
केही काम नौलो नगरी नजाउँ
अकालमै हे म मरी नजाउँ।
आयुस्य देउ, भविष्य देउ,
मभित्र जीवन्त मनुष्य देउ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेका कविताका यी पंक्तिमा समेटिएको भावलाई साँच्चै भगवानले सुने ।
अनि सायद ‘तथास्तु’ भने । र, एउटा सार्थक र लोभलाग्दो जिन्दगी जिउन सफल भए उनी । सय बसन्त पार गर्दा जति सन्तुष्ट छन् उनी त्यति नै उत्साहित र आनन्दित पनि । उनका हरेक कृतिहरु त्यति नै रुचिकर र नौला ।
जन्मदिनले कतिपयलाई हर्षसँगै झस्काउँछ आफ्नो आयु घट्दै गएकोमा। विगतमा इच्छाइएका काम पूरा गर्न नपाएकोमा कतिपयले पछुतो मान्छन्। तर एउटा युगका साक्षी राष्ट्रकवि घिमिरेलाई विगतले पछुतो दिएन । बदलामा उनको जीवन रंगिन बन्यो।
‘मेरो जीवन आनन्दित मात्रै भयो। अब श्वास छोड्दा शरीरलाई अलिकति कठिन होला। त्यसमा न त दुःख छ न त मर्न डर छ’, मुस्कुराँदै राष्ट्रकविले भने । उनको त्यो ‘अभय’ मुद्रामा बालसुलभतासँगै सत्यसँग साक्षात्कारको अनुभूति झल्किन्थ्यो।
अमरताको गीत गाउने उनी हरेक दिन नयाँ काम गर्नु पर्छ भन्ने मान्यता आत्मसाथ गर्दा आफ्नो हाँसो अटुट रहेको खुलाउँछन्। ‘हिजो बिहान झुल्केको घाम आज पनि झुल्किन्छ। जगत रमाइलो छ र यहाँ मानिस पनि सज्जन छन्’, उनले थपे ।
सार्थक जीवनमा लुकेका कुरा
मानिसहरु गन्तव्य बिहीन हुन्छन् र दोष दिन अनेक बहाना बुन्छन् । घिमिरेले जीवनमा जे गर्न चाहन्थे, जे गर्न सक्थे त्यो गरी छोडे । त्यसलाई न उनको उमेरले छेक्यो, न त पारिवारिक, सामाजिक र आर्थिक अवस्थाले। भगवानले उनलाई आयु दिए, उनले त्यसको सदुपयोग गरे।
एक सय वर्षको उनको निचोड छ, ‘जीवन भगवानको वरदान हो । सदुपयोग गर्न सके सबै सपना पूरा हुन्छन् नसके आयु घट्छ, सपना टुट्छ। प्राप्त समय र त्यसको महत्व चिन्नु पर्छ।’
सम्मानित कविका रुपमा यतिका वर्ष पार गर्दा उनले अर्को पनि निष्कर्ष निकाले, ‘सकारात्मक चिन्तन्न, सिर्जनशिलता, सन्तुलित भोजन, योग र शारीरिक अभ्यासले आयु थप्छ, जीवन सार्थक बन्छ।’
हातभरि औषधि खाँदा पनि उनले उर्जा प्राप्त गरेको ठान्छन् । भन्छन्, ‘रोग हटाउनका लागि काम भइरहेछ। शरीर बिगार्ने खाना खानुहुन्न । स्वस्थ हुनलाई नियमित शारीरिक अभ्यास पनि गर्नु पर्छ । मन र मस्तिष्क ताजा बनाउन योग गर्नु पर्छ ।’ छलकपटविनाको जीवन सार्थक हुने उनको भनाई छ । ‘रिस उठेपछि गाली गर्ने र एकै छिनमा मैले त्यति भने भन्दैमा तैँले चित्त दुखाउनु पर्छ त? ल ढोग मेरो गोडामा अनि सबै ठीक हुन्छ भन्छन् पाकाहरु गाउँघरमा’, उनले भने’ ‘तर शहरमा एक वर्षको तुष १२ वर्षसम्म पाल्छन्। झुठ र प्रतिशोधको चाहानामा बाँच्छन्।’
