धनगढी- कैलालीबाट अपहरणमा परेका पाँच ५ वर्षीय बालकको ९ घण्टापछि दाङको भालुवाङबाट सकुशल उद्धार गरिएको छ।
सोमवार विहान ९ बजे कैलारी गाउपालिका, ६ विनौलीमा रहेको आदर्श माविमा अध्ययनरत पाँच वर्षीय बालक खेमाङ चौधरीको अपहरण भएको थियो।
अपहरणपछि अपहरणकारी गोदावरी नगरपालिका हरैयाका बिर्जु चौधरीले छेमाङकी आमा बिना चौधरीलाई फोन गर्दै भोलि विहान काठमाडौ बसपार्कमा भेट्न आउनु र नआएमा छोरोलाई मारिदिने भन्दै धम्की दिएका छन्।
पीडित परिवारले कैलारी गाउपालिका वडा नम्वर ६ का अध्यक्षबाट बालकको अपहरणका विषयमा प्रहरीलाई जानकारी गराएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
फोन लोकेशनको आधारमा सोमबार बेलुका ६ बजे दाङ प्रहरीको सहयोगमा खेमाङको उद्धार गरिएको र अपहरणमा सग्लन बिर्जुलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए।