धेरै परिचितहरुको मसँग सहज प्रश्न हुने गर्छ। तपाईंको जीवन कसरी चलिरहेको छ? उहाँहरुको आशय अर्थसँग सम्बन्धित हुन्छ। प्रायः सबैलाई विदितै छ, अर्थ उर्पाजन हेतु म नियमित कुनै प्रकारको चेष्टा गर्दिनँ।
उहाँहरुको सहज प्रश्नको मसँग झनै सहज जवाफ हुन्छ, ‘तपाईंहरु सोझै आयआर्जनमा ऊर्जा र ऊष्मा (हुन त ऊष्मा पनि ऊर्जा नै हो) व्यय गर्नुहुन्छ म भने आफूबाट हुने समस्त खाले व्यय मित्र बटुल्नमा प्रवाहित गर्छु।’
यस संसारमा जो मित्रको धनी छ, उसलाई आर्थिक अभावको के फिक्री! मेरा समस्त आर्थिक आवश्यकता मित्रवर्गबाट पूर्ति हुँदै आएका छन्। मसँग मित्र बनाउने कला, समर्पण र संस्कार छ।
मेरा सबैभन्दा नवीन मित्र डा. सरोज ज्ञवाली हुन्। उनी र म ‘फ्युचरोलोजी’ (सिस्टमेटिक फोरकास्टिङ अफ फ्युचर, स्पेसियली फ्रम प्रेजेन्ट ट्रेन्ड्स् अफ साइन्स् एण्ड टेक्नोलजी) मा गफिन अतीव अग्रसर हुन्छौं।
हामी प्रायः सन् २०३५–०४० देखि विश्वमा विज्ञान प्रविधिले ल्याउने युगान्तकारी परिवर्तन र समृद्धिबारे चियाचर्चा र चियोचर्चा गर्नमै आफ्नो उपयोगिता एवं सान्दर्भिकता महसुस गर्छौं।
हाम्रो दृष्टिमा, ‘हामीले अहिले वर्तमानमा बाँचिरहको वैश्विक परिवेश र २० वर्षको समयान्तरालपछिको विश्वमा यति धेरै परिवर्तन हुनेछ, जसले पुरानो पुस्ताकोे जीवन निकै सकसपूर्ण बनाइदिनेछ।’
भर्खरैको भेटमा हामीबीच ‘अमरता’ (मन वाञ्छित लामो जीवन) बारे चर्चा चल्यो। के यो सम्भव छ?
आज यसैबारे (हामी दुई बीचको वार्तालाप) केही अक्षरहरुको “शब्दहार” उन्ने प्रयत्नमा एकाग्र बनेको छु, यस विश्वासका साथ ‘आउने १००– १५० वर्षमा’ यो ‘शब्दहार’ जनजनको कण्ठ सुशोभित भई मृत्युलाई ‘पराजयको हार’ पहिराइ बिदा गर्न सक्षम बन्ने छ।
वैज्ञानिकहरुले भूमध्य सागरमापाइने एउटा जीव ‘जेलीफिस’बारे अध्ययन गर्ने क्रममा सर्वथा अनौठो र विस्मयकारी तथ्य हात पारे, त्यो हो, ‘जेलीफिस’ ले आफ्नो जीवनकालमा पुनःनयाँ जीवन प्रारम्भ गर्न सक्छ।
तपाईंलाई विस्मयबोध भएन? ओह, हुन सक्छ मेरो भाषागत सामर्थ्यहीनताले मेरोआशय स्पष्ट पार्न सकेन। पुनःप्रयास गर्छु।
भूमध्य सागरमा जीवन निर्वाह गर्ने एक जीव ‘जेलीफिस’ छ, जसलाई विज्ञानको भाषामा ‘टुर्रीटोप्सिस डोहर्नी’ नामले चिनिन्छ। यस ‘डोहर्नी’ सँग अमरताको रसायन छ। हो, तपाईंले ठीक पढ्नुभयो, ‘डोहर्नी’ सँग अमर हुने ‘एल्केमी’ छ।
