
धनगढी – जिल्ला प्रहरी कार्यालय कैलालीले आफ्नै छोरीको १३ वर्षीया साथीलाई बलात्कार गर्ने अभियुक्तलाई सार्वजनिक गरेको छ। कैलालीको घोडाघोडी नगरपालिका–६ बछुरियामा १३ गतेर बालिकालाई बलात्कार गरेको आरोप लागेका सोही ठाउका हर्कबहादुर कुँवरलाई सोमवार सार्वजनिक गरिएको हो ।
बालिका बलात्कार गरेको आरोप लागेदेखि नै फरार रहेका कुँवरलाई आइतवार साँझ प्रहरीले लम्कीचुहा नगरपालिकामा आफन्तको घरमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको थियो ।
‘घरमा कोही नभएको मौका छोपी राती १० बजेको समयमा आरोपित कुँवर बालिकाको घरमा गएको पाइएको छ ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले भने, ‘दोपट्टाले हात बाधेर मुखमा कपडा कोची बलात्कार गरेको र बालिका बेहोस भएपछि मृत्यु भएको भन्दै छोडेको देखिएको छ ।’
घोडाघोडी नगरपालिका ६ की १३ वर्षीया बालिका आफ्नै सहपाठीका बुवा (नाताले फुपुका छोरा) बाट बलात्कृत भएकी हुन् । बालिकाका आमाबुवा पहाड (अछाम) मा भएका बेला उनीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।
आमाबुवा पहाड र सुस्त मनस्थितिका बाजे मात्रै घरमा भएको मौका छोपी बलात्कार भएको प्रहरी उपरीक्षक घिमिरेले बताए । पक्राउ परेका कुँवरलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ ’ख’ बमोजिम १४ वर्षदेखि १६ वर्षसम्म कैद र दफा २२८ बमोजिम क्षतिपूर्तिको सजाय हुने प्रहरी उपरीक्षक घिमिरेले बताए ।