काठमाडौँ – मनसुनी गतिविधि सक्रिय भएको तथा जलवास्प युक्र वायु पर्याप्त रहेकाले आइतबार रातिदेखि नै देशका अधिकांश स्थानमा पानी परिरहेको छ ।
काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । यसले गर्दा देशका धेरै ठूला तथा मझौला नदीमा पानीको बहाव बढेको जल तथा मौसम विभागले जनाएको छ ।
विशेष गरी पूर्व र मध्य क्षेत्रका नदीमा बहाव बढेको छ । अहिले कमला, अरुण, कोशीसहितका नदीमा पानीको बहाव खतराको बिन्दुमा पुगेको छ ।
दिनभरि नै पानी पर्ने भएकाले बहाव अझै बढ्ने र बाढीको खतरा रहेको विभागका महानिर्देशक डा. ऋषि शर्माले जानकारी दिए ।
यस्तै पश्चिमका कर्णाली, पश्चिम राप्तीसहितका नदीमा पनि पानीको बहाव बढेको छ । पहाडी क्षेत्रमा बढी पानी परेकाले ठूला तथा मझौला नदीमा बहाव बढेको डा. शर्माले जानकारी दिए ।
यस्तै तराई तथा चुरे क्षेत्रमा रहेका खहरे खोलामा पनि बाढीको सम्भावना छ । विशेष गरी नदी आसपास र टतीय क्षेत्रका बासिन्दा सजग हुनु पर्ने उनले बताए ।
सोमबार प्रदेश नम्बर १ र २ को चुरे क्षेत्र भएर बहने लालबकैया, रातु, खाँडो, गागन, सुनसरी, बुढी, बिरिङ, मेचीसहितका नदीमा उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै प्रदेश नम्बर ३ र गण्डकी प्रदेश (४) तथा प्रदेश ५ र कर्णाली प्रदेशका तराईका क्षेत्रमा मध्यम बाढीको जोखिम रहेको छ ।
यसैगरी कोशी नदीको चतरा क्षेत्रमा बहाव खतरा भन्दा माथि पुग्ने सम्भावना छ । नारायण र कर्णाली नदीमा बेलुका तिर पानीको बहाव खतराको संकेत नजिक पुग्ने देखिएको छ । पश्चिम राप्ती र बबइ नदीजलाधार क्षेत्रका बासिन्दा सचेत हुनु पर्ने देखिएको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































