमेलीले चलाएको चियापसलमा नियमित रुपमा जाने गर्थे। निशानका बुबा गणेशबहादुर खड्का वैदेशिक रोजगारका सिलसिलामा विदेशमा छन्।