
काठमाडौं : पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेस नेता गगनकुमार थापाले युवा अवस्थामै मुटुको ख्याल गर्न सुझाव दिएका छन् ।
विश्व मुटु दिवसका अवसरमा काठमाडौँ क्षेत्र नं ४ सांसदको कार्यालयले आयोजित ‘काठमाडौँको गौशालादेखि पशुपति हुँदै विश्वरुपसम्मको वाकाथन’पछि कोणसभामा उनले भने, ‘खानपान र जीवनशैलीमा ख्याल नगरेका कारण मुटुको समस्याले युवा अवस्थामा नै धेरैले अकालमै ज्यान गुमाउनु परेको छ ।
पूर्वस्वास्थ्यमन्त्री थापाले निश्चित उमेरसम्म केही हुँदैन, उमेर बढ्दै गएपछि मात्रै रोग लाग्छ भन्ने सोचाइ गलत भएको उल्लेख गर्दै आफ्नो स्वास्थ्यका बारेमा सरकारलाई गाली गरेर नभई आफैँ ख्याल गर्नुपर्नेमा जोड दिए ।
‘नागरिकको स्वास्थ्यका बारेमा सरकारका पनि केही जिम्मेवारी त अवश्य छन्, तर ८० प्रतिशत जिम्मेवारी नागरिकको हो,’ उनले भने ।
पूर्वस्वास्थ्यमन्त्री थापाले मुलुकको समृद्धिका यात्रा पनि नागरिकको स्वस्थ्य जीवनबाटै सुरु हुने बताए । स्वस्थ्य नागरिकबिना मुलुक समृद्ध बन्न नसक्ने बताउँदै उनले निरोगी नागरिकबाट मात्रै मुलुकले समृद्धि हासिल गर्नसक्ने धारणा व्यक्त गरे ।