घिमिरेको सयौँ जन्मदिन (असोज ७ गते) मा घरमा पूजा र पार्टीको तयारीमा परिवारका सदस्य व्यस्त बन्दा उनको अनुहार अझ खुलेको छ, ओठ अझै मुस्कुराएका छन्।
प्रेमको अर्थ

श्रीमती महाकालीका साथमा राष्ट्रकवि माधवप्रसाद घिमिरे ।
प्रेम बिना जीवनको अस्तित्व छैन भन्ने उनले बुझेका छन्। काव्य, त्यसको मर्म र भावनासँगै व्यक्तिगत जीवनलाई बढाए। उनीद्धारा लिखित गीतले भन्छ, ‘तिम्रो प्रिती पहिले हो कि मेरो प्रिती पहिले । जान्दिन म के भो कुन्नी कहिले ।
यस्तै प्रेमको विश्वास छ उनलाई।
‘प्रेममा लेनदेन हुँदैन । तिमीले मलाई प्रेम गर्यौँ त्यसैले मैले पनि गरे भन्छन्। तर थाहा नै नपाई भएको प्रेम वास्तविक प्रेम हो’, आफ्नो भोगाईप्रति लक्षित गर्दै उनले भने । विपदले उनको प्रेम बाँडियो ।
‘गौरीलाई मैले धेरै प्रेम गर्थे। तर उनको अकास्मात अवसान भयो । आफू र परिवारलाई सम्हाल्न मैले महाकालिसँग विवाह गरे। उनको उपस्थितिले मेरो जीवनमा झनै अर्थ राख्यो । उनी नभएको भए मैले यत्रो सम्मान पाउने थिएन।’
भनिन्छः प्रेममा समझदारी हुन्छ । महाकालिकाले स्वार्थरहित प्रेम गरिन् घिमिरेलाई। उनीहरुको सुखद दाम्पत्य जीवनको पृष्ठभूमिमा त्यही लुकेको छ। आठवटा छोराछोरी हुर्काएर कविता र गीतका भाकामा हराउने घिमिरेको ख्याल गरिन उनले ।
‘उहाँ जतिबेला पनि लेखिरहने । मलाई भने उहाँको स्वास्थ्यको चिन्ता हुने । खाना खान र सुत्न पटकपटक भन्नु पर्ने तैपनि मलाई कहिल्यै रिस उठेन’, महाकालीले भनिन्।
घिमिरे दम्पतीको परिवार फैलियो । ठूलो भयो । सबैको माया र सम्मान पाएका छन् उनीहरुले। ‘मैले प्रेम गर्न जानेको थिएँ । महाकाली अलि केटाकेटी थिइन त्यो बेला तर विस्तारै उनले मेरो भावना बुझिन’, घिमिरे २००५ सालमा फर्किए।
अनि आफ्ना सिर्जनाका फूलहरु बारे कुरा गर्न थाले । उनले लेखेको अर्को गीत ‘फूलको थुङ्गा बहेर गयो गंगाको तिरैमा’ को चर्चा गरे । तारादेवीले स्वर दिएको त्यो अमर गीत ।
पत्नी वियोगमा प्राप्त शक्ति
कवि बन्न सात मोहर लिएर जन्मथलो लम्जुङको पुस्तुन छोडेका घिमिरेको साहित्य यात्रा नवमञ्जरीहुँदै महाकाव्य ऋतम्भरासम्म आइपुगेको छ । छन्द र लय मिलाएर कविता सिर्जना गर्ने उनी विस्तारै जीवन, प्रकृति, देशभक्ति र दर्शनलाई काव्यसँग जोडे ।
विवाहको केही वर्षमै पत्नी वियोगले गहिरो चोटमा परेका उनले त्यसलाई शक्तिमा बदले, वियोगलाई शब्दमा पोख्दा गौरी काव्य बन्यो । त्यसले उनलाई राष्ट्रकवि बन्न ढोका खोल्यो। त्यसैबाट घिमिरेले ‘मस्तिष्कबाट नभई हृदयबाट लेख्नु पर्ने’ पाठ सिके । कयौँ आरोह अवरोहमा अविचलित रहे।
