
धनगढी- टीकापुर हत्याकाण्ड घटनाको विषयमा बुधवार भएको पहिलो पेशीले वादी प्रतिवादीलाई साक्षी लिएर आउन आदेश दिएको छ।
हत्याकाण्डको झण्डै तिन वर्षपछि सुनुवाईको प्रक्रिया सुरु भएको मुद्दाको पहिलो पेशीमा न्यायधिस पर्शुराम भट्टराईको ईजलासले भदौ २४ गते वादी प्रतिवादीलाई साक्षी सहित अदालतमा उपस्थित हुन आदेश दिएको हो।
‘न्यायधिसले भदौ २४ गते वादी प्रतिवादीलाई घटनाको बारेमा जे प्रमाण छ त्यही ल्याएर अदालतमा उपस्थित हुन आदेश जारी गर्नुभएको छ । ’ अदालतका श्रेष्तेदार ईन्द्र बहादुर कठायतले भने, ‘त्यसपछि टीकापुर घटनाको मुद्धाले निन्तरता पाउछ।’
पहिलो पेशीको लागि जिल्ला अदालतले साउन २४ गते समय तोकेको थियो।तर, जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको स्वास्थ्य समस्या र टीकापुर घटनाको मुद्दा अदालतको साप्ताहिक मुद्दा पेशीको तालिकामा नचढेको कारण देखाउँदै पेशी सारिएर बुधवारका लागि निर्धारण गरिएको थियो।
यसअघि म्याद तामेली हुन नसक्दा मुद्धाको सुनुवाईको प्रक्रिया सुरु भएको थिएन।बुधवार पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका अभियुक्तलाई अदालतमा लगिएको थियो।
थरुहट÷थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी १ नाबालक र ७ प्रहरीको ज्यान गएको थियो।
हालसम्म १ नाबालक, सांसद रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरेको छ।
एक नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको छ।
उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ।हाल काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा रहेका रेशम चौधरीको पेशी बिहीवार हुने जनाइएको छ। चौधरीको बिहीवार सर्वोच्च अदालतले पेशी तोकेको छ।
घटनामा संग्लन अझै २० जना फरार रहेको प्रहरीले जनाएको छ।