
विराटनगर – मौसम परिवर्तनसँगै मोरङ जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रमा बिरामीको चापमा उल्लेख्य बृद्धि भएको छ। विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा बिरामीको चापमा बृद्धि भएको मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलले जानकारी दिएका छन्।
बदलिँदो मौषमसँगै अस्पतालमा उपचारका लागि बिरामीको चाप बढ्दै गएको बताएका मेसु पोखरेलले भने, ‘भाइरल फिबर, दम रुघाखोकी, निमोनिया लगायतका बिरामीको चाप बढिरहेको छ।’
बिरामीको संख्यामा बृद्धि भएसँगै महानगरमा अवस्थित केही स्वास्थ्य संस्थाले अस्थायी शैय्या थप गर्दै उपचार सेवाअघि बढाएका छन्।
सुरक्षा अस्पतालमा कार्यरतमा वरिष्ठ बालरोग विशेषज्ञ डा. बिमल अग्रवालले हाल दुवै प्रकारको मौसम भएकाले बालबालिकामा निमोनिया, छालाको एलर्जी, रुघाखोकी लगायतको समस्या देखिएको बताए।
मौसम अहिले धेरै गर्मी पनि छैन र चिसो पनि जसका कारण बालबालिका बढी प्रभावित हुने अग्रवालले बताएका छन्। उनी भन्छन्, ‘केही समयअघिको अत्यधिक गर्मी क्रमशः कम हुँदै गएको र चिसो मौसम सुरु हुने क्रममा रहेको हुनाले यस्तो मौसममा बालबालिकालाई बढी हेरचाह गर्नुपर्छ। यसै कारण धेरै बालबालिका बिरामी हुने गरेका छन्।’

मोरङको विराटनगरस्थित एक अस्पतालमा बिरामीको भीड। तस्बिरः अभयकुमार राई/देश सञ्चार
कोशीका मेसु डा. पोखरेल पनि डा. अग्रवालको भनाईमा सहमत राख्छन्। उनी भन्छन्, ‘अञ्चल अस्पताल भएकाले पहाडी क्षेत्र तथा स–साना उपचार केन्द्रबाट थप उपचारका लागि अस्पताल आउनेको संख्यामा दिनानुदिन बृद्धि हुँदै गएको छ।’
तथापि, स्रोत र साधनको प्रयोग गर्दै चिकित्सकहरु उपचारमा खटिएको पोखरेलको दाबी छ। उनका अनुसार कोशी अञ्चल अस्पतालमा उपचार र स्वास्थ्य परीक्षणका लागि यसअघि एक हजारको हाराहारीमा बिरामी आउने गरेका थिए।
हाल दैनिक आउने बिरामीको संख्या बढेर एक हजार पाँच सयभन्दा बढी पुगेका छन्। जसमा अधिकांश बालबालिका र बृद्ध रहेका छन्।
त्यसैगरी, क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार सबै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण र उपचारका लागि आउनेको संख्या केही दिनयता बढेर गएको छ।
दैनिक सय जना बिरामी बहिरंग विभागमा आउने गरेका स्वास्थ्य संस्थामा पछिल्लो समयमा आएर १ सय ५० बढी बिरामी स्वास्थ्य परीक्षण र उपचारका लागि आउन थालेको निर्देशनालयले जनाएको छ।
हाल प्रदेश नम्बर–१ मा १ सय ३ वटा नर्सिङ होम तथा अस्पतालसँगै निजी स्वास्थ्य संस्था र उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र अञ्चल अस्पताल गरेर ९ सय २६ सरकारी स्वास्थ्य संस्था बिरामीको उपचार सेवामा सक्रिय छन्।