मोहनपुरगाउँका विद्यार्थीको पीडा

‘घरबाट विद्यालय पुग्‍ने चिन्ता, छुट्टीपछि फर्किने चिन्ता’

‘घरबाट विद्यालय पुग्‍ने चिन्ता, छुट्टीपछि फर्किने चिन्ता’
+
-

कैलालीको कैलारी गाउँपालिका–३, मोहनपुर गाउँ। हुलाकी सडकबाट करिब ३ किलोमिटरको दूरीमा भारतसँग जोडिएको छ। करीब ९० घर परिवारको बसोबास छ मोहनपुरमा। जब वर्षायाम सुरु हुन्छ तब यहाँका बासिन्दामा त्रास फैलिन्छ। उनीहरुको मनमा  यही बाढीको बेगले सताइरहन्छ प्रत्‍येक क्षण। डुंगाले जोडेको नदी पारीको मोहनपुर गाउँ र त्‍यहाँका  बासीहरु थुप्रै पीडा भोग्न बाध्‍य छन्।

विद्यालय जान दैनिक डुंगा चढ्‌नुपर्ने

मोहनपुरकी कल्पना चौधरी ८ मा पढ्छिन्। गाउँमा ६ कक्षाभन्दा माथिल्लो तहमा पढाइ हुने विद्यालय नभएपछि उनी वर्षा याममा हरेक दिन डुङ्गा चढेर मोहना नदी पारी रहेको आई गाउँको जनता माविमा अध्ययनका लागि जान्छिन्।

उनलाई हरेक दिन बिहान एउटै चिन्ता हुन्छ, आज विद्यालय पुगिन्छ कि पुगिँदैन। र, विद्यालय पुगेपछि अर्को चिन्ता थपिन्छ छुट्टि भएपछि घर फर्कन सकिन्छ कि सकिँदैन।

कल्पनालाई मात्रै हैन, मोहनपुरका ४० जना विद्यार्थीको एउटै चिन्ता हो यो। विद्यालय कसरी पुग्‍ने र बिदापछि घर कसरी फर्कने ? भारतसँग जोडिएको मोहनपुर गाउँका ४० बालबालिकाहरूले विद्यालय जान हरेक दिन डुङ्गा चढेर नदी पार गर्नुपर्छ। पढ्दै गर्दा नदीमा बाढी बढेपछि डुङ्गा चल्दैन र पारी नै थुनिनुपर्छ। नदीमा ठूलो बाढी आएपछि उनीहरू विद्यालय जान पाउँदैनन्।

यस्तै कक्षा १० मा अध्ययनरत पवित्रा चौधरीको मनमा पनि पढाईभन्दा धेरै चिन्ता हिडेर जाने बोटोको हुन्छ। उनी जाने स्कुलको बाटो ज्‍यान नदी किनारमा राखेर हिड्‍नु पर्ने हुन्छ प्रत्‍येक दिन। पवित्रा भन्छिन्, ‘स्कुल जान साह्रै दु:ख छ। घरबाट जाँदा कसरी स्कुल पुग्ने चिन्ता हुन्छ। स्कुलबाट फर्किदा कसरी घर पुग्ने चिन्ता हुन्छ। मेरो मात्र होइन हामी नदी तर्ने सबैको मन पिरोलिरहन्छ। ’

सधैं स्कूल ढिला पुगिन्छ, परीक्षा पनि छुट्छ

‘नदीमा ठूलो बाढी आएपछि डुङ्गा चल्दैन। परीक्षा नै भए पनि हामीहरू स्कुल जान पाउँदैनौ।’ कक्षा ७ मा अध्ययनरत निर्मला चौधरीले दुखेसो पोखिन, ‘धेरै विद्यार्थीका परीक्षा छुटने भनेको यही नदीको किनारले हो। किनकी भनेको समयमा न त ढुंगा पाइन्छ न त स्कुलमा पुगिन्छ। कहिले डुङ्गाको पालो कुर्दा कुर्दा स्कुलमा ढिला पुगिन्छ। कारण सधैं सरको गाली खानुपर्छ हामीले।’

‘डुंङ्गा चढेर स्कुल जानुपर्ने बाध्यता छ।’ कक्षा ५ पास भएर ६ मा पढ्दै गरेका अनिल चौधरीले भने, ‘डर त लाग्छ डुङगा चढ्न। तर के गर्नु ? पढ्नै पर्‍यो।’

अभिभावक भन्छन्-डरले छोराछोरीलाई बाहिर पढाउँछौं

‘घरबाट स्कुल पठाएपछि घर नफर्किँदासम्म चिन्ता हुन्छ। छोराछोरी राम्रोसँग घर फर्किन्छन् कि फर्किदैनन भनेर।’ सविना चौधरीले भनिन, ‘७ कक्षामा पढ्ने छोरी थिई, नदीकै डरले मामा घर हसुलियामा राखेर पढाइरहेकी छु।’

सविनाले मात्रै हैन, नदीकै डरले मोहनपुरका कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई धनगढी, हसुलिया, फलुवारी लगायतका स्थानमा पढ्न पठाएका छन्।

गाउँ पारी, वडा कार्यालय पनि पारी

कैलारी गाउँपालिका-३ मोहनपुर एउटा टोल मात्रै हो।वडा नम्बर ३, कै आई गाउँ भने नदी पारी छ।वडा कार्यालय पनि नदी पारी छ। जसका कारण उनीहरूलाई वडा कार्यालय पुग्न पनि वर्षा याममा डुङगा नै चढ्नुपर्ने बाध्यता छ।

