
पोखरा- गण्डकी प्रदेशको नामाकरण भएको साढे दुई महिनापछि प्रदेशको लोगो पनि तयार गरिएको छ।लोगो तथा पोशाक सिफारिस समितिको निर्णय अनुसार समग्र प्रदेशको पहिचान झल्किने प्रदेश चिह्न (लोगो) सोमबार सार्वजनिक गरेको हो।
गण्डकी प्रदेशको लोगोमा दुई धानका बालाले घेरेको गोलाकारभित्र रहेको माछापुच्छ्रेको चुचुरोको आकार सहितको अन्नपूर्ण हिमश्रृंखला छ । पहाड हिमाल र तराईको भौगोलिक अवस्था, प्रदेश भित्रको रहन सहन सांस्कृतिक पहिचान प्रतिनिधित्व गरिएको छ।
लोगोको दायँबाया राखिएका धानको बाला समृद्धिका रुपमा देख्न सकिन्छ। नेपालको नक्साभित्र गण्डकी प्रदेशको छुट्टै नक्सा छ । यसले प्रदेशको भूगोललाई संकेत गरेको छ। जसभित्र जातजाती अटाएका पहिचानलाई उजागर गरिएको छ।
गण्डकी प्रदेशमा प्राकृतिक स्रोतलाई पनि लोगो भित्र देख्न सकिन्छ। जलसम्भावना सँगै गैँडा र जरायोले राष्ट्रिय निकुञ्जलाई समेत उजागर गरेको छ लोगोभित्रको राष्ट्रिय पंक्षी डाँफे पनि रहेको छ। सामाजिक न्यायकालागि लैंगिक समानतालाई पनि ध्यान दिइएको छ। महिला पुरुषको सह अस्तित्व हातेमालोबाट देख्न सकिन्छ।
समग्रमा लोगो अति उत्कृष्ट भएको लोगो तथा पोशाक सिफारिस समितिका संयोजक मायानाथ अधिकारीले बताए। उने नवलपुरदेखि मुस्ताङसम्मको भूगोल, सम्पदा र महिला–पुरुषको सहअस्तित्व झल्कने लोगो रहेको जानकारी दिए।
यो लोगो गोरखाका विनित रानामगरले बनाएका हुन्।उनी प्रदेशसभा सचिवालयका कर्मचारी हुन्। समितिले साउन २१ गते लोगो बनाउन सार्वजनिक आह्वान गरेको थियो। उनलाई नगद २५ हजार पुरस्कार प्रदान गरिएको छ।
सचिवालयले २०७५ सालको साउन २१ गते सार्वजनिक सूचना जारी गर्दै खुल्ला प्रतिष्पर्धा मार्फत लोगो माग गरेको थियो। त्यसका लागि १२ जनाले लोगो प्रदेश सभामा पठाएका थिए।ती मध्ये विनित मगरको लोगो प्रतिस्पर्धाको आधार छनोट भएको हो। लोगो तथा पोशाक सिफारिस समितिले प्रदेशसभा सदस्यहरुको लागि खैरो रंगको पोशाक सिफारिस गरेको छ।