
च्याम्पियन्स लिग फुटबलमा विभिन्न इतिहास आफ्नो नाममा लेखाएका पोर्चुगिज क्रिष्टियानो रोनाल्डोका लागि स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्सटको यात्रा त्यति सहज देखिएको छैन ।
च्याम्पियन्स लिगमा पछिल्ला ६ सिजन सर्वाधिक गोलकर्ता बन्दै आएका र सर्वकालीन सर्वाधिक गोलकर्ता रोनाल्डोले नयाँ क्लब युभेन्टसबाट च्याम्पियन्स लिगको डेब्यु सायद जीवनभर भुल्ने छैनन्।
यो सिजनको च्याम्पियन्स लिग अभियान अन्तर्गत बुधबार राति समूह एच अन्तर्गतको पहिलो खेलका लागि स्पेनिस क्लब भ्यालेन्सियाको मैदान पुगेको रोनाल्डोसहितको युभेन्टस टिम आशको बलियो सञ्चार थियो । तर यो खेलको पहिलो हाफ नै रोनाल्डोका लागि र उनका फ्यान अनि युभेन्टस समर्थकका लागि निकै भयानक बनेर आयो ।
रोनाल्डोले खेलको २९ औँ मिनेटमा सीधै रातो कार्ड पाए र मैदान छोड्न बाध्य भए । रोनाल्डोले च्याम्पियन्स लिगमा कुल १५४ खेल खेलेका छन् र यो पहिलो पटक हो उनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको छ ।
युभेन्टसबाट सिरी ए का सुरुका तीन खेलमा गोल गर्न नसकेका रोनाल्डोले चौथो खेलमा दुई गोल गरे, त्यो पनि च्याम्पियन्स लिगको यो खेल भन्दा केही दिनअघिको खेलमा ।
यसले रोनाल्डो अब लयमा फर्किएको देखियो । तर बुधबारको रात रोनाल्डोका लागि खेल जीवनकै खराब मध्ये एक बनेर आयो । उनले आँसु रोक्न सकेनन् ।
सन् २०१६ को युरोकप फाइनलको क्रममा चोटका कारण खेल्नै नसकेर मैदानबाट बाहिरिने क्रममा रोनाल्डो यसैगरी रोएका थिए । अहिले फेरि युभेन्टसबाट च्याम्पियन्स लिगको डेब्युमा रोए ।
भएको के थियो ?
रोनाल्डोले खेलमा पहिलो हाफको मध्य तिर भ्यालेन्सियाका डिफेन्डर जिएसन मुरिलोको कपाल तानेको देखियो । बल नियन्त्रणमा लिने क्रममा थिए दुवै खेलाडी । त्यहि क्रममा भ्यालेन्सियाका डिफेन्डर मुरिलो लडे ।
“You can’t do that!”
“I think he’s got room to appeal..”
🤔
A much clearer angle of Cristiano Ronaldo’s red card, and it’s still dividing opinion… pic.twitter.com/U034bcKuq0
— Football on BT Sport (@btsportfootball) September 19, 2018
रोनाल्डोले उनलाई सजिलो गराउन टाउकोमा मुसारेका थिए । तर मुरिलोलाई त्यो मन परेन छ, उनी उठेर जंगिए । रोनाल्डो हात उठाउँदै पर भए । तर रेफ्रीलाई के लाग्यो, आफ्ना सहायकसँग सल्लाह गरेर रोनाल्डोलाई सीधै रेड कार्ड देखाए ।
पाँच पटकका च्याम्पियन्स लिग विजेता रोनाल्डो चकित परे, उस्तै उनको टिमका खेलाडी र प्रशिक्षक पनि, अनि सायद अरु दर्शक ।
रोनाल्डोको आँसु
११२ मिलियनमा युभेन्टस गएका रोनाल्डोका लागि स्पेन यात्रा फाप भएन । उनले खेलमा प्रभाव कायम गरेका थिए । गोल गर्नका लागि प्रयासहरु पनि हुँदै थियो । बल नियन्त्रणमा लिने क्रममा मुरिलो लडे, रोनाल्डोले उनलाई उठ्न संकेत गर्दै कपाल ताने या भनौँ मुसारे ।
तर मुरिलोलाई मन परेन, निकै रिसाए । रोनाल्डो निराश देखिएर फर्किए । युभेन्टस र भ्यालेन्सियाका खेलाडीहरु डि–बक्समा विवादमा उल्झिए । रेफ्री फिलिक्स ब्रिचले आफ्ना सहायकसँग सल्लाह गरेर रोनाल्डोलाई रातो कार्ड देखाए ।
च्याम्पियन्स लिगका कीर्तिमानी गोलकर्ता रोनाल्डो रेफ्रीको निर्णयमा आक्रोशित देखिए । विरोध गरे र आफ्नो निर्दोषताको प्रमाण दिन खोजे अनि अन्ततः मैदानबाट आँसु पुच्छदै बाहिरिए ।
१५४ च्याम्पियन्स लिग खेलमा रोनाल्डो पहिलो पटक बाहिरिएका हुन्, उनले अब कम्तिमा एक खेलको प्रतिबन्ध भोग्नु पर्नेछ । रोनाल्डो रुँदै बाहिरिएपछि युभेन्टस केही दबाबमा आउने ठानिएको थियो, तर १० खेलाडीमा सीमित भएको टिमले भ्यालेन्सियालाई उसकै मैदानमा २–० ले हरायो ।
घटना हेर्दा रोनाल्डोले मुरिलोलाई चोट पुर्याउने ध्येयले नभई एक साथीले अर्को साथीलाई असजिलोमा सजिलो बनाउनका लागि टाउको मुसारे जस्तो देखिन्छ ।
तर रोनाल्डोको त्यहि दाजु जस्तो व्यवहार उनकै लागि घातक बन्यो र च्याम्पियन्स लिगको इतिहासमा पहिलो रातो कार्ड पाए, त्यो पनि नयाँ क्लबबाट डेब्युको क्रममा । सायद रोनाल्डोका लागि स्पेनिस माटो फाप्ने रहेनछ अब । अनि उनको राम्रो मनमा पनि खोट देखियो ।