कसैले छोडेर गएका निशानीको माया औधी हुन्छ, यस्तै भनिसाध्य नहुने मायाका लहरहरु बनेर बसेका छन् दुर्गा खरेलका लागि गोपाल योञ्जनका सिर्जनाहरु।
जमिनमा कोरिएको ‘सिमाना’ रुपी धर्साले दुर्गा खरेल पारीका हुन्, अर्थात दार्जिलिङका। तर उनी बाँचेको माटोको सुगन्ध र त्यसमा फूलेको संगीत भने नेपाली छ र यसको स्वाद र सुवास दुवै प्यारो।
साँध–सिमानभन्दा माथि उठेर माटो अनि आफ्नोपनको भावनाले मात्रै पनि पगाल्छ मन अनि निस्कन्छन् सुन्दर गीत–संगीत बनेर।
विशेषगरी नेपाली सुगम संगीतमा पारी (दार्जिलिङ) को भूमिका अकाट्य छ पहिले पनि र अहिले पनि। यहि भएर भन्ने गरिन्थ्यो सायद ‘दार्जिलिङका कलाकारलाई कि नेपालले लान्छ, कि रक्सीले खान्छ।’
हुन पनि धेरै राम्रा कलाकार यता आए अनि रमाए यतैका भए। अनि केहीलाई राम्रो सिर्जनाको कला त दियो र रक्सीको लतले चाँडै बिदा गरायो।
तर दुर्गा खरेललाई भने यी दुवैको प्रभाव परेको छैन। उनी दार्जिलिङ्गमै जन्मिए, त्यहिँको माटोमा खेलीहुर्की बढे। अनि रमाए उतैतिर। उनले उतै बसेर काम गरिरहे, नेपाली संगीतलाई सेवा दिइरहे।

दुर्गा खरेल।
उनी नेपाली हुन्, दार्जिलिङका। उनको नेपालसँगको माया संस्कृति र संगीतको छ। अनि आफ्ना गुरु गोपाल योञ्जनसँगको सम्झना उताबाट यता बसाइँ सरेको छ। सीमाले छुट्याए पनि उताको र यताको माटोको गन्धमा फरक भेट्दैनन्। अनि संगीतमा थाहै नहुने गरी मिलाउँछन् दुई परिवेशका कथाहरु।
यो कला दुर्गा र उनका जादु बद्रीले गोपाल योञ्जनबाट सिकेका हुन्।
…

दुर्गा खरेल।
केही समयअघि दुर्गा खरेल काठमाडौँ आएका बेला भेट भएको थियो। उताबाट बोकेर आउको भारी बिसाउँदा बिसाउँदै पनि न उनको अनुहारमा थकान थियो न मनमा आलस्य। नेपाली माटोमा टेकिँदाको उत्साह मात्रै देखिन्थ्यो।
उनी आफ्ना गुरु गोपाल योञ्जनको नाममा दिइन लागेको सम्मान ग्रहणका लागि आएका थिए। यसैले हुनुपर्छ यो यात्रा उनका लागि थप भावनात्मक थियो।
उनी नेपाली हुन्, दार्जिलिङका। उनको नेपालसँगको माया संस्कृति र संगीतको छ। अनि आफ्ना गुरु गोपाल योञ्जनसँगको सम्झना उताबाट यता बसाइँ सरेको छ। सीमाले छुट्याए पनि उताको र यताको माटोको गन्धमा फरक भेट्दैनन्। अनि संगीतमा थाहै नहुने गरी मिलाउँछन् दुई परिवेशका कथाहरु।
दार्जिलिङको कलामन्दिरमा गोपाल योञ्जनले सिर्जिएका गीत–संगीतका साक्षी बने र उनकै छत्रछायामा सांगीतिक गुण सिके दुर्गा र उनका दाजु बद्रीले।
जीवनमा आफूले पाएका वा कमाएका सबथोक भन्दा महत्वपूर्ण आफ्ना गुरुको नाममा स्थापित पुरस्कार पाउनु रहेको बताएका दुर्गाले गोपाल योजञ्नको गीत सम्झिए माटोसँग जोडिएको,
‘ईश्वरको घर आकाशलाई म हात जोड्ने छैन
कविको जुन–ताराको गुनगान गाउने छैन
यो गोरेटो यो बाटो, यो सुन जस्तो माटो
इस्तुति गर्छु यसकै कुनै शिलाको साटो ।।’
ललितपुर झम्सिखेलमा झोला बिसाएको आश्रयस्थलमा दुर्गाले यो गीत सरसर्ती भाका नहाली सुनाए। त्यसपछि फेरि भाका हालेर गाए।
‘गोपाल दाजुमा माटोको सारो माया थियो, उहाँका धेरै सिर्जनामा कुनै कुनै रुपमा माटोको गन्ध मिसिएको हुन्छ, माटोकै पूजा गर्ने हुन् गोपाल दाजु’ गीतको दुई टुक्का सुनाएपछि दुर्गाले आफ्ना गुरुलाई सम्झिँदै भनेका थिए।
गोपालको गुण उनमा पनि सरेको छ । दुर्गालाई पनि माटोको माया असाध्यै छ । उनले सुनाए ‘चियाका बगानहरु छन्, त्यसमा पनि गीत बनेका छन् । हिँडेन बाटो, उक्लिएका उकालाहरु सबैमा हामीले गीत भेटेका छौँ ।’
…

