
काठमाडौँ – चाड पर्वको रौनक सुकिलो बन्दै गएको मौसम, डाँडाको आड लागे जस्तो देखिने बालदका टुक्रा र बाँकी खुलेको आकाशले दिन्छ ।
आकाशमा उडेका चङ्गाजस्तै मनै चङ्गा बने जस्तो हुन्छ चाड पर्व आँदै गर्दा । नेपालीहरुको महान चाड बडा दशैँ सुरु हुन अब धेरै दिन बाँकी छैन ।
शहर बजारमा किनमेल गर्नेको घुईँचो बढ्दो छ । यो दशैँको अर्को रौनक हो, नवदुर्गाका बेला विशेष गरी शक्ति स्वरुपा भगवतिका विविध रुपहरुको पूजा । त्यसका लागि देवीहरुका मूर्ति बनाइन्छ ।
हरेक वर्ष दुर्गा पूजाका लागि चाहिने देवी देवताका मूर्ति बनाउनका लागि नेपालकै तराई तथा भारतबाट मूर्ति बनाउने पेशामा रहेका कालिगढहरु काठमाडौँ उपत्यका आइपुग्छन् । देशका अरु शहर जस्तै काठमाडौँका विभिन्न ठाउँमा अहिले दुर्गा पूजाका लागि चाहिने माटोका मूर्तिहरुको निर्णणमा विभिन्न समूह जुटेका छन् ।
ललितपुरको कुपण्डोलमा पनि मूर्ति बनाउने समूह विभिन्न देवी देवताका मूर्ति बनाउन व्यस्त छन् । विशेष गरी नवदुर्गाका लागि चाहिने देवीका मूर्तिहरु बनाइरहेका छन् ।
कालिगढले दुर्गा, सरस्वति, लक्ष्मी, कार्तिक, गणेशसहितका देवी देवता तथा महिसासुर, शुम्भ निशुम्भसहितका दैत्यहरुको पनि मूर्ति बनाइएको छ । कुपण्डोलमा रहेका कालिगढले सात देवी देवताका ६५ सेट मूर्ति बनाएका छन् ।