
विश्वमा हरेक वर्ष करिब ६० हजार मानिसको ज्यान रेविजले लिने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ति मध्ये आधाभन्दा बढि बालबालिका रहेको तथ्याङक छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरीमा हुने रेविजको ९५ प्रतिशत समस्या एसिया र अफ्रिकामा मात्रै हुने गरेको छ । नेपालमा तराई र पहाडमा रेविजको समस्या बढी देखिने गरको सरुवा रोग नियन्त्रण महाशाखा काठमाडौँले जनाएको छ ।
स्वास्थ्य सेवा विभागले रेविजबाट हुने मानव मृत्युलाइ सन् २०३० सम्ममा शून्यमा झार्ने लक्ष्य लिएको छ । नेपालमा आधा जनसंख्या यो रोगको उच्च जोखिममा छन् भने एक चौथाइ मध्यम जोखिममा रहेका छन् ।
सरुवा रोग विषेशज्ञ डा. अनुप बास्तोलाका अनुसार रेविज रोग लिसा नामको स्नायु नसामा प्रभाव पार्ने आर एन ए भाइरसका कारणले हुने रोग हो ।
यो रोग संक्रमित जनावरको र्यालबाट घाउको बाटो हुँदै शरीरभित्र छिरेर स्नायु नशाको माध्यमले मस्तिष्क सम्म पुग्ने गर्छ ।
शरीरमा भाइरस पसेपछि देखिने लक्षण
- ज्वरो आउने
- घाउ भएको स्थानमा दुख्ने
- भम्झमाउने, घोचे, पोले जस्तो हुने
- भाइरस मस्तिष्क सम्म पुगे पछि मस्तिष्क तथा स्नायुहरु सुनिने
- प्रभावित व्यक्तिको क्रियाकलापहरु र व्यवहारमा परिर्वतन आउने
- पानी देखि डराउने
- हावाको चालबाट तर्सिने
कुकुर, स्याल जस्ता जनावरको टोकाइले रेविज भएर धेरै मानिसको ज्यान जाने गरेको छ । गतवर्ष टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा रेविज लागेर मृत्यु हुनेको संख्या १७ पुगेको थियो । रेविज विरुद्धको खोप लगाउनको दैनिक ठूलै भिड लाग्ने गरेको अस्पतालका कन्सल्टेन्ट मेडिसिन फिजिसियन डा .अनुप बास्तोलाले बताए ।
सामान्यतया रेविज भएका बिरामी हावा पानीसँग डराउने, खान असहज मान्ने गर्छन भने कतिपय बिरामीको हात खुट्टा राम्रोसँग नचल्ने लक्ष्णहरु देखिन्छन ।
रेविजबाट बच्न डा. बास्तोलाका केही महत्वपूर्ण सुझाव
- घरपालुवा जनावरलाई जथाभावी बाटोमा नछोड्ने ।
- घरपालुवा जनावरलाई रेबिज विरुद्धको खोप लगाउने ।
- त्यस्ता जनावरले टोेकेपछि साबुनपानीले कम्तीमा १५ मिनेट धुने र प्राथमिक उपचार गरी अस्पताल जाने ।
- रेविज बिरुद्धको खोप लगाउने ।
- कुकुरलाई नजिस्क्याउने । उसले खाना खाइरहेको र बच्चालाई दूध चुसाइरहेका बेला नचलाउने ।
- कुकुरसँग कहिल्यै आँखा जुधाउनु हुँदैन ।
- टोकेपछि १० दिनमा कुकुर मरेमा त्यो रेबिज नै हुने गरेकाले त्यसबारे सचेत हुने ।