नेपालमा रोहिंग्या शरणार्थीहरु-१

जो शरण खोज्दै दूर नेपालसम्म आइपुगे

+
-

सामान्यतया: प्रतिकूल परिस्थितिमा देश छाडी अन्यत्र शरण लिन बाध्य हुनेहरु सीमावर्ती मुलुकमा प्रवेश गर्छन्। त्यहाँ अनुकूल आतिथ्य नभेटिए मात्र उनीहरु टाढाका मुलुकतिर लाग्छन् अनिश्चितता झेल्दै।

अहिले त्यही भोगाइका उदाहरण बनेका छन् केही सय रोहिंग्या, बंगलादेश र अर्को सीमा जोडिएको मुलुक भारतमा ठूलो संख्यामा पुगेका रोहिंग्याको एउटा सानो हिस्सा नेपाल पनि छिरेको छ।

बहुसंख्यक बुद्धिस्ट समुदायको बसोबास रहेको म्यानमारमा रोहिंग्या मुस्लिम समुदायको पनि बसोबास छ । विशेष गरी बंगलादेशसँग सीमा जोडिएको रखाईन प्रान्तमा रोहिंग्याको बस्ती बाक्लो छ । रखाइनलाई रोहिंग्याहरु आफ्नो भाषामा आरकान भन्छन् । उनीहरुकै भनाईमा म्यानमार सरकारले सेनाकै उपस्थितिमा आफूहरुमाथि ज्यादती गर्न थालेपछि बाध्य भएर ज्यान जोगाउनका लागि घरबार सबै छोडेर पलायन हुन बाध्य भएका हुन् उनीहरु।

पलायन हुने र हिंसामा परी ज्यान गुमाउनेको संख्या सात लाख भन्दा धेरै रहेको उनीहरु बताउँछन् । यद्यपिशर यसमा म्यानमार सरकारको भनाई फरक छ । म्यानमार सरकारले रोहिंग्या समुदायमाथि राज्यले कुनै पनि किसिमको फरक व्यवहार वा हिंसा नगरेको दाबी गर्दै आएको छ विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा पनि ।

रोहिंग्या र सेना समर्थित स्थानीय बुद्धिस्ट समुदायबिच तीन दशक भन्दा लामो समयदेखि तनावकै अवस्था थियो । त्यो तनावले सन् २०१० पछि हिंसाको रुप लिन थाल्यो । रोहिंग्याहरु विस्थापित हुने क्रम सुरु भयो । सीमा जोडिएको बंगलादेश रोहिंग्याको पहिलो गन्तव्य बन्नु स्वाभाविक थियो। धर्म र सांस्कृतिक समानता भरोसाको अर्को आकर्षण बन्न पुग्छ संकटमा। अहिले त्यहाँ सात लाखको हाराहारीमा रोहिंग्याहरु छन्।

त्यसपछि भौगोलिक निकटता र मुस्लिम समुदायको बसोबास रहेकाले दोस्रो सहज गन्तव्य भारत हो । यहाँ चीन पनि भौगोलिक रुपमा सहज त हुन्थ्यो होला तर सांस्कृतिक फरकपन अनि शरणार्थीबारे त्यहाँको कडा नीतिका कारण रोहिंग्याहरु चीन जान त्यति सम्भव थिएन । तर भारतीय जनता पार्टी सरकार मुस्लिम शरणार्थीलाई भित्र्याउन त्यत्ति उत्सुक देखिँदैन त्यहाँ। सम्भवत: यी प्रतिकूल परिस्थितिले उब्जाएको बाध्यतामै मूलत: हिन्दूहरुको बसोबास रहेको र भौगोलिक रुपले पनि पर रहेको नेपालसम्म पनि रोहिंग्याहरु आश्रय खोज्दै खाइपुगेका छन् र उनीहरुको समूहको बसोबास अहिले काठमाडौँमा छ।

रोहिंग्या, शरणको खोजीमा नेपालसम्म


चाबहिलबाट झण्डै साढे चार किलोमिटर पूर्वको यात्रा तय गरेपछि पुगिने बुढानिलकण्ठ नगरापालिकाको वडा नम्बर ११, राममन्दिर टोल र त्यसको नजिकै रोहिंग्याहरुको बस्ती छ । बस्ती भन्दा पनि उनीहरुको सेल्टर वा शिविर छ ।

रोहिंग्याहरु हिंसाका कारण देश छोडन् बाध्य हुन थालेको तीन दशक नाघे पनि उनीहरु शरणको खोजीमा नेपाल परेको साढे ६ वर्ष भयो । सन् २०१२ जनवरीमा पहिलो रोहिंग्या युवा नेपाल आइपुगे । त्यो बेला १८ वर्षका  मोहम्मदलाई नेपाल भन्ने देश छ भन्ने पनि थाहा थिएन । तर शरणको खोजीमा उनी काठमाडौँ आइपुगे । यसरी मोहम्मदबाट सुरु भएको रोहिंग्याको नेपाल यात्रा अहिले ३४८ जनामा पुगेको छ ।