वैज्ञानिकहरुका अनुसार ‘जेलिफिस’सँग यस्तो क्षमता विद्यमान छ, यसले चाहेको बेला आफ्ना कोशिकालाई रुपान्तरित गर्न सक्छ र पुनःयुवावस्थामा फर्किन सक्छ। सोझो र स्पष्ट शब्दमा बुझ्नुस्, म फेरि पनि दोहोर्याउँछु, ‘जेलीफिस आफ्नो उमेरको कुनै पनि सोपानबाट आफ्नो आकार प्रकार परिवर्तन गरी वृद्धावस्थाबाट तन्नेरी वा शैशवावस्थामा फर्किन सक्छ।
निश्चय पनि तपाईंभित्र ‘यस्तो आफू पनि हुनसक्ने’ कामना जागृत भयो होला।
भर्खरै कमलप्रसाद कोइरालाको मर्मस्पर्शी ‘स्टाटस’ पढ्न पाएँ, ‘म ८१ वर्षको वयसन्धिबाट गुज्रिरहेको छु।’ मेरा ‘मनस सन्दीपनी’ डा. दुर्गाप्रसाद भण्डारी वृद्धावस्था र तत्सम्बन्धी विकारले अशक्त बनेको, नम्रता र सौम्यताको साक्षात् प्रतिमूर्ति श्री लोकेन्द्रबहादुर चन्दज्यूमा उमेरकै प्रभावले ‘सक्रियता ह्रास’आएको आदि यस्ता घटनाले मलाई ‘विज्ञानको प्रगतिप्रति’ क्षोभ र विषादको भावले आपुरित गर्छ।
आधुनिकभन्दा अत्याधुनिक रसायनिक, आणविक आयुधको विकास र प्रवर्धनमा अरबौ डलर खन्याउने चन्द्र, मंगल, सूर्यलगायत यावतका पिण्ड अध्ययन हेतु अरबौं डलर विनियोजन गर्ने समृद्ध राष्ट्रका कर्णधार हो !! आफ्नो राष्ट्र एक वर्षको रक्षा बजेट मात्र ‘मेडिकल साइन्सलाई उपलब्ध गराए सरोज र मैले कल्पना गरेको ‘अमरत्व’को दिन १५०–२०० वर्षभन्दा टाढा रहँदैन।
‘टाइम ट्राभल’गरेर ‘यो’शताब्दीयौं पहिला हामीलाई हासिल हुनसक्छ!
‘डोहर्नी’ ले यो वास्तविकतामा गर्ने सामर्थ्य बोकेको छ। वैज्ञानिकहरुका अनुसार यो प्रक्रिया आरम्भ हुँदा ‘जेलीफिस’का ‘बेल’ र ‘टेटिंकल्स्’ परिवर्तित भएर ‘पालिप’ हुन पुग्छन्। यस प्रक्रियालाई ‘सेलुलर ट्रान्स्डिफरेसिएसन’ भनिन्छ। यस अन्तर्गत पुराना कोशिकाहरु सोझै एक आकारबाट अर्को आकारमा ढली नयाँ शरीर धारण गर्छन्। र, जेलिफिसले जीवनमा यो प्रक्रिया एक पटकमात्र होइन, बारम्बार गर्न सक्छ।
इटालीको सेलेन्टो विश्वविद्यालयको प्रोफेसर स्टेफेनो पिराइनोले ‘फिनिक्स्’ नामक परियोजना सुरु गरेका छन्। उनले जेलीफिसको डिएनएको सानो भागलाई ‘सिक्वेन्स्’गर्ने कार्य गरेका छन्। अब उनको प्रयास ‘डोहर्नी’ का कोशिकाहरुको आपसी संवाद बुझ्ने दिशामा लक्षित भएको छ।
प्रो.पिराइनोका अनुसार जेलीफिसभित्र निहीत यस अचम्मको शक्तिबारे सम्पूर्ण ज्ञान उसको पूरा ‘जिनोम्’ नबुझेसम्म सत्यापित हुन सक्दैन।
‘डोहर्नी’ बाहेक जेलीफिसका अन्य प्रजातिमा पनि यो क्षमता रहेको थाहा भएको छ। त्यसमा एउटा ‘आरेलिया एसपी–१’ रहेको छ।
आधुनिक विज्ञान भन्छ, ‘मानिसभित्र पनि प्रतिपल कोशिका जन्मिने र मर्ने प्रक्रिया चलिरहन्छ। झण्डै सात वर्षको अवधिमा मानिसका समस्त कोशिका नयाँ भइरहेका हुन्छन्।
