
धनगढी-अब धनगढी कैलालीका जनताले कुखुराको अण्डामा समेत कर तिर्नु पर्ने भएको छ। धनगढी उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७५/७६ देखि कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोवार शीर्षक अन्तर्गत कुखुरामा मात्रै हैन, अण्डा, माछा, खसि, भेडा, बाख्रा, सुगुर, रागा, तरकारी तथा फलफुल जन्य वस्तुको पनि कर संकलन गर्ने तयारी गरेको हो।
उपमहानगरपालिकाको आर्थिक ऐनमा कुखुरामा प्रतिगोटा २० र अण्डामा प्रतिगोटा एक रुपैया सकलन गर्ने उल्लेख गरिएको छ भने माछामा प्रतिकेजी २० रुपैया, खसि, भेडा, बाख्रा, सुगुर, रागामा प्रतिगोटा २ सय रुपैया संकलन गर्ने जनाईएको छ।
कृषि तथा पशुजन्य बस्तुको व्यावसायिक कारोवार शिर्षक अन्तर्गत धान, गहु, दलहन, तेलहन, पिठो मैदा, मकै, चना, चोकर, चुसा लगायतमा पनि उपमहानगरपालिकाले कर लगाएको छ ।
खोला तरे पनि कर
आफनै घर वरिपरि रहेका बेला नाला तरेपनि अव उपमहानगरपालिकालाई कर तिनुपर्ने बाध्यता बनेको छ। एक व्यक्तिले खोला तथा घाट तरेमा उपमहानगरपालिकालाई २५ रुपैँया बुझाउनुपर्ने छ ।
त्यस्तै, प्रति साईकल, प्रतिवोरा सामान, प्रति चौपाया १५ रुपैया तिर्नुपर्ने छ भने मोटरसाईकल वापत ३० रुपैया तिर्नुपर्ने छ।
सडकमा सामान बेच्नेलाई बहाल विरौटी कर
उपमहानगरपालिकाले घुम्ती र ठेला पसल र भुईमा सामान बेच्नबाट पनि दैनिक २० रुपैया कर सकलन गर्ने भएको छ ।
थपियो कवाडी कर
उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि लागु हुने गरि कवाडी कर पनि सकलन गर्ने भएको छ । यसलाई उपमहानगरपालिकाले करको दायरा बढाएको भनेको छ ।
पुनः प्रयोग हुने कवाडी सामानहरुमा लाग्ने करको दर समेत उपमहानगरपालिकाले सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले कवाडी बस्तुमा २० पैसादेखि १५ रुपैयासम्म कर तोकेको छ ।
मदिरामा दोब्बरले कर वृद्धि
उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि मदिरामा दोव्वरले कर बृद्धि गरेको छ । तर, सुर्तिजन्यमा भने करलाई यथावत राखिएको छ। यसअघि १० हजार रुपैया तिर्दै आएका मदिराका अधिकृत, थोक विक्रेता तथा वियरका डिलरहरुले अव २० हजार कर तिर्नुपर्ने भएको छ।
५ हजार ५ सय तिर्दे आएका खुद्रा मदिरा विक्रेताले १० हजार र यसअघि ३ हजार ५ सय रुपैया तिर्दै आएका मदिरा सहितका कोल्ड स्टोरले ७ हजार रुपैया कर तिर्नुपर्ने छ ।
मेयर उपमेयरको स्पष्टोक्ति-कर बढाएका छैनौ, घटाएका छौं
धनगढी उपमहानगरपालिकाले विभिन्न शिर्षकमा कर बढाएको भन्दै सर्वत्र आलोचना भईरहेका बेला उपमहानगरपालिकाले भने कुनै पनि बस्तुमा कर नबढाएको दावी गरेको छ।
गत आर्थिक वर्ष २०७४/७५ का प्रगति विवरण सार्वजनिक गर्न विहिवार आयोजित पत्रकार सम्मेलनमा उपमहानगरपालिकाले कर बढाउनुभन्दा घटाएको समेत दावी गरेको छ।
उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले भने, ‘घाट कर, कुखुरा, रागा, बोका, खसि लगायतमा लगाईएको कर विगत १० औ वर्षदेखि लगाईदै आएको हो । हामीले पनि लगाएका हौ। पहिले उक्त कर साविकको जिल्ला विकाश समितिले संकलन गर्थ्यो।’
‘स्थानीय उत्पादनलाई फाईदा पुग्ने गरि बाह्य जिल्ला र देशबाट आउने बस्तुमा मात्रै कर लगाईएको छ ।’ वडले भने, ‘यसले हाम्रा किसान दाजुभाई फाईदा पुग्छ । आयात घटछ ।’उपप्रमुख सुशिला मिश्र भट्टले कर नबढाएको र करको दायरा बढाईएको बताइन्।
‘मदिरामा दोव्वरले कर बृद्धि गरेका छौ । करको दायरा बढाउदै कवाडी बस्तुमा पनि कर लगाएका छौ ।’ उपप्रमुख मिश्रले भनिन्, ‘कर बढाएका छैनौ, दायर बढाएका छौ र कर घटाएका छौ ।’
उपप्रमुख मिश्रले एकीकृत सम्पति १५ प्रतिशत घटाईएको दावी गरिन्। उनले भनिन्, ‘सम्पति कर १५ प्रतिशत घटाएका छौ। नागरिकता अनुसूचि फाराम निशुलक दिने गरेका छौ । जन्म, मृत्यु, बसाईसराई र विवाह दर्तामा कुनै किसिमको शुल्क लिईएको छैन ।’