
कञ्चनपुर – १३ वर्षकी बालिकाको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा वास्तविक अपराधीलाई उम्क्याउन निर्दोषलाई अपराधीको रुपमा खडा गरिएको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् ।
तेस्रो दिन बिहीबार अवस्था थप तनावग्रस्त भएको छ । भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले अपराधीलाई जोगाउन चाहेको भन्दै स्थानीयले सुरु गरेको आन्दोलनको क्रममा बिहीबार गोली चलेको छ ।
गोली लागेर ८ जना घाइते भएका छन् । तर प्रहरीले भने हवाई फायर मात्रै गरेको दाबी गरेको छ । महेन्द्रनगरको ट्राफिक चोकमा गोली चलेको हो बुधबारसम्म महेन्द्रनगरमा मात्रै केन्द्रित आन्दोलन बिहीबार भने जिल्लाका अन्य क्षेत्रमा समेत सुरु भएको छ ।
गाेली लागेर अर्जुन भण्डारी, तेज भट्ट, तिर्थ पनेरु, मनोज बुढा, किरन पाण्डे, सन्तोष कडरिया र प्रहरीका हवल्दार हर्क ब. पाल, जवान महेश भट्ट घाइते भएका छन् । अवस्थालाई नियन्त्रणमा लिन कर्फ्यु लगाउन सकिने प्रहरी उच्च स्रोतले बताएको छ । अवस्था नियन्त्रणमा नआए दिउँसो तीन बजेदेखि कर्फ्यु लगाउन सकिने प्रहरी स्रोतले बताएको छ ।
ठाउँ ठाउँमा टायर बाल्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीले निर्मलाको बलात्कारपछि हत्यामा संग्लन वास्तविक अपराधी पत्ता लगाउनुपर्ने र एसपीमाथि कारबाही हुनु पर्ने माग गर्दै आएका छन् ।
वास्तविक बलात्कारीलाई कारबाही हुनुपर्ने, शान्ती सुरक्षाको ग्यारेण्टी हुनुपर्ने, कञ्चनपुरका एसपीमाथि कारबाही हुनुपर्ने लगायतका माग राखेर प्रदर्शन सुरु भएको हो ।