सन्दर्भ: विश्‍व आदिवासी दिवस

किन लोप हुँदैछ पूर्वीय थारु भाषा र संस्कृति

किन लोप हुँदैछ पूर्वीय थारु भाषा र संस्कृति
+
-

नेपालमा बोलिने मातृभाषाहरुमध्ये थारु भाषाको स्थान दोश्रोमा पर्छ। रौतहटदेखि झापासम्म बोलिने थारु भाषा स्थान बिशेषले बोलाइमा केही फरक भए पनि लेखाइमा अन्तर खासै छैन। बारा पर्सामा बोलिने थारु भाषामा केही भोजपुरीको प्रभाव देखिएको छ। तर थारु भाषाको ठेट शब्दहरुको प्रयोगमा भने फरक छैन।

यस्तै मोरङ र सुनसरीमा बोलिने थारु भाषा छुटै बिशेषता भएकोले २०१८ सालको जनगनणामा थारु भाषाको पहिचान पाएको हो।  त्यस बखत थारु जातिमा शिक्षाको कमी भए पनि मौखिक रुपमा कन्ठस्थ पारेर थारु साहित्य र लालित्यलाई संरक्षित गरेर राखेका थिए। सोरठी वृजभान गीति नाटक, धुमरा नाँच, चोर खेलिया नाँच, समाचकेवा, जटा-जाटिन गीति नाटकहरुमा थारु समाजका प्रथा, चलन, सु:ख-दुख,पीडा, हर्सोल्लासका साथै हास्य व्‍यङ्यका कथाहरु छन।

बिहान-बिहान गाइने थारु परापूर्व कालका पराति गीतमा मनलाई सम्झाउने, धैर्यता, आशावादी हुने, निरास मनलाई उत्साह र आत्मविश्‍वास जागृत गराउने किसिमका थिए। तर अहिले यो लोप हुने अवस्थामा छन्।

थारु समाजले त्‍यतिबेलादेखि न लिखित रुपमा संग्रहित गरे न मौखिक रुपमा नै जोगाउन सके। किनकी समयको परिवर्तन र विश्‍वव्‍यापीकरणले गर्दा उसको मौलिक/मौखिक रुपमा चल्‍दै आएको भाषा साहित्य एकपछि अर्को गर्दै हराउन थाले। त्यतिमात्र होइन, वर्ष भरि नै महिना अनुसार गाउने गीत ‘गौरीबरमसा’ अब गाउनै छाडेका छन् थारु समुदायमा यतिबेला। उनीहरु विस्तारै विस्तारै हिन्दी, नेपाली र आयातित भजन कीर्तनमा व्‍यस्त हुन थालेका छन्।

थारु संस्कृतिविद्‌ भुलाई चौधरी भन्छन्, ‘हाम्रा पालामा विहान विहानै पराति गाउने चलन थियो। तर अहिलेका पुस्ता विहान विहानै र्‍याप पप गीत गाउदै उठ्छन् र सुत्छन्।आमाबुवाले उनीहरुलाई आफ्ना मातृभाषा थारु हो भनेर भन्‍न पनि लजाउँछन्। नयाँ पुस्तामा थारु भाषा, नाँच र पहिचानका न कुनै गीत सिकाउँछन् न कुनै स्कुलमा यसको बारेमा पढाइन्छ।यसकारण यो त्‍यतिकै विस्तारै विस्तारै मिश्रित भइरहेको छ। हराइरहेको जस्तो लाग्छ।’

उनले पूर्वीया थारु भाषामा गाइने गीतहरु ऋतु अनुसार बनाइएको दाबी गर्छन्। उनी भन्छन्, ‘ चैत-वैशाखमा बसन्त ऋतुमा नयाँ रुखविरुमा पालुवा आउँछ।प्रकृति रमाउँछ। त्‍योसँगै मानिसका मनहरु रमाउन थाल्छन् र थारु समुदाय यसलाई गीत बनाएर ‘चैताबरी‘ गाउने गर्छन्। यस्तै असार साउन बर्षा ऋतुमा आकाश गर्जेको, बर्षातले जीउ भिजेर निथ्रुकै भएको, खेतमा हलो जोतेको र रोपाई गरेका गीतहरु पहिला पहिला गाउने गरिए पनि अहिले भने गाउँन छाडेका छन्।’