रिसिएका गायक र संगीतकार मिलाउँदा

छोरी डा. किरण रेग्मीका साथमा राष्ट्रकवि माधवप्रसाद घिमिरे ।
यो अवधिमा कति लेखे उनलाई यकिन छैन । गोरखापत्रको जागिरेदेखि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य, आजीवन सदस्य, उपकुलपति, कुलपतिसम्म बनेर काम गर्दा सबैले साथ दिए उनलाई ।
अर्को चर्चित मालती मङ्गले गीति नाटक तयार गर्दाको पल उनका लागि यादकर बन्यो । चर्चित गायक नारायण गोपाल र संगीतकार अमर गुरुङबिच खटपट भइरहन्थ्यो। मालती मङ्गले व्यापक बनाउन चाहेका घिमिरेले नारायण गोपाल र अमंर गुरुङलाई पनि मिलाउने उपायमा पुगे। मालती मंङ्गलेमा संगीत भर्न अमर गुरुङलाई प्रस्ताव गरे ।
प्रतिष्ठान कर्मचारी समेत रहेका गुरुङले उनको प्रस्ताव सहजै स्वीकारे तर नारायण गोपालको स्वर भर्नु भन्दा आफै गाउने सुरु कसे। घिमिरेले अमर गुरुङलाई फकाएर नारायण गोपालकहाँ पुगे । नारायण गोपालले पनि घिमिरेलाई नाइ भन्न सकेनन् ।
‘अमर र नारायण चर्चित थिए आ–आफ्नो क्षेत्रमा तर अलिकति एकअर्कामा इगो थियो । मैले त्यसको अन्त्य गरिदिँए’, घिमिरेले हाँस्दै भने, ‘गीत गाउने प्रस्ताव गरेर फर्केपछि फोन गरेको थिए । नारायण त भोलिपल्ट नै उक्त गीतको भाव लिन मेरै जन्मथलो नजिक मर्स्याङ्ग्दीको दोभानमा पुगी सकेका रहेछन्।’ मालती मङगले हेरे पनि नरुने कोही भएन। त्यो हेर्दा साहित्यमा खासै रुची नभएका तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा पनि रोए ।
देशभक्तको मन
प्रकृतिसँग हराएर काव्य सिर्जना गर्ने घिमिरे त्यतिमा सीमित भएनन्। देशको राष्ट्रिय एकता, स्वतन्त्रता र स्वाभिमान गाइरहे। त्यसमा उनले सम्पूर्ण जीवन खर्चिए । उनीद्धारा लिखित ‘गाउँ छ गीत नेपाली, नेपाली हामी रहौँला कहाँ नेपाल नै नरहे’ जस्ता राष्ट्रिय गीतले उनलाई शीखरमा पु¥यायो। उनको उचाई सधैँ चुलिरह्यो ।
अनगिन्ती राष्ट्रिय पुरस्कार र सम्मान पाए ‘नेपाल आफैमा सुन्दर, शान्त र विशाल देश भए पनि विदेशीले हेपेको पाएँ। म कवि पनि त यो देशमा छु भन्ने लाग्यो र देशका गीत लेखे । उनीहरु चकित भए जव सगरमाथालाई सुनेँ’, उनले भने ।
वर्तमान पुस्ताको चिन्ता
दुःखलाई आफैले नउठाई सुख प्राप्त हुँदैन भन्ने जीवनको अर्को अनुभूति घिमेरेसँग छ। उनको सुखी गाउँले जीवन सहरमा भासियो कवि बन्ने होडमा। उनले भने, ‘घरमा दूध–भात खाने, ठूल्ठूला मुन्द्रा लगाउँदै गाउँबेसीमा सुशेली हालेर काम गर्दाका पल सबै भन्दा मिठा थिए।
‘लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो’ उनको सिर्जनाका प्रेरणा र परिवेश थिए त्यसताका । त्यो सबै छोडेर कवि बन्न परदेश निस्किएँ।’ लेख लेख्न निकै अध्ययनशील र अरुको भाव बुझने हुनु पर्ने उनको सुझाव छ । ‘दर्शन अध्ययनले मेरो कविता सुन्दर बनाउन सहयोग गर्यो।