जेलीफिसभित्र यस्तो के प्रक्रिया हुन्छ जसले गर्दा ऊ बारम्बार पुनर्जीवन धारण गर्न सक्छ, अझै विज्ञानको पहुँच र पकडबाट टाढा छ। एक पटक जेलीफिसको समस्त ‘जिनोम्’ ‘डिकोड’ भएपछि यो रहस्य छर्लङ्ग हुनेछ। र, मान्नुस, यो रहस्य जटिल होइन, अत्यन्त सहज र सरल हुनेछ; जस्तोः उदाहरणका लागि एउटा खास किसिमको प्रोटिनले जेलीफिसमा यो चमात्कारिक क्षमता निहीत छ।
जेलीफिस मात्र होइन, एउटा अर्को जीव ‘सालामेन्डर’ मा पनि आफ्नो जीवनलाई पुनःनवीन गर्नसक्ने क्षमता रहेको पाइएको छ। यहाँ पनि यो जीवनको यो प्रक्रिया कसरी सञ्चालित गर्छ? यो पनि विज्ञानको संज्ञानमा आउन सकेको छैन।
लन्डनका एक जना महिला डाक्टर मैक्सिमिना युन ‘सालामैन्डर’ को ‘ब्लास्टिमस’अध्ययन गरिरहेकी छन्। ब्लास्टिमसलाई हामी कोशिकाको झुप्पा भनी बुझ्न सक्छौं।
डा. युन भन्नुहुन्छ, ‘हामी सालामैन्डरको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) बारे बुझ्न खोजिरहेका छौं। अहिलेसम्मको मान्यताअनुसार ‘इम्युन सिस्टम सेल्स् माइक्रोफेगस्’ नै ‘जीवनमा पुनःनवजीवन’प्राप्त गर्ने कार्यमा अवरोधक छ। डा. युनका अनुसार हाम्रो यो मान्यता पुरै गलत हुन सक्छ। ‘माइक्रोफेगस्’ नै पुनर्जीवनको प्रमुख घटक हुनसक्छ।
डा. युनकै शब्दमा ‘विज्ञान विस्तारै काल्पनिक विज्ञानको दिशातर्फ उन्मुख हुँदै गइरहेको छ।’

ज्ञानमित्र।
वैज्ञानिकहरु प्रयोगशालामा मानव ‘डीएनए’माथि अनुसन्धानरत छन्। सीआरआइएसपीआर संक्षेपमा ‘क्रिस्पर’ (CRISPR=Cluster of Regularly Interspaced short Palindromic Repeat) ‘डीएनए’ सम्पादन गर्ने प्रविधिमा निरन्तर विकास हुँदै गइरहेको छ।
पोर्टल्याण्डस्थित ओरेगन हेल्थ साइन्सेज युनिभर्सिटीका वैज्ञानिक शोकरत मितालीपोभले अनेकौं मानव भ्रुणमा आनुवंशिक उत्परिवर्तन गर्ने सफलता पाएका छन्। यस प्रविधिले भविष्यमा कल्पना नगरेका कार्य गर्ने छ।
विज्ञान मानिसलाई रोगमुक्त, चिरयौवन सम्पन्न बनाउने दिशामा निरन्तर क्रियाशील छ।
मेरा समयका कमलदा’, डा. भण्डारी, लोकेन्द्र चन्दज्यू, मदनमणिमाड्सा’पलाई कालको अदृश्य छाँयाले प्रभावहीन बनाउन नसिकए पनि वशिष्ठगोत्रीय यो पंक्तिकारलाई पूर्ण आशा एवं विश्वास छ, भविष्यमा हुने यस्ता दिव्यात्मालाई मानव सभ्यताले कालको (समयको) फेरबाट जोगाइराख्ने कला वा सामर्थ्य विज्ञानले हासिल गर्ने छ।
पुनश्चः भारतीय उपमहाद्वीपमा ‘जय विज्ञान’को उद्घोष गर्ने भारतका पूर्वप्रधानमन्त्री दिवंगत श्री अटलविहारी वाजपेयीप्रति विज्ञानको यस सामान्य अध्येताको सादर नमन।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































