
धनगढी – प्रहरीको गोली लागेर शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का सन्नी खुनाको ज्यान गएपछि लगाइएको अनिश्चितकालीन कर्फ्यु अझै जारी छ ।
प्रहरी स्रोतका अनुसार कर्फ्यु तत्काल हटाइने छैन । १३ वर्षीय बालिका निर्मला पन्त प्रकरणमा बिहीबार गोली लागेर ८ जना घाइते भएपछि शुक्रबार बिहान ५ बजेसम्म लगाइएको कर्फ्यु स्थिति सामान्य बन्दै गएपछि हटाइएको थियो ।
तर, एक्कासी आन्दोलनले उग्ररुप लिँदा एक बालकसहित अन्य प्रदर्शनकारी घाइते भएपछि जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार बेलुका ८ बजेदेखि अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको थियो ।
प्रशासनले भीमदत्त नगरपालिकाको चार किल्ला तोकेर कर्फ्यू लगाएको छ । पूर्वमा भीमदत्त नगरपालिका–१८ जनज्योति चोक भाँसीदेखि कारागारको पछाडिको नहर हुँदै मदन भण्डरी स्मृति प्रावि पछाडिको नहर चोकसम्म, पश्चिममा भीमदत्त नगरपाकिा–६ त्रिपुरा युवा क्लब वनगाउँको कार्यालयदेखि भीनपा–४ लिङ्गलासैनी उच्च मावि पछाडिको नहरसम्म कर्फ्यु लगाइएको छ ।
यस्तै, उत्तरमा जनज्योति चोक भाँसीदेखि उत्तर नहर हुँदै खैरेनी चोक नहरहुँदै त्रिपुरा युवा क्लबको कार्यालयसम्म र दक्षिणमा भीमदत्त नगरपालिका–१८ मदन भण्डारी स्मृति प्रावि पछाडिको नहर चौकबाट सीप विकास केन्द्र अगाडीको नहर हुँदै निङ्गलासैनी उच्च मावि पछाडिको नहरसम्म कर्फ्यु लगाइएको छ ।
घाइतेको धनगढी र नेपालगञ्जमा उपचार हुँदै

गोली लागेर घाइते चेतन भट्ट सेती अञ्चल अस्पतालमा उपचार गराउँदै ।
निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुक्रबार भएको आन्दोलनमा गोली लागि घाइते भएकाहरुको धनगढीको सेती अञ्चल अस्पताल र नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
चेतन भट्ट, कबिन्द्र सिंह र दामोदर खत्रीको सेतीमा उपचार भइरहेको छ भने सुरेश प्रकाश चटौत र उमेश देउवालाई सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।
सर्वपक्षीय बैठकको तयारी
आन्दोलन चर्कदै गएपछि अनिश्चितकालिन कर्फ्यू लगाएको प्रशासनले सर्वपक्षीय बैठकको तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए ।
‘सर्वपक्षीय बैठकका लागि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लागिरहनुभएको छ’ एसपी कडायतले भने, ‘आन्दोलनको नेतृत्वकर्ता नहुदा को सँग वार्ता गर्ने भन्ने समस्या भइरहेको छ ।
सर्वपक्षीय वार्ताका लागि जिल्लाका राजनीतिक दल, आन्दोलनकारी, पत्रकार, मानवअधिकारकर्मी, महिला अधिकारकर्मीसँग समन्वय भइरहेको प्रशासनले जनाएको छ ।