
काठमाडौं – महात्मा गान्धीको १५०औं जन्मजयन्ती विशेष समारोहको आयोजना गरी मनाइएको छ।
काठमाडौंस्थित भारतीय राजदूताबासले पनि भृकुटीमण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विशेष समारोहको आयोजना गरी गान्धीको जन्मजयन्ती मनाएको हो।
कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी लगायतको उपस्थिति रहेको थियो।
गान्धी अहिंसा र सत्याग्रहका प्रमुख अभियन्ता हुन्। उनको जन्मजयन्तीको अवसरमा विश्व अहिंसा दिवसको शुभकामना पनि आदानप्रदान गरिएको थियो।
कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री पोखरेलले अहिंसा दिवस र गान्धीको जन्मजयन्तीका अवसरमा शुभकामना दिए। उनले गान्धीको जन्म भारतमा भएपनि विश्वभरिका शान्तिका पक्षधर जनताको नेता भएकाले उनलाई सम्झने बताए।
उनले गान्धीको विचारबाट मार्टिन लुथर किंग र नेल्सन मण्डेलाले पछ्याएको बताए। उनको शान्ति विरोधको तरिकाले विश्वमा एउटा व्यवस्था परिवर्तन गरेको र शान्तिपूर्ण आन्दोलनको चलन बसेको बताएका छन्।
नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अहिंसाका अग्रदूत गान्धीको सम्मान विश्वभर भएको र उनले दिएको सन्देश सबैतिर फैलाउन आवश्यक रहेको बताए।
सिंहले गान्धीको गाथाबारे चर्चा गर्दै गान्धी नेपाल नआएपनि उनको दर्शन यहाँ अनुशरण भएको धारणा राखे। गान्धीको बारेमा जानकारी दिन अबको एक वर्ष विश्वको विभिन्न देशहरुमा पावरप्वाइन्ट स्लाइडहरु प्रस्तुत गर्ने जानकारी दिए।
कार्यवाहक प्रधानमन्त्री पोखरेलले स्लाइड प्रिजेनटेशनलाई रिमेट थिचेर उद्घाटन गरेका थिए। कार्यक्रममानेपालका विभिन्न संघ–संस्थाका प्रतिनिधि र राजनीति दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। गान्धीको जीवनमा आधारित वृत्तचित्र पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो।
तस्बिरहरु- सुलभ श्रेष्ठ/देश सञ्चार