कपन राम मन्दिर आसपासका चार शिविरमा गरेर ११७ परिवारका ३४८ जना रोहिंग्याहरु छन् । झण्डै दुई वर्षअघि रोहिंग्यामाथि म्यानमारमा दमनले बढावा पाएपछि नेपाल आउनेहरु पनि बढे । पहिले एउटा शिविरमा मात्रै रहेका रोहिंग्याहरुका लागि अहिले चारवटा शिविर छन् । तर तीन शिविरको एक र अर्को एउटा शिविरको एक गरी दुईवटा कमिटिमार्फत रोहिंग्याहरुले आफ्ना गतिविधिहरु गर्दै आएका छन् ।

अल्पसंख्य मुस्लिमदेखि शरणार्थीसम्मको यात्रा

म्यानमारमा उनीहरु अल्पसंख्यक हुन् । पाँच करोड ४० लाखको हाराहारीमा जनसंख्या रहेको म्यानमारमा रोहिंग्याको संख्या त्यहाँको सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार १० लाख भन्दा बढी छ । उनीहरुको आफ्नै भाषा र संस्कृति छ र बसोबास विशेष गरी आरकानमा छ । रोहिंग्याहरु आफूलाई अरबी व्यापारी मुलको बताउँछन् । म्यानमारमा रोहिंग्याहरुको बसोबास धेरै पुस्तादेखि छ ।

तर सन् १९८२ को म्यानमारको राष्ट्रिय कानुनले उनीहरुलाई त्यहाँको नागरिक मान्दैन र उनीहरुले नागरिकता पनि पाएका छैनन् । मुख्य गरी बुद्धिस्ट बाहुल्य म्यानमार सरकार र बुद्धिस्ट अतिवादीले रोहिंग्याहरुलाई बंगलादेशबाट अवैध रुपमा आएका आप्रवासी मान्छ । उनीहरु आफ्नो देशको नागरिक नरहेको भन्दै म्यानमारले रोहिंग्यालाई नागरिकता दिएको छैन भने बंगादेशले पनि आफ्नो देशमा शरण लिएका रोहिंग्याहरुलाई फिर्ता लैजान भन्दै आएको छ । यसरी रोहिंग्याहरु मुस्लिम अल्पसंख्यकको परिचयमा सीमित बने र राज्य बिहीन नागरिक भए ।

राज्य बिहिन बन्न पुगेका रोहिंग्याहरु आफ्नो पुस्तौँपुस्ताको बसोबास रहेकाले नागरिकतासहितको अधिकार म्यान्मारमा पाउनुपर्ने बताउँछन् । यही माग र सरकारको दाबीका बिच लामो समयदेखि संघर्ष हुँदै आएको छ । म्यानमार सरकारले रोहिंग्या लडाकुसँग आफ्नो संघर्ष रहेको बताउँछ, सर्वसाधारणलाई केही नगरेको त्यहाँको सेनाले दाबी गर्दै आएको छ । तर रोहिंग्याहरु भने आफूहरुमाथि ठूलो ज्यादती भएकाले ज्यान जोगाउन देशै छोडेर भाग्नु परेको बताउँछन् ।

ज्यान जोगाउने प्रयासमा देश छोडेर भाग्दा रोहिंग्याहरु मुस्लिम अल्पसंख्यकबाट रोहिंग्या शरणार्थी बेनका छन् बंगलादेश, भारत अनि नेपालसहितका देशमा । नेपालमा साढे ६ वर्षको अन्तरालमा रोहिंग्या शरणार्थीको संख्या साढे तीनसयको हाराहारीमा पुगेको छ । पछिल्लो पटक सन् २०१७ को अगस्टमा रोहिंग्या लडाकुले ३० भन्दा बढी प्रहरी पोस्टमा आक्रमणगरेपछि म्यानमानरको सेनाले कारवाही अभियान चलायो । सेनाको साथ भएका बौद्ध भिक्षुहरुले रोहिंग्याहरुको बस्ती जलाउनुका साथै सामूहिक हत्यासम्म गरेको आरोप छ । त्यसपछि विस्थापित भएका रोहिंग्याहरु विशेषगरी बंगलादेशको कक्स बजारमा आए । त्यहाबाट अघि बढेकाहरु भारत अनि भारतबाट पनि अघि लागेकाहरु नेपाल आइपुगेका हुन् ।

कपन रोहिंग्या शिविर पुग्दा


बस्न शिविर बुढानिलकण्ड नगरपालिका ११ को कपन राम मन्दिर र आसपासको क्षेत्रमा छ । तर रोहिंग्या शरणार्थीको शिविर सुनसान र देखिन्थ्यो। शिविरका टहरामा मान्छे थिए र तर नयाँ मानिस देखेपछि हच्किए जस्तो वा डराए जस्तो देखिने ।

महिलाहरु मात्रै भए नयाँ मान्छे देख्ने बित्तिकै टहराको ढोका बन्द गर्ने । चियाएर हेर्ने । काम गर्दै गरेको भएपनि चटक्कै छोडेर भित्र पस्ने ।

