
धनगढी – कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीमा रहेको एक गुट्खा कम्पनीमा अज्ञात समूहले बम विस्फोट गराएको छ ।
बिहीबार बिहान ६ बजेतिर देउती गुट्खा उद्योगको गेट बाहिर अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीका अनुसार बम विस्फोटका कारण उद्योगको पर्खाल र छानामा सामान्य क्षति पुगेको छ ।
ठूलो आवाजमा बम विस्फोट भएपछि स्थानीय बासिन्दा त्रसित भएका थिए । घटना लगत्तै प्रहरी पुगेको थियो । उक्त उद्योगमा अज्ञात समूहले साउन २ गते समेत दुईवटा प्रेसर कुकर बम राखेको थियो ।
यसअघि पनि उक्त उद्योगमा बम राखिएकाले यस विषयमो अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताए ।
प्रहरीले नेपाल कम्युनिष्ट पार्टी विप्लवका कार्यकर्ताले बम विस्फोट गराएको आशंका गरेको छ ।