असोज कार्तिकमा चाँडबाड का कृष्ण मनौन, रासलिला, रमायण, दुर्गा भवानी र लक्ष्‍मीको स्तूति बनदना गीतहरु गाउँछन। मंसिरदेखि जाडोको सुरुवातसँगै जाडोमा कसरी एकलै बस्ने महिलाको पीडाहरु र पुरुषहरुलाई बेठ-बेगारमा पठएका, परदेशमा हात्ती चराउन हिडेका माहुतेहरुले घरको जहान श्रमतीलाई सम्झेर गाएका गीतहरु छन्।

बसन्त पञ्‍चमीदेखि होरी गीत, होलै जिस्काउने, होलीमा रंङ अबिर खेलेर गाउने जोगिरा गीतहरु भाषिक जागरणको अभाव, आर्थिक अभाव र नयाँ नयाँ शैलीको गीतको प्रभावले विस्तारै थारु भाषा संस्कृतिका गीतहरु हराउँदै गइरहेको थारु महिला समाजकी अध्‍यक्ष गीता चौधरी बताउँछिन्। उनी भन्छिन्, ‘ थारु समुदायको खाना, गाना र नाना( लुगा) नै गीत र संगीतको पहिचान हो। प्रत्येक महिनाअनसारको संस्कार छ। तर दुर्भाग्‍य अहिले समुदायमा भाषिक जागरणको अभाव, आर्थिक अभाव र अरु भाषाको प्रभावले हाम्रा धरोहरहरु, सांस्कृतिक पहिचानहरु लोप हुँदै गइरहेका छन्।’

प्रकाशनमा नियमित र निरन्तरताको कमी


थारु भाषाका प्रकाशनहरु केही नभएका होइनन् तर त्‍यो अज्रग पुस्ताले जति दिएर गए। त्‍यसमै सीमित छ। हुन त थारु भाषामा योगदान नभएका/गरिएका होइनन् तर नियमित र निरन्तरता कसैले पनि पाउन सकेका छैनन्।

श्री प्रफुल कुमार सिंह “मौन” जसले मोरङको “थारु लोक गीत संग्रह ” २०२४ सालमा प्रकाशन गरे।यस्तै थारु भाषामा पठन पाठनका लागि “बउ गुदी ” नामक कखरा को किताब २०२७ सालमा प्रकाशन भयो र मोरङको गाउँ गाउँमा प्रचार गरियो त्‍यतिबेला। वि.सं‍. २०२८ सालमा केही उत्सहित एवं सचेत युवाहरुले सरस्वती पूजामा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, पचिरामा थारु समाजमा घर घरमा झगडा, समाजमा कुरीतिलाई उजगार गर्न “घर झगडा” नाटक मन्चन गरे र यो धेरै हदसमम प्रभावकारी पनि भयो। तर त्‍यतिबेलाको पञ्चायति प्रसाशनले कलाकारहरुलाई अनावश्यक धरपकड गरे। फलस्वरुप त्‍यो लिखित रुपमै सीमित भयो, जनचेतना रुपका आउन सकेन।

यस्तै वि. सं. २०४९ सालमा “हमर पोथी ” नामक किताब शिशु कक्षाका लागि तयार गरेर केही विद्यालयमा पठन पाठन सुरु गरियो। तर पछि सरकारी स्तरबाटै छपाई नभएपछि पठनपाठनमा राम्रोसँग सुचारु हुन सकेन। यस्तै सुनसरीका थारु युवा समाज परिवारले “थारु संस्कार” नामक किताब वि.सं‍ २०४५ प्रकाशन गरे। मोरंङमा थारु बिकास समन्वय समितिले ” डलयति” र सप्तरीमा प्रगतिशील थारु युवा संगठनले ” चिरखा” नामक पत्रिका निकाले तर त्‍यो पनि चल्‍न सकेन।