पुरुषहरु पनि त्यति बोल्न नरुचाउने । हुन त धेरैलाई नेपाली बोल्न आउँदैन र बुझ्दैनन् पनि । ११ टहरा रहेको पहिलो शिविरको मुखैमा रहेको पसलमा केही समय बिताएर भित्र पस्दा प्रायः का अनुसहारमा डर देखिन्थ्यो । धेरैले ढोका बन्द गरे ।

केही पढेका युवाहरुले भने केही नेपाली बुझ्छन् । १३ महिनाअघि नेपाल आएका १८ वर्षका मोहम्मद रिद्दवन केही बोले । ८ कक्षासम्मको पढाई गरेका मोहम्मद अहिले केही नेपाली बोल्न सक्ने र केही बुझ्ने भएका रहेछन् ।

मिलाएर कपाल काटेका मोहम्दको अनुसकार डर भन्दा पनि आफ्नोपनको खोजी देखिन्थ्यो । हामीले कुरा गर्न खोज्दा घोसेमुण्टो लगाएका उनले मिलाएर काटिएको कपालको कुरा उप्काउँदा केही मुस्काउँदै भने, यो त बर्माको स्टाइल हो । उनलाई देशमा नभए पनि हेयर स्टाइलले आफ्नै देशमा भएको जस्तो केही महसुस गराउँदो रहेछ ।

उनको परिवारका सदस्य मध्ये एक्ला हुन् जो नेपाल आइपुगेका छन् । आमाबुवा तथा तीन दाइ र दिदीहरु बंगलादेशमा रहेको थाहा पाएका छन् । तर कुरा भएको हुन सकेको छैन ।

त्यहाँ जान मन छ, तर कसरी जानु ? उनले घोसेलागेको मुण्टो नउठाई भने, आमाको सम्झना निकै आउँछ ।

कुरा बुझ्दै जाँदा उनलाई आरकानको मण्डुमा रहेको आफ्नो घर र अनि बुवाआमालाई सम्झेर मन अमिलो हुन्छ । बंगादेश जाउँ जस्तो लाग्छ र एक्लै भारत हुँदै नेपालसम्मको यात्रा तय गरेका मोहम्मदलाई अब फर्केर जाने आँट छैन । हिंसाले तर्सेका रहेछन् उनी । पुरै बस्ती जलेको देखेका उनलाई नेपालमा यहाँका मानिसले गरेको माया राम्रो लागेको छ तर विगतको त्यो डर भने अहिले पनि अनुहारमा छ ।

मोहम्मदसँग कुरा गरेर अघि बढेपछि १० वर्षका हाइरुल आमिनसँग भेट भयो। उनकी फुपु लौका काट्दै थिइन, आमा बसेर छोरीलाई हेर्दै गरेकी । ३ कक्षामा पढ्दै गरेका हाइरुलले राम्रोसँग नेपाली बोल्न जानेका रहेछन् । उनले परिवारका बारेमा बताए । उनकी फुपु रोफुन नाहार २० वर्षकी भइन्, उनका साढे तीन वर्षका छोरा छन् । उनका लोग्ने बंगलादेशमा छुटे । रोफुन बुवाआमासँग नेपालमा छिन् । सानो टहरामा उनकी आमा, बहिनी, दाइ छोरासहितका ६ जना बस्छन् । रोफुनको अनुहारमा आश देखिन्थ्यो, अनि डर पनि ।

रोफुनसँग कुरा गर्दै गर्दा एक युवा आइपुगे, के गर्न आउनु भएको ? भन्दै ।

उनी राम्रो नेपाली बोल्दा रहेछन् ।

नाम अब्दुल मलिक, वर्ष २५ ।

उनी नेपाल आएको १८ महिना भएछ । सानो भाइ, बुवा, श्रीमती र छोरासहित उनी नेपाल आइपुगे । आमा र अरु आफन्त बंगलादेशमा छन् । नेपाल आएका बुवा कालगतिले बिते । अब्दुलले केही व्यक्तिगत कुरा गरे, बर्माको मण्डु जिल्ला र गाउँ सम्झिए । हिंसाका कुरा सम्झिँदा मलिन भएका उनलाई शिविरको बसाई बारे सोध्न खोज्दा कमिटिसँग सम्पर्क गर्न भने र बोल्न चाहेनन् । हामी कमिटिलाई खोज्दै पहिलो शिविरबाट दोस्रो शिविर अनि तेस्रो शिविर गयौँ ।

(नेपालमा शरण लिइरहेका रोहिंग्या शरणार्थीहरुबारे टंक ढकालले चार भागमा विशेष रिपोर्ट तयार गरेका छन्। हामी हरेक दिन देशसञ्चारमा रोहिंग्या शरणार्थीबारेका विशेष रिपोर्ट प्रकाशित गर्नेछौँ। यसका सबै तस्बिर र भिडियोहरु बर्षा शाहले खिचेकी हुन्।) 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’