
नेपालका सहरहरुका बाटोघाटो अझै पनि हिँडी साध्य रहेनछन्। धुलो, हिलोमैलो या अत्याधिक सवारी साधन वा मानिसहरुको भिडले भन्दा पनि ती सडकहरुमा छाडा हिँड्ने पुरुषहरुका कारणले।
राजधानीको ‘टुरिस्ट हब’ ठमेल होस् या वसन्तपुर, रत्नपार्क होस् या पुरानो बसपार्क, बालाजू-सोह्रखुट्टे-लैनचौर-जमल-सुन्धारा हुँदै जाने माइक्रोहरु हुन् या बसहरु, चालक हुन् या खलासी र कति त यात्रुहरु (विशेष त ‘पुरूष’), “महिला” देखेपछि अनावश्यक प्रश्न गर्ने, अभद्र टिकाटिप्पणी गर्ने र केही सिप नलागे मुख छोड्दै गाडी चलाउनेहरुलाई सधैँ झेल्दै आएँ।
घरबाट बाहिर निस्केपछि पाइलैपिच्छे अपमानित र अपहेलित शायद ममात्रै हैन, अरु मजस्तै कयौं दिदीबहिनीहरु हुनुहुन्छ होला तर हामी यी समस्या लिएर कहाँ जाने? हाम्रा यी समस्यामाथि सुनुवाइ कसले गर्ने?
केटी मान्छे देखेपछि सडक-गल्ली-चोकमा सुसेली हाल्ने, गीत गाएजस्तो गर्ने, केही न केही अभद्र व्यवहार गर्ने, सार्वजनिक यातायातमा हुने मानसिक/शारीरिक/यौन दुर्व्यवहारहरु सामान्य कार्यहरु हुन्, हाम्रो सहरिया समाजलाई?
काठमाडौँमा मात्र होइन हामीले अभद्रता व्यहोरेको। केही दिनअघि पोखरामा पनि त्यस्तै दुर्व्यवहार भोग्नुपर्यो।
लेकसाइड, पोखराबाट पराजुली मार्गको ‘रोलिङ क्याफे’ जाँदै थियौँ हामी। सडकमा सवारी साधनहरुको चाप त त्यति थिएन तर पनि हामीले ‘जेब्रा क्रसिङ’ बाट बाटो काट्ने निर्णय लियौं। जेब्रा क्रसिङमा ४-५ मात्र पाइला के चालेका थियौं, करिब सय मिटर पर बाट एउटा गाडी (पुरानो मारुती) हुइँकिँदै आएको मैले देखेँ।
मैले अरु दुई मेरा बहिनीहरुलाई रोकिन लगाएँ र हामी तीन जना लगभग बीच सडकमा उभियौं। हामी उभिएको देखे पनि त्यस चालकले गाडी रोक्न त परै जावोस्, गति समेत कम गरेनन्। मलाई डर पनि लाग्यो र रिस पनि उठ्यो त्यसैले हाम्रो छेउमा आइपुग्दा मैले त्यस गाडी चालकलाई ठूलो आवाजमा भनेँ, ‘यो जेब्रा क्रसिङ हो, हजुरले कमसेकम गति त कम गर्नुपर्छ।’
तैपनि ती गाडी चालकले हाम्रो करिब २-३ इन्च छेउबाटै उही तीब्र गतिमा गाडी लगे। झ्याल खुला भएकोले मैले भनेको कुरा ती चालकले सुने र अलि पर गएर गति कम गर्दै झ्यालबाट टाउको निकाली उनले निकै जंगली शैलीमा मुख छाडे। ज्यानलाई त केही भएन त्यस दिन तर मन भने भारी भइरहयो। आफ्नै गल्तीझैं लाग्यो, लाग्यो सचेत र सभ्य हुनु मेरो गल्ती थियो, पाप र अपराध थियो। गाली यति तुच्छ थियो कि कानहरु त्यस साँझ र रात पुरै बन्द भएझैं अनुभव भयो। यो त एक बिहीनीको कुरो हो…. र एक महिलाको। सोचौँ कति दृष्टिहरु, आफ्नै देशका शहरिया सडकहरुमा अपमानित हुन्छन् होला हरेक दिन, हरेक क्षण?
(डा. दृष्टि थापा बालरोग विशेषज्ञ हुन्। उनी अमेरिकाको फिलडेल्फियामा फेलोसिप गर्दैछिन्।)