
काठमाडाै- एनआइसी एसिया बैंकले भदौ २१ गतेदेखि विक्री खुला गरेको ऋणपत्रमा अधिक आवेदन परेको छ । वार्षिक ११ प्रतिशत व्याजदर दिनेगरी बैंकले ऋणपत्रमा आवेदन माग गरेको हो।
१ अर्ब ८३ करोड रुपैयाँ बराबरको ‘ऋणपत्र २०८२र८३’ मा प्रति व्यक्तिगत तथा संस्थागत लगानिकर्ताहरुबाट उत्साहजनक सहभागिता देखिएको बैंकले जनाएको छ।
प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा १८ लाख ३० हजार कित्ता अर्थात १ अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र निश्कासन गरिएको थियो। जसमा १ अर्ब ४६ करोड ४० लाख रुपैयाँको ऋणपत्र व्यक्तिगत तवरबाट खुला गरिएको थियो।
बुधबारसम्ममा यसमा करिब २ अर्ब १६ करोडको आवेदन प्राप्त भएको बैंकले जनाएको छ। जुन माग गरिएको भन्दा ४८ प्रतिशतले बढी हो।त्यस्तै ३६ करोड ६० लाख रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि विक्री खुला गरिएकोमा बुधबारसम्म करीब ४४ करोड रुपैयाँको आवेदन प्राप्त भएको छ। जुन माग गरिएको भन्दा २० प्रतिशतले बढी हो।
दुवै तर्फ गरी करिब २ अर्ब ६० करोड रुपैयाँको आवेदन प्राप्त भएको छ। ७ वर्षको अवधिमा परिपक्व यो ऋणपत्र परिपक्व हुन्छ। इक्रा नेपालले यसलाई ‘ए’ माइनसको मान्यता दिएको छ। यो ऋणपत्र दोस्रो बजारमा खरीद विक्रीको लागि सूचिकृत हुनेछ। त्यस्तै लगानीकर्ताले चाहेको बेला यसलाई धितो राखेर अन्य बैंकहरुबाट ऋण निकाल्न सक्नेछन्।
नेपालको पूँजीबजारमा हाल बैकिङ्ग क्षेत्र, बिमा क्षेत्र, जलविद्युत क्षेत्र तथा केही उत्पादनशिल क्षेत्रका शेयरको कारोबारकोे उपस्थिति उल्लेखनीय रहे पनि ऋणपत्रको कारोबार भने नगन्य अवस्थामा छ। यसले पुँजीबजारलाई समेत चलायमान बनाउन मद्दत पुग्नेछ।
बैंकका देशभर २४४ शाखा सञ्जाल, २३८ एटिएम, १८ शाखा रहित बैंकिङ्ग तथा १४ एक्सटेन्सन काउन्टर संचालनमा छन्। बैंकबाट १३२ अर्बको कर्जा प्रवाह भएको छ।