यस्तै विसं २०४९ सालमा तेजनारायण कठेतबनीले थारु साहित्य गोष्टी परिवारले “आंईख” र सर्वस्वलाल चौधरीले थारु भाषा साहित्य परिषदबाट “थारु पत्र” र कविरदास चौधरिले “साधारण थारु व्‍याकरण ” तथा थारु कल्यानकारिनी सभा सुनसरीले स्मारिका” प्रकाशन गरियो। तर यसलाई पनि निरन्तरता दिन सकिएन। यता, बाराको ककडिमा थारु भाषा साहित्य गोष्टी २०४९ मंसिरमा भएपछि ‘हैली’ नाम पत्रिकाको पुन: प्रकाशन सुरु भयो। त्‍यहीबेला रामसागर चौधरीको प्रथम थारु कविता संग्रह “अनमोल बेहाल” प्रकाशित भयो।

२०५० सालमा सप्तरीबाट रमानन्द लेखीले “लव पूर्णिमा ” र राजेश्री (राजेश्वरी) चौधरीले ” भुरुकवा” प्रकाशन गरे। २०५१ सालमा भादौ १ गते देखि रेडियो नेपालबाट मातृभाषा पुर्वीया र पश्चिम थारुमा समाचार प्रसारण सुरु भयो।तर नेपाल सरकारले थारु भाषाप्रति देखाएको उदासीनताले त्‍यो पनि बन्द भयो। आदिवासी जनजाती प्रतिष्ठान स्थापना भए पनि थारुको पक्षमा भने कुनै रिसर्च न पुस्तक न सहयोग दिइयो। त्‍यहाँ पनि आफ्‍नै जातिको लागि राजनीति र खिचातानीले थारु भाषा र साहित्‍यलाई पाखामा पारियो। यसरी पुर्वीय थारु भाषा विकासको आधारहरु थपिदै गए पनि प्रकाशन र लेखन काममा नियमितता देखिएन।

यस्तै थारु कल्‍याणकारिणीका पूर्व महामन्त्री भुलाइ चौधरीले पनि थारु भाषामा योदान दिए। उनका कृतिहरु ‘थारु दस्तावेज २०५७’, थारु संस्कृति जीवन संग्रह २०६१, हमर थारु भाषा यात्रा २०७० हाल ‘थारु गीति संग्रह र कहबी संग्रह’को तयारी भइरहेको छ। तर यी ऐतिहासिक पुस्तक निकाल्‍न बडो कठिनाइ भइरहेको उनको गुनासो छ।

दोश्रो जनआन्दोलन २०६2/६३पछि संचार माध्यममा भएको बिकासमा केही ऊर्जा थपियो। गोरखा पत्र दैनिकले नयाँ नेपाल पानामा मातृ भाषालाई प्राथमिकतामा राख्‍यो र लेख रचना प्रकाशन गर्न थाल्‍यो जसमा थारु भाषालाई पनि स्थान दिइयो। तर त्‍यहाँ पनि थारु भाषा पश्‍चिमेलीमा मात्रै सीमित रह्‍यो। पूर्वीया थारु भाषाको लेख-रचना एक त लेख्दै नलेख्‍ने, अर्को लेखे पनि प्राथमिकतामा पारिएन। यस्तै एफएम रेडियोहरुमा थारु भाषामा समाचार प्रसारणदेखि विभिन्‍न कार्यक्रमहरु सञ्चालनमा आए।तर विकास र विस्तारमा कुनै फड्को मारेन।

यस्तै आधुनिक गीत, चलचित्र, नाटकका माधययमबाट थारु भाषाको विकासमा जोड दिए पनि देखिएता पनि लिखित साहित्यको कमी नै छ।२०६४ देखि २०६७ सम्ममा पूर्वके समाद २०६४ झापा, त्रियुगा के आवाज २०६१ उदयपुर, सनेस २०६१ लहान, सिरुवा २०६७ सुनसरी, मोरङ बाट फुरगनी – भुदेव भगत, बहलमान- रामलछमन चौधरी, जस – भोलाराम चैधरी ” पत्रिका प्रकाशन गरे पनि नियमित हुन सकेनन्।