दुर्गा खरेल।
दुर्गाले कलामन्दिरबाटै संगीतको यात्रा सुरु गरे। त्यही जवान हुँदै गरेका गोपाल योञ्जन र साथीहरुसँगै भर्खर बालवयबाट निस्कन खोज्दै गरेका दुर्गाहरुले गीतलाई चिन्दै गए।
हुन त धेरै राम्रा गीत छन्, तर दुर्गा खरेलको नामसँग जोडिएर आउने गीत हो, बोलाउँ भने तिमीलाई बात लाग्ने डर। यो गीत कुरा उप्काउँदा उनले आफ्नो वैँसालु जोबन सम्झिए अनि आफूले सबैकुरा आफ्नी प्रियसीसँग खोलेको दाबी पनि गरे।
उनीहरुले गीत बनाएनन् मात्रै, त्यसमै बाँचे उनकै भनाइमा। ‘हामी गीतमै हुर्कियौँ, गीतमै जवान भयौँ, आँखा तर्यौँ, माया गर्यौँ, बिछोडको पीडा पनि गीतमै भोग्यौँ। खासमा भन्दा जीवन नै गीतका बाँचियो र बाँचिरहेका छौँ।’
दुर्गाले कुरा गोपाल योञ्जनको को नाम बारम्बार लिइरहे, अनि हामी भनिरहे। त्यो हामीको अर्थ दाजु बद्री र आफू थियो। उनीहरुले बद्री दुर्गा खरेलको रुपमा संगीत भरेका छन्। प्रायले नाम लिँदा दुवैलाई बद्री दुर्गा नै भनेर बोलाउँछन्। उनी भन्छन्, ‘हामी भिन्न भएर पनि एक छौँ।’
बद्री दुर्गाले बनाएका गीतमा गोपालको बान्की परेपछि के चाहियो। दुर्गाले सम्झना गरे, ‘हाम्रा हरेक गीतमा गोपाल दाजुको निशानी छ, उताबाट (दार्जिलिङ) गीतको पोको पारेर ल्याउँथ्यौँ, फुकाउन दकस लाग्ने, गोपाल दाजुले नै ल्याओ गीतहरु भन्नुहुन्थ्यो अनि हामी दिन्थ्यौँ, रेकर्ड गरेर जान्थ्यौँ । उहाँले निकै राम्रो पारिदिनुहुन्थ्यो।’
शुभकामना खाली खाली, तिम्रै लागि मैले यहाँ मन मन्दिर बनाई सकेँ, आउ बस नजिकमा, सबै सोध्छन् तेरो खबर, हिमालको चोखो हावामा, बान्की परेको सहितका धेरै गीतहरुमा गोपाल योञ्जनले नै बनाइदिएका हुन्।
…
हुन त धेरै राम्रा गीत छन्, तर दुर्गा खरेलको नामसँग जोडिएर आउने गीत हो, बोलाउँ भने तिमीलाई बात लाग्ने डर। यो गीत कुरा उप्काउँदा उनले आफ्नो वैँसालु जोबन सम्झिए अनि आफूले सबैकुरा आफ्नी प्रियसीसँग खोलेको दाबी पनि गरे।
यो गीतको कुरा हुनु भन्दा अघि उनले दार्जिलिङ र त्यहाँका नेपालीसँग जोडिएको आफ्नो गीत सम्झिएका थिए,
‘हुरी नै चल्यो सबैले भन्थे आफ्नो घर बन्छ रे,
पराई हातमा बन्धकी आमा स्वतन्त्र हुन्छ रे
आँखाको आँसु पुछेर पर्खेर बसेँ त्यो दिनको आशमा
रगत सुकाई प्राण नै भरेँ यो बढी सासमा
बुढेसकालको एउटै छोरा युद्धमा होमेर
रोइन म त बगाई आँसु लाज हुन्छ भनेर…’
गीतको यो अंश सुनाइसक्दा सायद उनका आँखामा त्यही लाज लाग्ने आँसु आएको थियो। गला अवरुद्ध भयो, एकछिन अडिए अनि पूरा गरे,
‘एक युग बित्यो लागेन हाम्रो आङ्गमा न्यानो घाम
बेच्नेले माटो बेचेर खायो पाएनौँ रगतको दाम
सपुत कुनै आएर माटो फर्काउँछ भनेर
बाँचिरहेछु यो उमेरसम्म सपना साँचेर…’
दुर्गाले यो गीत दार्जिलिङ र त्यहाँका नेपालीको सजीव पीडालाई एउटी आमाको आँखाबाट नियालेर बनाएका हुन्। गीतका कुरा गर्दागर्दै उनको मन माटोमा गएर अडियो। अनि भने, ‘यो माटो र त्यो माटोमा केही भिन्नता छैन, गन्ध उस्तै छ, फल्ने हरेक अन्न उस्तै र जीवन पनि उस्तै छ, मात्रै केही बन्धकी सपनाहरु छन् हाम्रा।’