मोहनपुरका भलमान्सा भागीराम चौधरी भन्छन, ‘ एक त सरकारबाट टाढा छौ हामी। अर्को कुरा सबै चीजको दु:ख छ हामी मोहनपुरवासीलाई। विद्यालय जाँदा डुंगाकै भर, बजार जाँदा डुङ्गाकै भर, वडा कार्यालय जाँदा पनि डुङ्गाकै भर।’

ज्यान नै जोखिममा राखेर यात्रा

गत वर्षको भदौ महिनामा मोहनपुरकी २४ वर्षकी पार्वती चौधरीलाई सुत्केरी व्यथा लाग्यो। उनलाई अस्पताल लिनुपर्ने भयो।तर, रातीको समय भएका कारण डुङ्गा भेटिएन र पार्वतीको अस्पताल पुर्‍याउन नसक्दा अकालमै मृत्यु भयो।

यसअघि पनि कहिले डुङ्गा नहुँदा र कहिले डुङ्गा पल्टेर धेरैले ज्यान गुमाईसकेको बताउछन भलमान्सा चौधरी।हिउँदका महिना स्थानीयहरूले नदीमा काठमो पुल हाल्ने गरे पनि वर्षा सुरु भएसँगै नदीमा पानी बढ्छ र पुल बगाएर लग्छ। त्यसपछि मोहनपुरवासिले जोखिमपूर्ण डुङ्गाको यात्रा गर्नुपर्ने बाध्यताका दिन सुरु हुन्छन्।

बाढी आए भारतीय जंगलमा बास

मोहना नदी किनारामा रहेको मोहनपुर गाउँमा हरेक वर्ष बाढी पस्छ। घरभित्र पुरै पानी पस्छ। बस्न सकिँदैन। मोहना नदीमा ठूला पानी भएपछि डुंगा चल्दैन।त्यहाँ न उद्धारका लागि सुरक्षाकर्मी पुग्न सक्छ न कुनै राहत।

त्यसपछि उनीहरूको बास हुन्छ भारतको चन्दन चौकी नजिकैको जंगलमा।भोकै बास बस्नुपर्ने बाध्यता उनीहरूको हुन्छ।गाउँ नै नदी कटानको जोखिममा छ।

नुनदेखि सुनसम्म भारतकै भर

नेपाली बजार आउन डुङ्गा चढ्नुपर्ने बाध्यतामा रहेका मोहनपुलवासिका लागि भारतको चन्दन चौकी स्थानीय बजार जस्तै छ।त्यसैले उनीहरू नुनदेखि सुनका लागि भारतीय बजार चन्दनचाकी प्रयोग गर्दछन्।

डुंगा आफ्नै तर पालै-पालो चलाउनुपर्ने बाध्‍यता

मोहना नदीमा डुङ्गा चलाउने ठेक्का लिएका एक व्यक्तिले घरायसी कारण देखाउँदै यस वर्ष डुङ्गा चलाएनन्। त्यसपछि गाउलेहरुले आफै डुङ्गा बनाए र चलाउन थाले। वडा नम्बर ३ का बासिन्दालाई भने डुङ्गा चढन् पैसा पर्दैन।

अन्य गाउँमा मानिहरुबाट मात्रै डुङ्गा चढेको पैसा लिइन्छ।त्यसबाट उठेको रकम जम्मा गर्नका लागि सुन्दर समुदाय विपत् जोखिम व्यवस्थापन नाम समूह स्थापना गरेर हालसम्म करीब ४ लाख रुपैयाँ जम्मा गरिएको छ। उक्त रकम कुनै मानिसलाई गाउँमा समस्या पर्दा सहयोग दिइने गरिएको भलमान्सा चौधरीले जानकारी दिए।

डुङ्गा चालकलाई कुनै पैसा दिइएको छैन।डुङ्गा चलाउन पालो राखिएको छ। चार जनाका चार समूह बनाइएका छन्। उनीहरूले पालै पालो डुङ्गा चलाउने गरेका छन्। डुङ्गाले जोडेको नदी पारिको मोहनपुर गाउँमा डुङ्गो पीडा मात्रै दिएको छैन, आर्थिक सहयोग समेत गरेको छ।

मोहनपुरवासीको गुनासो-‘चुनावमा पुल बनाउने नारा, जितेपछि फर्केर नआउने पारा’

विगतदेखि आश्‍वासन बाड्दै आएका नेताहरुले गतवर्ष सम्पन्न स्थानीय तहको चुनावदेखि प्रदेश र संघको चुनावमा समेत नदीमा पुल हाल्ने चुनावी नारा नघन्काएका हैनन।तर, चुनाव जितिसकेपछि ‘पुलका’ अर्थात पुल बनाउनका लागि पहल गर्नु त के गाउँमै नआएको गुनासो गर्छन ६५ वर्षका दुखीराम चौधरी।

‘गाउँमा ५ कक्षासम्म पढाई हुने विद्यालय मात्रै छ। नदीमा पुल छैन।’ उनले दुखेसो पोखे, ‘चुनावका बेला सबै माग पूरा गर्ने आश्‍वासन बाड्छन, चुनाव जितेपछि भने गाउँ फर्किदैनन।विद्यार्थी कम भएको भन्दै १० कक्षासम्म पढाई हुने विद्यालय खोल्न सकिदैन भन्छन।बस्ती कम भएकोले पुल हाल्न सकिदैन भन्छन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?