काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चायत ढलेपछि विद्यालय भर्ना भएकाहरुले आफू र आफ्नो पार्टीसँग लोकतन्त्रको सर्टिफिकेट मागेको देखेर आफू छक्क परेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू र आफ्नो पार्टीले लोकतन्त्रका लागि लामो संघर्ष गरेको उल्लेख गर्दै कसैले सर्टिफिकेट मागीरहन आवश्यक नरहेको स्मरण गराए ।
‘प्रधानमन्त्री यही हो तिम्रो लोकतन्त्र भन्दै भाषण गरेको सुन्छु, कति ले त प्रधानमन्त्री तिमिले सिक्नुपर्छ भनेर पनि भाषण गर्छन, पञ्चायतपछि स्कुल गएका साथीहरुले मेरो पार्टीसँग लोकतन्त्रको सर्टिफिकेट मागेको देख्दा आश्चर्य लाग्छ,’ ओलीले भने, ‘इतिहास हेरौँ, लोकतन्त्र ल्याउन त्यसका डोबहरुमा हामीले बगाएका रगत र पसिनाको तुलना गराैँ तथ्य आफै बोल्छ भन्ने म ठान्छु।’
प्रधानमन्त्री ओलीले आफ्नो जिन्दगी नै लोकतन्त्रका लागि समपर्ण भएको बताउदै तानाशाही नहुने र कसैलाई हुन पनि नदिने बताए । ‘म लोकतान्त्रीक ढंगले नै अगाडि बढ्छु, मेरो पार्टीको नीति पनि त्यही हो ,’ ओलीले भने ‘तानाशाह लाद्न खोज्यो भनेर अफवाह फैलाइएको छ त्यस्तो हुँदैन म र मेरो पार्टी विकासका लागि दृढ छ मुलुकका विकास गर्छु ।’
ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सरकार र पार्टीको पहिले जस्तो थियो अहिले पनि त्यस्तै रहेको बताए ।
‘केही साथीहरुले ओलीको उग्र राष्ट्रवादको कारुणीक विर्सजन भयो भन्न थालेका छन् तर म फेरि पनि भन्छु यो सरकार र हाम्रो पार्टी छिमेकी मामिलामा पहिले जहाँ थियो अहिले पनि त्यही छ, एउटा सार्वभौम मुलुक जहाँ हुनुपर्छ हामी त्यही छौँ,’ ओलीले भने, ‘कसैप्रति नढल्कीनुलाई विर्सजन भन्न खोजीएको हो भने शब्द मिलेन । साथीहरुले सच्चाउनुपर्यो ।’
आरोप लगाउनेहरुलाई इतिहासले जवाफ दिने बताउदै उनले छिमेमीसँग भएका सम्झौता तिब्र कार्यान्नयन भइरहेको बताए । प्रधानमन्त्री ओलीले सरकारले ६ महिनामा गर्न सक्ने सबै काम गरेको र संघीयताको जग बसाल्न स्तम्भ तयार पारेको बताए ।
कांग्रेस नेताहरुले सरकार ‘जस्ट पास’ मात्रै भएको भनेर गरेको टिप्पणी आफूले सकारात्मक रुपमा लिएको उनले बताए ।
‘केही साथीहरुले सरकार ‘जस्ट पास’ मात्रै भयो भनेका छन् तर यहाँ सरकारले टेष्ट दिएको होइन, काम गरेको हो । मैले कुनै पार्टीमा गएर ‘जष्ट पास’ भएको सर्टिफिकेट बुझाउन आवश्यक छैन् तर खुसी लाग्छ ‘जष्ट पास’ त भैएछ ।’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले कर आतंक मच्चाइयो भनेर केही समूह सरकारका विरुद्ध लागेको बताए ।
‘दुई तिहाईको दम्भ भन्ने गरिएको छ, मलाई त झन केपी ओली होइन कर प्रसाद ओली भनेर प्रचारको अफवाह चलाइएको छ, करको विषय लोकतन्त्रका विरुद्ध प्रयोग गर्ने हतियार बनाइएको छ,’ ओलीले भने ‘म करको विषयमा एउटा सार्थक बहस सुरु होस भन्ने आग्रह गर्न चाहन्छु र जवाफ चाहन्छु कर लगाउन पाइदैन भनेर कुन अर्थशास्त्रमा लेखिएको छ ?’