डाँडापाखा र हिमाला चाहार्दा शब्द फुरे’, घिमिरेले आफ्नो मेहेनेत सुनाए । प्रकति र सिर्जनाको अन्तरसम्बन्ध उनका शव्दमा पोखिन थाले । कविता जन्मिए ।
वास्तवमा उनले जेजती काम गरे ती सबै कविताका निम्ति समर्पित थिए पनि । ‘आफ्ना, कविता, गीत, उपन्यास चर्चामा आएनन् भन्ने चिन्ता कतिपय साहित्यकारमा हुन्छन्’, वास्तविक साहित्यलाई बुझेर यस क्षेत्रमा लाग्दा सफलता प्राप्त गर्न सकिन्छ । साहित्यकारले युग सुहाउँदो लेखेकोमा सन्तुष्ट छन् तर उनलाई मौलिकता हराएकोमा चिन्ता छ। ‘सूचना, प्रविधि र सञ्चारले अहिले आफ्ना रचना सजिलै विश्वभर पुर्याउन सकिन्छ तर चर्चित बन्न अथाह मेहेनेत बिना संभव छैन’, उनी भन्छन् ।
आफ्नो उद्देश्यमा अविचलित भएमा सबै सपना पुरा हुनेउनको विश्वास छ। ‘बुवा, परिवार, साथीभाई सबैबाट सिके अनि साहित्यको बाटो छोडिन’, घिमिरे भन्छन् । बाल्यकालको कविता लेख्न उनले छोरीहरुलाई काँधमा चढाउँथे। छोरीहरुले रमाइलो मान्दा उनले कविताका लाइन जुटाउँथे। बाल साहित्य यही बात्सल्यमा जज्मिन थाले ।
परिवर्तित व्यवस्था
देशको महिमा गर्नु अपराध ठानिने राणकालीन बन्द समाजमा कविता फुराउन थालेका राष्ट्रकवि घिमिरेले आफ्ना जीवनमा मुलुकका अनेक परिवर्तन देखे। तर पनि जनताको जीवनस्तर उठ्न नसकेकोमा चिन्ता छ उनलाई ।
‘प्रजातन्त्रको पुनर्स्थापनापछि मुलुकमा केही हुन्छ कि भनेको तर अर्थहिन १० वर्षे जनयुद्धले मुलुकलाई अधोगतिमा धकल्यो। अहिले जनताले आफ्नो राजनीतिक व्यवस्था आफै बनाएका छन् । आशा गरौँ यसबाट उनीहरुको जीवन सुखी हुनेछ’, घिमिरेले सुनाए।
अबको इच्छा
अंग्रेजी साहित्य पढ्न मन थियो उनलाई तर त्यो भन्दा लोक साहित्यले उनलाई तान्यो । शास्त्रीय संगीत सिक्ने धोको भने उनको मनमै रह्यो । पछिल्ला केही महनिा काठमाडौँ र दिल्लीका अस्पतालमा जीउ गलेको थियो ।
तर इच्छाशक्ति औलोकिकरुपमा दृढ थियो। त्यो बेला उनले इच्छाएका थिए’, मैले थालनी गरेको महाकाव्य सय वर्षको जन्म दिनमा ल्याउनु छ त्यतिञ्जेल बाँच्नु छ मलाई। सत्य आग्रह समक्ष भगवान पनि झुक्दा रहेछन् ।
उनले करिव १२ वर्ष लगाएर लेखेको महाकाव्य ऋतम्भराले हृदयको सम्बन्धलाई जोड दिएको छ । विश्व एकता र बन्धुत्वको सन्देश पनि बोकेको छ। ऋतम्भराका हरप सुनाए उनले, ‘यो जिन्दगी जति बुझेपनि बुझ्न बाँकी, यो जिन्दगी जति सुझेपनि सुझ्न बाँकी ।’
(यससँग सम्बन्धित भिडियो सामग्री चाँडै आउनेछ ।)
सबै तस्बिरहरु : प्रभात खनाल/देश सञ्चार