रेडियो नेपाल आफ्‍नो क्षेत्रीय प्रसारणमा थारु भाषामा कार्यक्रम चलायो तर समय थोरै दियो। हाल सप्तकोशी, कोशी, पपुलर, रामधुनी, कोचिला, बिराट , पुर्वोदय एफएमबाट थारु भाषाका केही कार्यक्रमहरु नियमित प्रसरण भइरहे पनि राज्‍यको प्राथमिकतामा पर्न सकेको छैन।

२०७१ मा मध्य पुर्वीया थारु भाषा लेखन शैली र २०७३मा मध्य पुर्वीय थारु- नेपाली शब्दकोष हौली परिवार, सिल नटरनेशनाल र मातृभाषा केन्द्र नेपाल ले प्रकाशन गरेर मानकका लागि पुर्वाधार थपेकाछन।२०७३ देखि इजोत पत्रिका मासिक प्रकाशन भइरहेको छ। तर नियमित रुपमा भने इजोले पनि फड्को मार्न सकेको छैन।

जन्म-मृत्‍यु संस्कारमै प्रभाव र परिवर्तन


जन्मदेखि मृत्युसम्मका संस्कार गीत मार्फत नै गर्ने चलन पनि अहिले लोप भईसकेका छन्। जस्तो की छट्यार, भोजभातेर, मथमुरैन/मुण्डन, बिबाह र मृत्यु संस्कारमा परिवर्तन आइसकेका छन्। कोही हिन्दु प्रभावमा परम्परामा मिश्रित भइसकेका छन् भने कोही क्रिष्टियन परम्परालाई अंगाल्‍न बाध्‍य भएका छन्।  छन् त केवल अब बुढापाकाका गलामा की त उसको परिवारको कुनै एक सदस्‍यमा त्‍यो पनि हस्तान्तरण गरिएको छ भने मात्रै नत्र बुढापाका बिते संस्कार र संस्कृति पनि लोप भएर हराए।

यसैगरी थारु समुदायमा निर्गुण गीत, धामी गीत, तन्त्रमन्त्र, घरेलु जडिबुटीको प्रयोग लोप हुने अवस्थामा छ। हरिनाम, लछमीडाढी, ठारिबरद, बजरमुठिया, गोठाले (कोजाग्रत)मा लक्ष्मी स्तुति लोपोउन्ख छ भने हरिनाम कृतन गीत नितान्त काम परिरहेकाले जेनतेन जीवित छ। यो पिढी पछि लोप नै हुन्छ।यसका साथै चाँचैर, वीरहैन,कहबी, फोकरा, पीहानी, लोक कथाले भरिएको थारु भाषा साहित्य अहिले दिनप्रतिदिन दयनीय बन्दै गइरहेको छ।

थारु भाषा साहित्य अलिखित रुपमा समृद्ध भएकाले यसको संरक्षण र विकाशका प्रयास बिगत केही दशकदेखि थारु कल्‍याणकारिणीले गरिरहेको भए पनि अहिले ऊ कानमा तेल हालेर सुतिरहेको छ। थाकसबाट नियमित मासिका रुपमा प्रकाशित भइरहेको थारु भाषाको पत्रिका ‘थारु संस्कृति’ बन्‍द भएको बर्षौ भइसकेको छ। तर निकाल्‍ने चाँजो पाँजो न त थाकसले लिएको छ न त कुनै अगुवाले सुझाव दिएका छन्।

यसरी थारु भाषा र संस्कृति लोप हुँदै जानु के नेपाली संस्कृतिको अपुरणीय क्षति होईन र? नेपाल सरकार, सरोकारवाला र भाषा विज्ञहरु नजरमा किन पर्न सकिरहेको छैन?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?